Comments Add Comment

ओहो कति महान ! जागिरसँगै समाजसेवा !

-गोमादेवी ढकाल पौडेल
गत साता कैलालीको टीकापुरमा भएको घटनाले मन साह्रै विक्षिप्त भयो । यो कस्तो न्याय हो ? जसले राष्ट्र र जनताका लागि सदा आफ्नो ज्यानको बाजी लगाए, जसले देशमा आइपर्ने हरेक विपत्तिमा जनताको जीउधनको सुरक्षाको खातिर रातदिन खटिरहे, उनैलाई घेराबन्दीमा पारेर निर्मम र कु्रर तरिकाले हत्या गरियो । त्यो पीडादायी दृश्यले साँच्चै नै मन भक्कानिएर आयो । ती बहादुर राष्ट्र्रसेवकहरुप्रति हार्दिक सलाम ! तिनको आत्माले चिर शान्ति पाओस् !

GomaDevi-Paudel-Dhakalत्यो घटनाले मन जति बिक्षिप्त बनेको थियो, त्योभन्दा बढी आश्यर्चचकित बनायो त्यसपछि आएका समाचारहरुले “थारु आन्दोलनमा सशस्त्र प्रहरीका डीआइजीको समर्थन र सहयोग ।”

मनभित्रै ज्वारभाटाहरु उठेे “होइन, हामी कति धेरै सेन्सेटिभ हुन थाल्यौं हाम्रो जातीयतामा ?” जातीयताका अगाडि आफ्नो राष्ट्रसेवा तथा पेशाप्रतिको धर्म र कर्तव्य भुसुक्कै बिर्सन पुग्यौं । सदियौंदेखि मिलेर बसेका साथीभाइवीच जातीयताका नाममा मनमुटाव बढाई एकआपसमा काटाकाट गर्ने जस्ता कार्यलाई भित्री रुपमा समर्थन गर्‍यौं ।

यो समाचारको पुष्टि हुन बाँकी नै छ । आशा गरौं, सत्यतथ्य बाहिर आउनेछ । तर, त्यसपछिको अर्को समाचारले आश्चर्यचकित मात्रै होइन, आक्रोसित समेत बनायो-“सरकारी अड्डामा घरविदा लिएर आन्दोलनको कमाण्डर” ।

एक निजामती कर्मचारीले आन्दोलनको नेतृत्व ? त्यो पनि जातीयताको ? योभन्दा अर्को ठूलो आश्चर्य अनि लाजमर्दो कुरा अरु के हुन सक्छ ? समाचार पुष्टि हुने सबै प्रमाणहरु छन् । घरविदा जनाइएको हाजिरी कापी अनि उनी आफैंले आफु एक सरकारी कर्मचारी भएको र हाल विदा मिलाएर आन्दोलन गरिरहेको स्वीकारोक्ति ।

डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर धनीराम चौधरीलाई भ्याइनभ्याइ छ यतिबेला । एकातर्फ सरकारी कार्यालयको जागिर अनि अर्कोतर्फ जातीयताको आन्दोलनको नेतृत्व ।

थरुहट प्रदेशको माग गर्दै विगत केही दिनदेखि तराईका केही जिल्लाहरुमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेको छ, थारु कल्याणकारी सभाले अनि त्यसका अध्यक्ष हुन् धनिराम चौधरी । थारु सभासदहरुको मोर्चासहित संयुक्त आन्दोलन परिचालन समितिका संयोजकसमेत उनै धनीराम चौधरी हुन् ।

सरकारी कार्यालयमा छुटी लिएर जातीयताको आन्दोलनको नेतृत्व गरिरहेका उनले यसो गर्नु समाजसेवा भएको बताएछन् । देशमा विद्यमान सबै प्रकारका समस्याको हल गर्ने जादुको छडी (पानासिया) “संघीयता” को त्यति ठूलो महान उद्देश्य बोकेर आन्दोलनमा होमिएका उनले केही अराजकतत्वहरुको भीड जम्मा गराउन सक्नु आखिर यो देशका लागि समाजसेवा हुने नै भयो । अनि राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको क्रुर र पाशविक तरिकाले षड्यन्त्रपूर्वक हत्या गर्नु सायद आन्दोलनकारीहरुको महान सफलता । योभन्दा दुःखलाग्दो, घृणित र निन्दनीय दुष्साहस अरु के हुन सक्छ ?

आशा छ डीभी पीआर काण्डमा ठूलो लडाईं जित्नुभएका र एक सच्चा निजामती कर्मचारीले गर्व गर्न लायक सामान्य प्रशासन मन्त्रीज्यूले यस्ता हर्कत गर्नेहरुलाई चाँडै नै कारवाहीको दायरामा ल्याउनुहुनेछ

निजामती सेवा ऐन ०४९ को दफा ४४ ले निजामती कर्मचारीहरुले राजनीतिमा भाग लिन नहुने तथा दफा ४५ ले सरकारको आलोचना गर्न नहुने भनी स्ष्ष्ट व्यवस्था गरेको छ । सोही ऐनको दफा ५० ले प्रदर्शन र हड्ताल गर्नमा प्रतिबन्ध लगाउँदै यस्तो व्यवस्था गरेको छ –

प्रदर्शन र हडताल गर्न प्रतिबन्धः निजामती कर्मचारीले नेपाल अधिराज्यको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी, देशको शान्ति सुरक्षा, वैदेशिक सम्बन्ध र सार्वजनिक मर्यादा तथा अदालतको निर्णयको अवहेलना हुने गरी, विभिन्न जात, जाति, धर्म, वर्ग, क्षेत्र र सम्प्रदायका मानिसहरूबीच वैमनष्य उत्पन्न गराउने वा साम्प्रदायिक दुर्भावना फैलाउने गरी वा कुनै अपराधलाई प्रश्रय हुने गरी प्रदर्शन गर्न, हडतालमा भाग लिन वा सो कार्य गर्ने उद्देश्यले अरूलाई उक्साउनसमेत हुँदैन ।

साथै सोही ऐनको दफा ६१ ले निजामती कर्मचारीले तोकिएका आचरण विपरीत कार्य गरेमा वा प्रतिबन्ध लगाएका कुराहरु गरेमा देहायबमोजिमको सजायँ हुने व्यवस्था गरेको छ-

सेवाबाट हटाउने वा बरखास्त गर्नेः (१) देहायको कुनै अवस्थामा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछः-

(क) निजामती कर्मचारीले अयोग्यताको कारणले आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा ।

(ख) आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेमा ।
(ग) कार्यालयको समयमा बराबर मादक पदार्थको सेवन गरेमा ।
(घ) बराबर अनुशासनहीन काम गरेमा ।
(ङ) राजनीतिमा भाग लिएमा ।
(च) आफ्नो पदको जिम्मेवारीको बराबर बेवास्ता गरेमा ।

एकातर्फ निर्दोष राष्ट्रसेवक प्रहरीहरुको निर्मम हत्या, अर्कोतर्फ एक निजामती कर्मचारीले साम्प्रदायिक खलल मच्चाउने खालका आन्दोलनमा सहभागी हुँदै समाजसेवाको ध्वाँस दिनु जस्ता कार्यहरुले आज साँच्चै नै अवाक् बनाएको छ ।

आशा छ, डीभी पीआर काण्डमा ठूलो लडाईं जित्नुभएका र एक सच्चा निजामती कर्मचारीले गर्व गर्न लायक सामान्य प्रशासन मन्त्रीज्यूले यस्ता हर्कत गर्नेहरुलाई चाँडै नै कारवाहीको दायरामा ल्याउनुहुनेछ । अन्त्यमा, टीकापुर घटनाका शहिद राष्टसेवकहरुप्रति पुनः श्रद्धासुमन !

(लेखिका कुवेतस्थित नेपाली राजदूतावासमा कार्यरत श्रम सहचारी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment