Comments Add Comment

नेपथ्यले सुनायो म्यानहटनलाई नेपाल

Nepathya-at-Manhattan-Centre

म्यानहटन । विश्वकै केन्द्र न्यूयोर्क । त्यसको पनि अग्ला घरहरुले तँछाड मछाड गर्ने म्यानहटन । आकाश छेडेका विशाल संरचनाहरुले तलका चौँडा सडकलाई पनि दिउँसै अँध्यारो गल्ली तुल्याइदिन्छ । अनि असाध्यै ब्यस्त यो सहरको छायाँमा संसारै अटाएर पनि सबैथोक हराइरहेको हुन्छ ।

शनिबार दुई घन्टासम्म एक ठाउँमा नेपाली आवाजमा रमाए । यसरी रमाउनेमध्येकै थिए प्रबल गुरुङ । न्यूयोर्कमा बसेर विश्वकै नामी फेसन डिजाइनरहरुसँग प्रतिस्पर्धा गरिरहेका यी नेपाली युवक हलभित्र कतिसम्म गद्गद् थिए भन्ने कुराको अनुमान एकपछि अर्को उनका ट्वीट् पोष्टबाटै लगाउन सकिन्थ्यो ।

‘शनिबारको साँझ नेपथ्यसँग जादूमयी बनेको छ,’ अर्को पोष्टमा उनी फेरि भन्थे, ‘नेपथ्यजस्तो आफ्नै घरमा हुर्केका प्रतिभालाई म्यानहटनस्थित टनाटन भरिएको हलमा सुन्नु भनेको गर्व, प्रेरणादायी र सुखद तीनै कुराको समिश्रण प्राप्त गर्नु हो ।’ उनी घरि घरि दंग परेर ट्वीटको अन्त्यमा ‘जय नेपाल’ पनि लेखिरहेका हुन्थे ।

साढे तीन हजार क्षमताको त्यो अटेसमटेस हलमा प्रबलमात्र थिएनन् । नेपथ्यका प्रत्येक गीतमा रमाउनेहरू फरक फरक पुस्ताका थिए । जसलाई उनीहरुले सुन्दै आएको आवाजमार्फत् छाडेर आएको स्वदेशसँग जोड्ने काम पनि भइरहेको थियो ।

‘आज जनै पूर्णिमा हो । नेपालमा आजकै दिन विशेष महत्व राख्ने गोसाईँकुण्ड पनि छ । त्यो क्षेत्रमा हामी घुम्न गएकै बेला एउटा गीत पनि संकलन गरेका थियौं,’ नेपथ्यका अगुवा एवं गायक अमृत गुरुङ भनिरहेका थिए, ‘त्यतिबेला हामीले ओत पाएका थुप्रै घरहरु अस्तिको भुइँचालोपछि बचेका छैनन् । त्यस्ता गाउँहरुलाई फेरि जीवित पार्नका निम्ति हामी सबै ती स्थानहरुमा घुम्न जाऔं ।’ उनले अमेरिकामा बसोबास गरिरहेका तमाम नेपालीसँग नेपालको पुनः निर्माणका निम्ति यसरी आव्हान गरे ।

सन् २०१५ मा ब्याण्ड विभिन्न मुलुकको साँगीतिक भ्रमणका कारण ब्यस्त बन्न पुग्यो । न्यूयोर्क आउनुअगावै अष्ट्रेलिया, टोकियो, दुबई र लण्डनजस्ता स्थानहरुमा भब्य प्रदर्शन सम्पन्न भइसकेका छन् ।

‘अमेरिकामा प्रस्तुतीको निम्ति निकै प्रयासहरु हुँदैआएका थिए,’ नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक जुरेको भ्रमण र न्यूयोर्कको सफल प्रस्तुतीले थप उर्जा दिएको छ ।’

‘म जहाँ जहाँ गएँ त्यता त्यता नेपालीहरु विभाजित हुदै गएको देख्नु परिरहेको छ,’ अमृत भन्छन्, ‘त्यसैले यसपाला अमेरिकाको प्रदर्शनलाई ‘म्यूजिक फर युनिटी’ (एकताको निम्ति संगीत) नाम दिएका छौं ।’

कार्यक्रममा अमृतले विश्वभर रहेका नेपालीले एक भएर आफू र आफ्नो मुलुकको प्रतिष्ठा बढाइदिन अनुरोध पनि गरे । ‘गायक अमृतको गीतसँगै आएका आव्हान शक्तिशाली छ,’ न्यूयोर्ककै रेडियोकर्मी सहदेव पौडेल भन्छन्, ‘हामीलाई एक भएर अघि बढ्न नेपथ्यका गीत मात्रै पनि पर्याप्त थियो ।’

नेपथ्यको अमेरिका प्रदर्शनमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment