Comments Add Comment

ज्यान जोगाउन नेताको छहारी खोज्दै डनहरु

१२ भदौ, काठमाडौं । प्रहरी आक्रामक भएपछि अधिकांश गुन्डाका नाइके दलको छहारीमा छन् । केही डन मारिएपछि ठूला नेताको संरक्षणमा रहेका डनहरूले असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरी कारबाहीबाट जोगिन पछिल्लो समय सबैजसो गुन्डाका नाइके र तिनका सहयोगी विभिन्न पार्टीभित्र छिरेका थिए ।

ठूला नेताकै संरक्षणमा गुन्डागर्दी गर्दै आएका दिनेश अधिकारी चरी र कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दीका नाइकेहरू तर्सिएका हुन् । गुन्डागर्दीमा संलग्न केही विदेशसमेत भाग्न थालेका छन् । कांग्रेसका नेताहरूसँग निकट रहेका घैँटे ३ भदौमा मारिएका थिए । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसी, नेताहरू भीमसेनदास प्रधान, धनराज गुरुङलगायतसँग उनको राम्रो सम्बन्ध थियो । आफूलाई प्रहरीले पछ्याएको सूचना पाएपछि घैँटेले राष्ट्रिय मानवअधिकार आयोगमा आफ्नो सुरक्षाका लागि भन्दै उजुरी हालेका थिए ।

ज्यान जोगाउन नेताको छहारी खोज्दै डनहरु

पहिला राप्रपामा आबद्ध गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य छन् । ठूलो पार्टीले राम्रो पद नदिएपछि उनी लोकतान्त्रिक फोरमको नेता भएका हुन् । लामाले आफ्ना सहयोगीलाई फोरम लोकतान्त्रिकमा प्रवेश गराएका छन् । गृहजिल्ला काभ्रेमा उनको कमिटी नै छ । उनी गच्छदारकै संरक्षणमा छन् । जेल परेर पनि नसुध्रिएका भन्दै प्रहरीले निगरानीमा राखेका चक्रे मिलन (मिलन गुरुङ)को एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । एमाले नेता प्रदीप नेपालसँग उनको पारिवारिक सम्बन्धसमेत रहेको नयाँ पत्रिकामा खबर छ  ।

नेपालकी श्रीमतीसँग चक्रेले भाइटीका लगाउँदै आएका छन् । ललितपुरका मीनकृष्ण महर्जन पनि राजनीतिक रूपमा बलिया छन् । उनको कांग्रेस नेता शंकर भण्डारीसँग निकट सम्बन्ध छ भने अर्का नेता रामचन्द्र पौडेलले पनि उनलाई संरक्षण गर्दै आएका छन् । ललितपुरमा महर्जनका विरोधी समीर केसीको सभासद् उदयशमशेर राणासँग राम्रो सम्बन्ध छ । सुन्धाराका पूर्ण गुरुङ र सामाखुसीका महेश श्रेष्ठ खुमबहादुर खड्काका निकट छन् । काभ्रेका सञ्जीव लामा, अजयमान श्रेष्ठलाई कांग्रेस नेताहरूले संरक्षण दिँदै आएका छन् ।

काठमाडौंका पुराना डन राजु गोर्खाली कांग्रेस पृष्ठभूमिका भए पनि उनको सम्बन्ध एमाले नेताहरूसँग समेत छ । नयाँबजार क्षेत्रका डन भनिने साजन महर्जनको एमाले नेताहरूसँगै राम्रो सम्बन्ध छ । उनी एमाले सचिव योगेश भट्टराई तथा अनेरास्ववियुका नेताहरूसँग निकट छन् । उनी तीन वर्षअघि मात्र एमाले प्रवेश गरेका थिए । हाल जेलमा रहेका भक्तपुरका ठूलो सगुन भनिने सगुन श्रेष्ठको कांग्रेस सभासद् मोहन बस्नेतसँग निकटता छ ।

पहिला गणेश लामाकै निकट रहेका मनोज आचार्य तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महेन्द्र यादवको निकट छन् । प्रहरीको गुन्डागर्दीको सूचीमा फिल्म निर्माता मधु श्रेष्ठसमेत छन् । उनको कांग्रेस नेता मीनेन्द्र रिजालसँग राम्रो सम्बन्ध छ । धादिङका राधे भण्डारीको समूहलाई पनि कांग्रेस नेताहरूको संरक्षण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment