Comments Add Comment

प्रियजनको पर्खाइमा बिते बाह्र वर्ष

१३ भदौ, बागलुङ । बाह्र वर्षदेखि सरस्वती विकका आँखा ओभाएका छैनन्, नत मनमा चैन छ । बेपत्ता छोरीको खोजीमा भौँतारिनुभएकी विकले न छोरी पाउन सक्नुभएको छ, न त न्याय नै ।

छोरीको कुरा गर्ने बित्तिकै भक्कानो फुटेर आउँछ, उनको । सशस्त्र युद्धका बेला तत्कालीन राज्य पक्षबाट छोरी अनिता बेपत्ता भएकी हुन् ।

बेपत्ता छोरीको अवस्था थाहा पाऊँ भनी सरस्वती विकले राज्यका विभिन्न निकाय र सङ्घसंस्था गुहार्न थालेको पनि वर्षौं बितिसकेको छ । अनिता २०५९ सालको माघ महिनादेखि बेपत्ता अवस्थामा छिन् । “हामीलाई राहत, पैसा चाहिएको छैन, हाम्री छोरी चाहिएको छ,” सरस्वतीले भनिन् –यत्रो वर्षसम्म न छोरी पायौँ न त छोरीको लास नै ।”

न्यायको खोजी गर्दा आफूले आश्वासनबाहेक अहिलेसम्म केही नपाएको गुनासो सरस्वतीको छ  । “हाम्रो बारेमा धेरै कुरा भए, सबैले राम्रै कुरा भन्छन् तर हामीले न्याय पाएनौँ, उनले भनिन्

विकले छोरी अनिताको सत्यतथ्य पत्ता नलागेसम्म आफू न्यायको लागि लडिरहने उनले बताइन् । “छोरीको अवस्था के–कस्तो छ, ऊ कहाँ छ, मरेको भए हामीलाई हाडखोर भए पनि चाहिन्छ,” सरस्वतीले रुँदै भनिन– “मेरो छोरीको जिन्दगी खानेलाई सजाय हुनुपर्छ ।”

सरस्वती विक जस्तै बागलुङमा रहेका अन्य बेपत्ता परिवारको पीडा पनि उस्तै छ । विसं २०५८ मा पति बेपत्ता भएपछि भीमकला घर्तीको जीवन पनि दुःखको दोभानमा फसेको छ ।

रातदिन श्रीमान्को पर्खाइमा बिताउने भीमकला न्यायको खोजीमा निस्केको पनि दशकभन्दा बढी भएको छ । घर्तीले भने –“बाह्र वर्षदेखि हामीले हाम्रो मान्छे कस्तो अवस्थामा छ, मरेको छ कि ज्यूँदो छ केही थाहा पाउन सकेका छैनौं, हामीलाई न्याय चाहियो ।” घर्तीको पनि श्रीमान् बेपत्ता बनाउने जो भए पनि उसले कारबाही भोग्नुपर्ने र पीडितले न्याय पाउनुपर्ने भनाइ छ ।

बेपत्ता आफन्तका बारेमा यथार्थ थाहा पाउन पाए पनि मनले शान्ति पाउने बेपत्ता परिवारका सदस्यले बताउने गरेका छन् । द्वन्द्वको समयमा श्रीमती बेपत्ता भएपछि बागलुङको बोहोरा गाउँका खुमलाल शर्मा पनि न्यायको पर्खाइमा छन् ।

विसं २०६२ को मङ्सिरमा श्रीमती सुशीला शर्मा बेपत्ता भएपछि त्यसयता कुनै अत्तोपत्तो छैन । शर्माले पनि युद्धको बहानामा भएका अपराधजन्य घटनाको छानबिन हुनुपर्ने र अपराधीले सजाय पाउनुपर्ने बताए ।

तत्कालीन विद्रोही पक्षबाट शर्माकी श्रीमती सुशीला बेपत्ता पारिएको हो । “राजनीतिक दलकै कारण बेपत्ता परिवारले बेलैमा न्याय पाउन सकेका छैनन्, दलहरु नै मुख्य दोषी छन्,” शर्माले भने–“बेपत्ता भएकाको अवस्था तुरुन्त सार्वजनिक गर्नुपर्छ र पीडितले न्याय पाए भनेमात्र पीडितको आँसु रोकिन सक्छ ।”

सरकार र राजनीतिक दलले बेपत्ता व्यक्तिको आफन्तलाई न्याय दिने आश्वासनमात्र दिँदै आएको बेपत्ता परिवार समाजकी अध्यक्ष जशोदा शर्माको भनाइ छ ।

जशोदाका श्रीमान् सूर्यप्रसाद पनि २०५८ सालदेखि बेपत्ता छन् । शर्माले आफूहरुले न्यायका लागि वर्षौंदेखि आवाज उठाए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको गुनासो छ । शर्माले भने–“अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर पीडितको पक्षमा मुद्दाको फैसला भए पनि सरकार र राजनीतिक दलले त्यसको सुनुवाइका लागि कुनै पहल गर्न सकेका छैनन् । प्रमुख दोषी भनेका नै दल हुन् ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment