Comments Add Comment

आमा ! म कसरी सैतान भएँ ?

केपी लम्साल

करिव १५ वर्ष अगाडी हुदो हो ।
पौषको महिना, दिउसोको समय,

सधै सँगै खेल्ने साथि भाई भेला भएर गाउ कै चौरमा भलिवल खेलिरहेका थियौ ।

त्यति वेला कुखुराको भाले वाजिमा भलिवल खेल्नु र जित्नुमा कम्ती मज्जा आउदैनथ्यो ।

केपी लम्साल
केपी लम्साल

त्यस दिन खेलका दौडान मवाट ससाना गल्ति भइ रहेका थिए अर्थात भनौ म राम्ररी खेल्न सकिरहेको थिइन । दुर्भाग्य मवाट भएका स सानागल्ति नै हाम्रो टिमले हार्नका लागि काफी वन्यो ।

हाम्रो टिमको क्याप्टेन थियो मसँगै पढ्ने साथि । भाले वाजि हारेकोमा उसको रिसको पारो नराम्ररी चढेछ । गालिको वर्षा सुरु भै हाल्योस :

सा… तेरो कारणले आज हारियो । आखिर सैतान न परिस । तिमेरुका लागि परमेश्वरको घरमा वास छैन अरे वुझिस, किनकी तिमेरु सैतान होउ सैतान…………………..

खेल हारे पछि रिसाउने उसको पुरानै वानि हो । तर त्यस दिनको गालिले मलाई सारै छोयो । उसले भनेको सैतानको अर्थ मैले खुटाउन सकिन र अहिलेसम्म पनि सकेको छैन ।

घर पुग्ने वित्तिकै आमालाई सोधे “ममि म कसरी सैतान भए?”

सायद मेरो अचम्मको प्रश्नले गर्दा होला ममि पनि अक्क न वक्क वन्नु भो । घटनाको वेलि विस्तार लगाएपछि उहाको वाक्य फुट्यो “वावु उनिहरु अहिले विश्वासि (इसाइ) भएका छन, त्यसैले हामीलाई सन्सारी सैतान हुन भन्छन, त्यसलाई सामान्य रुपमा लिनु, नराम्रो नमान्नु, झगडा नगर्नु… । ममिको जवाफले मन झनै पिरोल्यो, अहिले पनि सम्झिँदा मन पोलिरहन्छ ।

त्यस वखत हाम्रो गाउमा इसाइकरणको लहर नै चलेको थियो । मैले त्यति वेला सम्म धर्मका वारेमा स्पष्ट धारणा वनाइसकेको थिए कि इश्वर सवै वरावर हुन, सवैले आफुले चाहेको धर्म मान्न पाउछन, सवै धर्मको इज्जत गर्नु पर्दछ आदि ।

त्यसैले होला हरेक आइतवार घर नजिकैको मण्डलि (चर्च) मा हुने प्रार्थनामा भ्याउदा सम्म जान्थे र नजिकै वसेर सुन्थे वाइवलका कथाहरु, हरेक विहिवार घर घरमा हुने भजनमा पनि उत्तिकै जान मन लाग्थ्यो । म मेरो साथि कहा हुने इसाइका हरेक अवसरमा सहभागि हुन रुचाउथे तर उ कहिल्यै मेरो घरमा हुने पुजाआजामा आएन, म उसकोमा गाइने भजनहरु सधै सुन्थे, गाउथे रमाउथे तर उसले कहिल्यै मेरोमा गाइने भजन कृतन सुनेर रमाएन, मण्डलीको नजिक पुग्दा सायदै शिर नहुराएर सम्मान गरिन होला तर उसले मन्दिर र हाम्रो देवालिथानको वाटो हिड्दा सायदै घृणा गर्दै थुकेन होला, म सधै उसको धर्मको सम्मान गर्थे तर उसले हाम्रो धर्मको घृणा मात्र गरिरह्यो, मलाई सधै सैतान भनिरह्यो ।

धर्म विषयमा सानैदेखि परेको छाप सवै धर्म समान हुन, इश्वर फरक भएपनि वाटो एउटै हो, सवैको धर्म सस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने नै हो । जुन अहिलेसम्म मेटिएको छैन् र मेटिने पनि छैन । मेटिएन त केवल आफ्नै साथिले लगाएको सैतानको पगरी ।

गत वर्षको क्रिसमसको दिन ।
एकाविहानै जिससलाई पुकारे, प्रभु म हिन्दु हु तर पनि परमेश्वरप्रति मेरो आदर छ ।

त्यस दिन पनि फेरी त्यहि पुरानो सैतान कै कुराले चिमट्यो । केहि लेख्न मन लाग्यो र फेसवुकको स्टाटसमा काव्यको शैलिमा लेखे,

यसपालि पनि मन्दिरको नजिक चर्च वनाउन सकेन
सवै जना हिड्न सक्ने वाटो कसैले खनाउन सकेन

म सधै उप्रति सम्मान जनाउन क्रिसमस मनाइरहेछु
तर उ मलाई सैतान भन्छ, कहिल्यै दशै मनाउन सकेन

एकै छिनमा उहि पुरानै साथिले इनवक्समा म्यासेज पठायो, त कहिल्यै प्रभुको वाटोमा नआउने भइस, आखिर सैतान न परिस ।

यति वेला मुलुकलाई संवैधानिक रुपमा धर्म निरपेक्षता वनाउने या हिन्दु धर्म वनाउने भन्ने वहस राम्रै उचाइमा छ । एक पक्षले हिन्दु धर्म घोषणाको माग गर्दै नांगा जोगि नचाइरहेका छन भने अर्कोतिर धर्म निरपेक्षताका लागि राम्रै डलर पाउण्डस्टर्लिंग खनिरहेका समाचार/टिप्पणि वाक्लो सुन्न पाइन्छ । तर मेरो वुझाइमा यी दुवै अराजक प्रवृत्ति हुन ।

हिन्दु धर्मको माग गर्नेको नेतृत्व गर्नेहरु हिजो भ्रष्टचारमा राम्ररी डुवेका र आज त्यहि पाप पखाल्न राजनिति गरेकाहरु भएकोले, हिजो राजाको लगौटिमा झुण्डिएकाहरु आज धर्मका नाममा राजनिति गर्दा असि प्रतिशत बढी जनताको सेन्टिमेन्ट जित्न सकिन्छ किभन्नेहरु भएकाले पनि होला हिन्दु राज्यको माग गर्नेहरुको शैलि अराजग नै देखिन्छ । अर्कोतिर गरिवि र अशिक्षाको फाइदा उठाउदै डलर खन्याएर लोभ लालचमा धर्म परिवर्तन गराउनेहरु, आफु वाहेक अरुलाई सैतान देख्नेहरु त झन पैसामा अस्तित्व वेच्नेहरु नै हुन । यहा नेर यसो भनिरहदा आफ्नो अन्तरआत्मा देखि धर्म मन नै परेर कुनै प्रलोभन विना इसाइ भएकाहरु प्रति मेरो सदा आदर छ र रहिरहन्छ ।

जति सुकै नास्तिक हु भने पनि सवैलाई आफ्नो धर्म र संस्कृति प्यारो नै लाग्छ । धर्म अन्तर आत्मासँग जोडिएको विषय हो, जीवन जिउने शैलि पनि । त्यसैले त अहिले धर्मका नाममा राजनिति गरेर मन जित्न खोज्नेहरु सल्वलाइरहेका छन ।

मानिस जुन संस्कारमा हुकिन्छ उसलाई त्यहि प्यारो लाग्छ । अर्थात भनौ त्यहि उसको धर्म हो । त्यसैलाई उसले आफु जतिकै प्यारो सम्झिन्छ । कसैले समयकालसँगै फरक संस्कृति अंगाल्छ भने त्यो उसको व्यत्तिगत विषय हो र त्यसलाई व्यक्ति मै सिमित राख्नु पर्दछ न कि जवरजस्ति अरुलाई लाद्न तिर ।

म हिन्दु व्राह्मणको कोखमा जन्मिकाले हिन्दु संस्कारमा रमाउछु, जनै लगाउछु गायत्रि मन्त्र पाठ गर्छु । राइहरुसँग हुर्किएको हुनाले राईहरुको संस्कार पनि उत्तिकै प्यारो लाग्छ, अझै पनि यदि कोहि थुलुंग राईसँग भेट भयो भने राई भाषामै कुरा गर्न रुचाउछु । धरानमा केहि समय लिम्वुहरुसँगको संगत गरेकोले होला लिम्वु संस्कारमा पनि उत्तिकै अपनत्व महशुस गर्छु, वेला वेला वाइवलका परिच्छेद र पुकारहरु सुन्दै हुर्किन पाएकोले होला सच्चा इसाइहरु प्रति सधै आदर भाव नै रहन्छ अर्थात सवै धर्म र संस्कृति प्रति उत्तिकै सत्कार छ मेरो । घृणा त तिनीहरुलाई गर्न मन लाग्छ जो आफु वाहेक अरुलाई सैतान देख्छ, आफ्नो वाहेक अरुको धर्मलाई धर्म मान्दैन, धर्मको नाममा अतिवाद लाद्न खोज्छ, धर्मलाई टेकेर राजनिति गर्न खोज्छ । यदि नेपालमा इसाइकरणका लागि संगठित रुपमाप्रचार र जर्वजस्ति धर्म परिवर्तन नमौलाएको थियो भने यति वेला हिन्दुहरु पनि यसरी हिन्दु राज्यको माग गर्दैनन थिएहोला ।

विश्वव्यापि रुप मै यति वेला धर्मको वहस र धर्मका नाममा हुने दन्द्धहरु चर्चाको शिखर मै छन । अफ्रिकी मुलुकमा भैरहेको धार्मिक दंगा, भारतको गुजरातमा भएको हिन्दु मुस्लिम दन्द्ध, नाइजेरियामा भइरहेको इसाइ मुस्लिम दन्द्ध, अमेरीका लगायतका मुलुकमा भैरहने धार्मिक अतिवाद पछिल्ला उदाहरण हुन । यी उदाहरणको पंतिमा नेपालको नाम लेखाउन उद्धतहरुसँग वेलैमा सचेत भइ सवैले आआफ्नो वुद्धिमत्ता पुर्वक काम गर्नु अहिलेको आवश्यकता हो ।

धर्म निरपेक्षता वा हिन्दु राष्ट्रको वहसको पाटो एकातिर छ तर संविधानमा जे सुकै लेखिए पनि विश्वमा कुनै पनि कुरा निरपेक्ष भने छैनन । चाहे त्यो विचार होस चाहे वस्तु । संसारका हरेक विचार या वस्तु परस्परालम्बि तर अलग अलग पहिचानधारी छन जुन प्रकृतिको नियम नै हो । अतः नेपालमा धर्मका नाममा भैरहेको दन्द्धको उचित व्यवस्थापन धर्म निरपेक्षताको ठाउमा धार्मिक स्वतन्त्रता हुनसक्छ । यति वेला वहुसंख्यक नेपालीको चिन्ता सवै धर्म संस्कृति जातजातिका मानिसले यस मुलुकमा सम्मानका साथ वाच्न पाउनु पर्छ, सवैले आफुले चाहेको धर्म मान्न पाउनु पर्छ तर गरिवि वा अशिक्षाको फाइदा उठाएर प्रलोभनमा पारी वा जर्वजस्ति कसैले धर्म परिवर्तन गराउछ भने त्यो कडा दण्डनिय हुनु पर्दछ भन्ने नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment