Comments Add Comment

पहिचान माग्दै सडकमा ओर्लिए बैरागी काइला

१२ भदौ, काठमाडौं । पहिचानसहितको संघीयता माग गर्दै साहित्यकार बैरागी काइला सडकमा उत्रिएका छन् ।
२०६२/६३ को जनआन्दोलनमा अग्रपंतीमा रहेका बैरागी काइला पछिल्लो समय शायदै पहिलो पटक सडक आन्दोलनमा देखिएका हुन् । लिम्बुवान प्रदेश माग गर्दै लिम्बुवान संघर्ष समितिलेे शुक्रबार नयाँबारेश्वर क्षेत्रमा गरेको प्रदर्शनमा काइला सहभागी भएका हुन् ।

Bairagi-Kailo-Limbuwan
‘सबैको पहिचान सुनिश्चित हुनुपर्छ भन्ने लडाईमा मैले पनि सहभागिता जनाएको हुँ’ सडकमा आउनुको कारण खुलाउँदै साहित्यकार बैरागी काइलाले भने । तर, उनी अतिवाद र साम्प्रदायिक रुपमा जानु हुन्न भन्ने सन्देश पनि दिइरहेका छन् ।

साहित्यकार बैरागी काइलाको विश्लेषण छ कि अहिले एउटा भाषा, संस्कृति, धर्मलाई स्थापित गर्‍यो भने राष्ट्रियता बलियो हुन्छ भन्ने भावना निकै बलियो भएको छ । भन्छन्,-‘आधुनिक नेपाल स्थापना हुँदाको बेला यो ठिकै थियो । तर, अहिले प्रश्न उठेको छ ।’

क्षेत्रीय विभेद भयो भनेर भौगोलिक रुपमा प्रदेश माग गर्ने मधेसवादीसँग सरकार झुक्यो तर, पहिचान माग्नेहरुलाई एक प्रकारले दुश्मनीको व्यवहार भएको उनको गुनासो छ । उनी भन्छन्,-‘सबैको पहिचान सुनिश्चित हुनुपर्छ । भौगोलिक, क्षेत्रीय, ऐतिहासिक सांस्कृतिक पहिचानका आधारमा प्रदेश बनाइएन भने मुलुकमा द्वन्द्व रहिरहन्छ ।’

पहिचानका कुरा गर्दा जातिवादी भयो भन्लान् नि भन्ने प्रश्नमा बैरागी काइला भन्छन्, किन डराउनु । मैले लिम्बु भन्ने पहिचान मेटाएर नेपाली मात्र भन्नु पर्ने हो भने सबैले एउटै पहिचान नेपाली बनाउनुपर्छ । अधिकारी, उपाध्यय, सिटौला सबै हटाएर एउटै मुखुण्डो लगाउनुपर्छ । तर, त्यो यथार्थ नभएर कृतिम हुन्छ । साझा पहिचान स्थायी हुन्छ ।’

Limbuwanतामाङ, लिम्बु, भोटे भन्दा देश विखण्डन हुन्छ भन्नेहरुले म बाहुन होइन भनेर पनि सोच्नुपर्ने उनको सुझाव छ ।
संघीयतामा जाँदा पहिचान र समथ्र्यलाई आधार बनाउने भनिएको छ । पहिचान भनेको भाषा, जाति, संस्कृति र ऐतिहासिक पृष्ठभूमि हो । साहित्यकार काइँला भन्छन्, बाहुनलाई मन परोस् नपरोस्, अब प्रदेश भन्दा अरुण पूर्व र मेची पश्चिम लिम्बुवान बन्नुपर्छ । लिम्बुवान भनेको भूखण्ड हो । लिम्बु राज्य भनेको छैनौं ।’

आफूहरुले सबै जात जाति, भाषाभाषी भएको लिम्बुवान प्रदेश चाहेको तर, सञ्चार माध्यमले गोयवल शैलीमा साम्प्रदायिक कुरा गरे भनेर खेद्ने काम गरेको उनको गुनासो छ ।

टीकापुर घटनामा कोही खुसी नहुनु

साहित्यकार बैरागी काइला जातिवाद र साम्प्रदायीतातर्फ कोही जान नहुने धारणा राख्छन्, उनले भने,-‘टीकापुर घटनापछि कतिले ठिक भयो भनेर खुसी मनाए होलान् । कफ्र्यू लागेपछि थारुहरुको घर जलाउँदा एक थरी खुसी भए होलान् । यो जातिवाद हो, कसैले खुसी नहुनु ।’

उनकै शब्दमा भन्दा कविता राम्रो लेख्न नसकेपछि उनले लिम्बु जातिको संस्कृतिबारे अध्ययन गर्न लाग्दा मेरो एक जना बाहुन साथीले किन संकुचिन भएको भने प्रश्न गरेको उनले सुनाए । ‘म जान्नेले गर्दा संकुचित भएँ रे । तिमी गर न भन्दा जान्दिन भन्यो । सरकारले मातृ भाषामा शिक्षा समेत दिँदैन’ उनले भने-नष्ट भएर जान दिनु ?’

उनले अघि भने, नेपाली मेरो सम्पर्क भाषा हो । कविताको मातृ भाषा हो । तर, जातिगत रुपमा मेरो मातृ भाषा लिम्बु हो ।’

भौगोलिक विविधतामा खुसी हुने तर, जातीय, भाषिक, सांस्कृति विविधिता भने स्वीकार नगर्ने प्रवृत्ति रहेको उनले सुनाए । उनले भने, विविधता शक्तिको स्रोत हो, सदुपयोग गर्न सके मुुलुक एक बनाएर विकास र सम्बृद्धितर्फ लैजान सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment