Comments Add Comment

एमाले र एमाओवादीको सम्बन्ध बिगार्ने षड्यन्त्र भयो : केपी ओली

१३ भदौ, काठमाडौं । टीकापुर घटनामा एमाओवादी नेता वर्षमान पुन र जनार्दन शर्माको संलग्नता रहेको भन्ने योगेश भट्टराईको टिप्पणीले एमाले र एमाओवादीको सम्बन्धमा दरार आएको छ । एमाले अध्यक्ष केपी ओलीले यो घटनालाई दुई पार्टीवीचको सम्बन्ध बिगार्ने षड्यन्त्रको संज्ञा दिएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

आफूमाथि गम्भीर आरोप लागेपछि वर्षमान पुनले आइतबार योगेश भट्टराईलाई टेलिफोन गरे । तर, भट्टराईले पुनको फोन रिसिभ नै गरेनन् । योगेश पत्रकारहरुको समेत फोन रिसिभ नगरी मौन बसेका छन् । यो घटनाले एमाले नेतृत्व पंक्तिमा तरंग उत्पन्न भएको छ ।

‘मैले योगेशजीलाई फोन गरें, तर उहाँले फोन नै रिसिभ गर्नुभएन,’ एमाओवादी सचिव वर्षमान पुनले अनलाइनखबरसँग भने, ‘यो हामीमाथि लागेको गम्भीर आरोप हो, यसमा उनले माफी मागेनन् भने हामी पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्छौं ।’

भट्टराईले लगाएको आरोपबारे प्रचण्डले केपी ओलीसँग कुरा गर्ने पुनले बताए ।

यसैवीच एमाओवादी नेता जनार्दन शर्माले योगेश भट्टराईलाई टेलिफोन गरेर उक्त भनाइको खण्डन गर्न वा माफी माग्न आग्रह गरेका छन् । तर, भट्टराईले आफूले यस्तो कुरा नबोलेको भन्दै खण्डन नगर्ने बताएका छन् ।

आरोप पुष्टि गर्न चुनौति

Ananta-Pravakarभट्टराई र शर्माको फोन सम्वादबारे स्रोतले भन्यो- ‘एमाले सचिव भट्टराईले तपाईहरुलाई पर्न गएको चोटप्रति दुख व्यक्त गर्छु भने, तर आफूले त्यस्तो कुरा नबोलेको भन्दै खण्डन नगर्ने अडान लिए ।’

सभासद शर्माले आफूहरुमाथि लगाएको आरोपबारे केपी ओली र गृहमन्त्री वामदेव गौतमसँग पनि कुरा गरेका छन् । ‘मैले केपी ओलीसँग पनि यसबारे कुरा गरें,’ शर्माले अनलाइनखबरसँग भने, ‘ओलीजी पनि यसमा आश्चर्य व्यक्त गर्नुभएको छ, योगेशले अनावश्यक विषयमा बोले भन्ने ओलीजीको प्रतिक्रिया छ ।’

पत्रकार सम्मेलन गर्ने पार्टीको कुनै योजना नरहेको केपी ओलीले आफूलाई बताएको शर्माले अनलाइनखबरलाई जानकारी दिए । गृहमन्त्री वामदेव गौतमले पनि यसबारे आफूले बुझ्ने एमाओवादी नेताहरुलाई आश्वासन दिएको स्रोतले बतायो ।

एमाओवादी सभासद शर्माले यसबारे उपमहासचिव घनश्याम भुसाल र अर्का नेता सुरेन्द्र पाण्डेलाई पनि फोन गरेका छन् । उनले आफूहरुको संलग्नता पुष्टि गर्न चुनौति पनि दिएका छन् । उनले भने, ‘संविधान बनाउनुपर्छ भनेर सबैभन्दा धेरै सक्रिय हुने एमाओवादी नै हो । तर हामीलाई यस्तो आरोप लगाउनुमा संविधान नबनाउने उद्देश्य देखिन्छ । म योगेश जीलाई पुष्टि गर्न चुनौति पनि दिन्छु ।’

एमाले सचिव रहेका भट्टराईले आइतबार बिहान एमाले निकटका पत्रकारहरुको भेला गरेर टीकापुर घटनामा एमाओवादी नेता वर्षमान पुन र जनार्दन शर्माले भूमिका खेलेको आरोप लगाएका थिए । ‘आन्तरिक जमघटको नाम दिइएको सो भेलामा भट्टराईले राष्ट्रपति रामवरण यादवले आजकल भारततिर बढी फोन लगाउने गरेको बताएका थिए ।

Yogesh-Bhattarai-400के भन्छन् योगेश ?

एमाओवादी नेताहरुमाथि गम्भीर आरोप लगाएको कुरा मिडियामा सार्वजनिक भएपछि एमाले सचिव भट्टराई आफ्नै पार्टीभित्र चर्को प्रेसरमा परेका छन् । कतिपयले भट्टराईको यस्तो अभिव्यक्तिलाई ‘टङ स्लिप’को संज्ञा दिएका छन् । भट्टराईले चाहिँ आफूले नबोलेको तर्क अघि सारेको एमाले सूत्र बताउँछ ।

योगेशको भनाइबारे एमाले स्रोतले अनलाइनखबरसँग भन्यो- ‘के बोलेको भनेर उपमहासचिव घनश्याम भुसालले सोध्दा योगेशले माओवादीभित्र एउटै विचार छैन, माथि एक थोक भन्छन्, तल अर्को काम गर्छन् भन्ने विश्लेषण मात्रै गरेको जवाफ दिएका छन् । उनले शायद यसबारे प्रेस वक्तव्य निकालेर खण्डन गर्लान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment