Comments Add Comment

 विमानस्थल भन्सारका ३० कर्मचारी गयल, स्पष्टीकरण सोधिने

१२ भदौ, काठमाडौं । चाडबाडको बहानामा आफ्नो जिम्मेवारी पूरा नगरेको र कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ३० कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

TIA Airport (6)विभागका प्रवक्ता सूर्य सेढाईंका अनुसार शनिबार बिहान विमानस्थलमा उपसचिवको नेतृत्वमा ३४ कर्मचारी उपस्थित हुनुपर्नेमा चार कर्मचारी मात्रै उपस्थित भएका थिए । रक्षाबन्धनको बहनामा सरकारले तोकेको जिम्मेवारी पूरा नगरेको र सेवा प्रवाहमा लापरबाही गरेको भन्दै स्पष्टीकरण सोधिएको सेढाईंले जानकारी दिए ।

विमानस्थलमा रहेको भन्सार कार्यालयका कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको र सेवा प्रवाहमा लापरबाही गरेको भन्ने चौतर्फी गुनासो आइरहेको बेला विभागका महानिर्देशकसहितको टोलीले बिहान अनुगमन गर्दा तल्ला तहका चारजना मात्रै कर्मचारी कार्यस्थलमा उपस्थित रहेको भेटियो ।

प्रवक्ता सेढाईंका अनुसार विमानस्थलमा बिहान दिउँसो र राति गरी तीन सिफ्टमा कर्मचारीको विभाजन गरी काम गराउने गरिएको छ । हरेक सिफ्टमा प्रमुख भन्सार अधिकृत (उपसचिव), भन्सार अधिकृत, नायब सुब्बा र खरदार गरी ३४ जना कार्यरत रहने गर्छन् ।

कर्मचारी नै अनुपस्थित भएपछि बिहान टर्किस एअरबाट आएका यात्रुको जाँच गर्न समस्या पैदा भएको थियो । सामान्यतया टर्किस एअरको जहाज बिहान साढे ६ बजे विमानस्थलमा अवतरण हुने गर्छ । कर्मचारी नै नभएपछि समस्या भएको गुनासो आमरुपमा आउने गरेको थियो ।

प्रवक्ता सेढार्इंले कार्यालय समयमा अनुपस्थित भएका ३० कर्मचारीलाई निजामती सेवा ऐन र निजामती सेवा नियमावली अनुसार कारबाहीका लागि स्पष्टीकरण सोधिएको जानकारी दिए । ‘चित्तबुझ्दो स्पष्टीकरण नआए कानुनबमोजिम अनुपस्थित कर्मचारीलाई विभागीय कारबाही हुन्छ । कार्यस्थलमा उपस्थित नहुने र सेवा प्रवाहमा अवरोध खडा गर्नेलाई छुट दिन सकिँदैन’ उनले भने ।

अनुगमनको क्रममा कार्यस्थलमा रहेका कर्मचारी पनि अधिकृत तहका कोही पनि नभएको, प्रमुख भन्सार अधिकृतलगायतका उच्च अधिकारीले कुनै जानकारी नगराएको पाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment