Comments Add Comment

२५ वर्षमा मानिसको आयु ६ वर्षले बढ्यो, नेपालको अवस्था के छ ?

walkingपछिल्लो २५ वर्षमा विश्वका मानिसहरुको औषत आयुमा ६ वर्षभन्दा बढिले वृद्धि भएको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सन् १९९० मा जन्मेका भन्दा सन् २०१३ मा जन्मेका मानिसहरु औषतमा ६.२ वर्ष बढि बाँच्नेछन् ।

रिपोर्ट अनुसार विश्वका सबैभन्दा गरीब देशहरुमा समेत जनताहरुको औषत आयुमा वृद्धि भैरहेको छ । मानिस रोगले थलिएर बाँच्ने मात्र होइन की स्वस्थ भएरै बाँच्ने उमेरमा पनि वृद्धि भएको अध्ययनले देखाएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ वासिंटनका शोधकर्ताहरुका अनुसार यद्यपि स्वस्थ औषत आयु भन्दा समग्र औषत आयुमा तिव्र रुपमा वृद्धि भैरहेको छ ।

यसको अर्थ मानिसहरु बढि बाँचेसँगै उनीहरुले रोगले थलिएर तथा असक्त भएर बिताउने अवधिमा पनि वृद्धि भएको छ ।

१ सय ८८ देशमा गरिएको अध्ययन अनुसार मुटुरोग, स्वासप्रस्वास सम्बन्धी संक्रमण, मस्तिष्कघात जस्ता स्वास्थ्य समस्याहरु विश्वमा मानवीय स्वास्थ्यमा क्षति पूराउने सबैभन्दा प्रमुख कारक तत्वको रुपमा रहेका छन् ।

रिपोर्ट अनुसार औषत आयु तथा स्वस्थ औषध आयुमा जापान पहिलो नम्बरमा रहेको छ । टप टेनका अन्य देशहरुमा सिंगापुर, एन्डोरा, आइसल्याण्ड, साइप्रस, इजरायल, फ्रान्स, इटाली, दक्षिण कोरिया र क्यानडा क्रमशः रहेका छन् ।

विश्वमा सबैभन्दा कम स्वस्थ औषत आयु भएको देश भने लेसोथो रहेको छ । सबैभन्दा कम औषत आयु भएका पुछारका अन्य देशमा स्वाजिल्याण्ड, मध्य अफ्रिकी गणतन्त्र, गिनी बिसाउ, जिम्बाबे, मोजाम्बिक, अफगानिस्तान, चाड, सुडान र जाम्बिया रहेका छन् ।

Morning-Walk

पछिल्लो दशकमा खासगरी एड्स र मलेरियाबाट हुने मृत्युमा कमी आएको र विश्वको चिकित्सा विज्ञानमा प्रगति हुनुका साथै स्वास्थ्य सेवामा सुधार भएका कारण मानिसहरुको औषत आयुमा वृद्धि भएको ठहर गरिएको छ ।

शोधकर्ताहरुका अनुसार सन् १९९० मा विश्वका मानिसको औषत आयु ६५.३ वर्ष रहेकोमा सन् २०१३ मा ७१.५ वर्ष पुगेको छ ।

त्यस्तै जिउ स्वस्थ रहने उमेर पनि बढेको छ । सन् १९९० मा विश्वका मानिसहरु औषतमा ५६.९ वर्षसम्म स्वस्थ रहने गरेकोमा अहिले ६२.३ वर्ष पुगेको छ ।

यद्यपि दक्षिण अफ्रिका, पाराग्वे, बेलारुस, लेसोथो, स्वाजिल्याण्ड लगायतका देशमा भने सन् १९९० को तुलनामा सन् २०१३ मा स्वस्थ औषत आयु खस्किएको छ ।

उता निकारागुवा तथा क्याम्बोडिया लगायतका देशले भने पछिल्लो २५ वर्षमा स्वस्थ औषत आयुमा १३-१४ वर्षको वृद्धि हासिल गरेका छन् ।

विश्वमा स्वस्थ औषत आयु सबैभन्दा बढि जापानीहरुको ७३.४ वर्ष रहेको छ भने सबैभन्दा कम लेसोथोका जनताको ४२ वर्ष रहेको छ ।

नेपालको अवस्था के छ ?

nepal

रिपोर्ट अनुसार सन् १९९० को तुलनामा सन् २०१३ मा नेपालमा महिला र पुरुष दुबैको कुल औषत आयु र स्वस्थ औषत आयुमा उल्लेखनीय वृद्धि भएको छ ।

सन् १९९० मा नेपालमा पुरुषको औषत आयु ५८ वर्ष र स्वस्थ औषत आयु ५० वर्ष थियो । त्यस्तै महिलाको औषत आयु ५८.९३ वर्ष र स्वस्थ औषत आयु ५१.१५ वर्ष थियो ।

सन् २०१३ मा भने पुरुषको औषत आयु ६९.१ वर्ष तथा स्वस्थ औषत आयु ६०.३६ वर्ष पुगेको छ । त्यस्तै महिलाको औषत आयु ७२.१४ वर्ष र स्वस्थ औषत आयु ६२.५३ वर्ष रहेको रिपोर्टले देखाएको छ ।

यो सम्बन्धि विस्तृत रिपोर्ट लेसेन्ट जर्नलमा छापिएको छ । पूरै रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment