Comments Add Comment

वेपत्ता परिवार भन्छन्-कि सास देऊ, कि लास

Bepatta-Pariwar-Dang

निमुसंगम घर्ती
१३ भदौ, घोराही । दाङ घोराही गुलरीयाकी चुमा आचार्य १४ बर्षदेखि बेपत्ता श्रीमानको पर्खाइमा बस्दै आएकी छन् । तत्कालीन विद्रोही माओवादीले सशस्त्र युद्धका क्रममा चुमाको श्रीमानलाई बेपत्ता पारेको थियो । शिक्षण पेशा गर्दै आएका श्रीमान घरबाट पढाउन भनि निस्कीए पनि अहिलेसम्म फर्किएका छैनन् ।

यस्तै हेकुलीकी शर्बादेवी शर्मा पनि श्रीमानलाई पर्खदै बुढेशकाल व्यतित गर्दैछिन् । २०५८ सालमा तत्कालीन नेकपा माओवादीले घरबाट उठाएर लगेका श्रीमानलाई अहिलेसम्म फिर्ता दिएनन् ।

यस्ता पीडामा बसेका छन् दाङका झण्डै डेढ सय वेपत्ता व्यक्तिका परिवार । आईतबार वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहदा वेपत्ताका परिवारलाई फेरि पीडा बल्झाउने काम गरिएको छ । बर्षेनी मनाइने दिवसले पीडितलाई न्याय हैन आँशु दिने मात्रै गरेको छ ।

सशस्त्र युद्धमा दाङबाट १३९ जना बेपत्ता पारिएका थिए । वेपत्ताहरुमध्ये अहिलेसम्म ६१ जनाको परिवारले मात्रै राहत पाएको स्थानीय शान्ति समिति दाङको तथ्यांक छ ।

बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आईतबार घोराहीमा गरिएको कार्यक्रममा पीडित परिवारले सरकारले राहत मात्र दिएर आफ्नो पीडा कम नहुने भन्दै बेपत्ताहरुको अवस्था स्पष्ट पार्नुपर्ने बताए । आचार्यले रूँदै भनिन्, ‘कि सास दिनुपर्‍यो, कि लास दिनुपर्‍यो हाम्रा आफन्तको अबस्था के छ स्पष्ट जानकारी दिइयोस् ।’

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले सत्य निरुपण तथा मेलमिलाप आयोगले काम सुरु गरिसकेको भन्दै अवस्था सार्बजनिक हुने बताए । उनले कानुनमा भएका ब्यवस्थाहरु पालना गर्नु, राहत वास्तविक पीडितको हातमा पुर्‍याउनु र द्वन्द्व पीडितहरुको अबस्थाबारे सरकारलाई जानकारी गराउनु आफूहरुको काम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment