Comments Add Comment

खाडी क्षेत्रको ठेकेदार बनेर नेतृत्व दावी गर्ने अधिकार कसैलाई छैन् : भाट

दोहा । कतारमा ब्यबसाय गरिरहेका नरेन्द्र भाट यो कतार मात्र हैन खाडी क्षेत्रकै नेपालीवीच लोकपि्रय नाम हो । गैरआवासीय नेपाली संघको स्थापनादेखि नै यसमा क्रियाशिल रहेको भाट अहिले एनआरएनका केन्द्रीय सल्लाहकार छन् ।

एनआरएन कतारको महासचिव, अध्यक्ष, एनआरएन गल्फ संयोजक हुँदै उनी सन् २०१३ यता एनआरएन आईसीसी सल्लाहकार छन् । खाडी क्षेत्रमा गैरआवासीय नेपाली संघको विस्तारमा उनको ठूलो योगदान छ ।

पछिल्लो कार्यकालमा गैरआवासीय नेपाली संघको विश्वसनियता बढ्दै गएको महसुस गरेका नरेन्द्र विश्वास जगाउने मूल कडी नै नेतृत्व भएको मान्छन् ।

त्यसो भए उनी आगामी बिश्व सम्मेलनमा कुन पदमा रहेर नेतृत्व गर्न चाहान्छन् त ? केही उम्मेदवारले यसपटक खाडीको पालो हो भन्दै आफ्नो दावेदारी प्रस्तुत गरिरहेका बेला अनलाइनखबरसँगको कुराकानीमा उनले एनआरएको कार्यशैली, खाडी क्षेत्रका समस्या र नेतृत्वका बारेमा खुलेर कुरा गरे ।

narendra-bhatप्रस्तुत छ- भाटले ब्यक्त गरेका बिचार उनकै शब्दमा-
गएको दुई बर्षमा गैरआवासीय नेपाली संघले उल्लेख्य प्रगति हाँसिल गरेको छ । संस्था दर्ता, भवन निर्माणका लागि रकम संकलन, जग्गा खरिद, बैदेशिक रोजगारीमा अलपत्र पर्ने नेपालीका लागि कल्याणकारी कोष, परोपकारी काममा अग्रता लगायत धेरै काम भएका छन् ।

महाभूकम्पका बेला गैरआवासीय नेपाली संघको नेतृत्वले जसरी आफुलाई सावित गर्‍यो, त्यो तारिफयोग्य छ । अब पुनःनिर्माणको चुनौतीसँगै धेरै अबसर पनि छन् । अहिलेको नेतृत्वले थालेका धेरै काम पुरा हुन पाएका छैनन् । ती काम पुरा गर्ने क्षमता भएको नेतृत्व आउनुपर्छ । अध्यक्ष घलेले मान्नुभयो भने उहाँलाई निरन्तरता दिन कोसिस गर्नुपर्छ । मान्नुभएन भने अर्को सवल नेतृत्वको खोजी गर्नुपर्छ ।

तर, पछिल्लो समयमा यस्ता मानिसहरुले पनि नेतृत्वमा दावी गर्न थालेका छन् कि उहाँहरुका क्रियाकलाप र बोलीको कतै तालमेल मिल्दैन् । संस्थाको हित विपतरितका कार्य गर्ने तर, यसपटक खाडीको पालो हो भन्दै नेतृत्व दावी गर्ने प्रबृत्ति घातक हो ।

म पनि सुरुवाती दिनदेखि नै खाडी क्षेत्रमा गैरआवासीय नेपाली संघको विस्तार र यो क्षेत्रका समस्या समाधानका लागि खटिरहेको छु । यदि दुनियाँलाई भ्रम छर्ने हिसावले कसैले ठेकेदारी शैलीमा खाडीको सवै जिम्मा म नै लिन्छु भन्छ भने त्यसको जवाफ दिन म तयार छु । त्यस्तो अबस्थामा म अध्यक्षको प्रत्यासी बनेर त्यस्तो ठेकेदारी प्रथाविरुद्ध लड्ने छु ।

हैन, हामीलाई सक्षम नेतृत्व चाहिएको हो, नेपाल सरकार र अन्य संघसंस्थासँग समन्वय गर्नसक्ने अग्लो कदको नेतृत्व चाहिएको हो भने हामीले ठेकेदारी प्रथालाई प्रोत्साहित गर्नु हुँदैन् । खाडी क्षेत्रले यस्तो नेतृत्व चाहिरहेको छ जसले ठाडो सिर गरेर नेपाल सरकारसँग, यहाँका सरकारी नियकासँग कुरा गरेर समस्या समाधानका लागि कोसिस गर्न सकोस्, परिआएका बखत आफ्नो खल्ती खाली गरेर भए पनि अलपत्र र दुःखी नेपाली श्रमिकको हितमा काम गर्न सकोस् ।

म फलानो पार्टीको सदस्य हुँ, मलाई नेपालको यस्तो पार्टीको समर्थन छ ,त्यसैले म अध्यक्ष हुनुपर्छ भन्नु झनै गलत हो । कुनै अमुक पार्टी वा शक्तिको नाम बेचेर गैरआवासीय नेपाली संघको नेतृत्वमा आउने कोसिसका बिरुद्ध उभिन म तयार छु ।

मैले २००४ देखि नै गैरआवासीय नेपाली संघलाई खाडी क्षेत्रका नेपालीमाझ स्थापित गराउन मेरो समय र शक्ति खर्च गरेको छु । यहाँका समस्याबारे गैरआवासीय नेपाली संघको केन्द्रीय नेतृत्व र नेपाल सरकारलाई बुझाउने काममा हामीले धेरै समय लगाएका छौं । अब गैरआवासीय नेपाली सँंघले साधन स्रोत, विश्वसनियता र आफ्नो छविमा छलाङ मारेपछि यसको नेतृत्वमा आएर आफ्नो राजनीतिक, ब्यबसायिक वा अन्य स्वार्थ पुरा गर्न खोज्ने प्रबृत्ति बढ्न थालेको छ ।

त्यसैले खाडी क्षेत्रमा रहनुभएका सवै साथीहरुलाई म के भन्छु भने एनआरएन कता गइरहेको छ ? त्यसको गति र दिशा ठिक छ कि छैन, ख्याल गर्नुहोस्, अब कहाँ जानुपर्ने त्यो बुझ्नुहोस् र त्यहीअनुसारको नेतृत्व चयन गर्न आफुलाई तयार राख्नुहोस् । एउटा आशाको दियोका रुपमा उदाएको एनआरएन तपाईहरुको सानो गल्तीका कारण दुर्घटनामा पर्न सक्छ ।

खाडी क्षेत्रमा रहनुभएका साथीहरुले हेर्नुपर्ने कुरा के हो भने तपाइले बिदेशमा जे सिप सिकेर र्फकनुभएको छ, त्यसलाई नेपालमा उपयोग गर्ने वातावरण बनाइदिन सक्ने नेतृत्व कुन हो ? नेपालमा बिदेशी सीप र पूँजी ल्याउन पहल गरेर तपाईलाई स्वदेशमै स्वरोजगार बनाउने बाटो देखाइदिने नेतृत्व कुन हो ? तपाईलाई बिदेशमा पसिना बेच्ने श्रमिक हैन कि सम्बृद्धिको सम्बाहक भनेर चिनाउन र तपाईको पहिचान बदल्न सहयोग गर्ने नेतृत्व कुन हो ?

नेतृत्व गर्नु कुनै पालोको कुरा हैन, अब मेरो पालो भन्नेहरुलाई यसपटक गतिलो जवाफ दिनुपर्छ । नेतृत्व भागबण्डा गरेर वा पालो कुरेर पाउने कुरा हैन, यसका लागि क्षमता चाहिन्छ । तपाईलाई जो क्षमतावान र भिजिनरी लाग्छ, उसैलाई नेतृत्व दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment