Comments Add Comment

नेपाल-भारतका सबै सीमास्तम्भमा जीपीएस जोडिने

१३ भदौ, काठमाडौं । नेपाल र भारतको सीमाक्षेत्रका सबै सीमा स्तम्भमा ग्लोबल पोजिसनिङ सिस्टम अर्थात् जीपीएस जडान गर्ने सहमति भएको छ ।

गत अगष्ट २६-२७ तारेखमा देहरादुनमा भएको नेपाल-भारतका नापी विभागका महानिर्देशक स्तरीय सीमा कार्यसमूहको दोस्रो बैठकमा यस्तो सहमति भएको हो ।

Nepal-india-border-pillarsयोसँगै अब दुई देशले सीमाक्षेत्रको १८८० किलोमिटर लम्बाइमा ८३ वटा नियन्त्रण विन्दु स्थापित गर्नेछन् र सोही मार्फत ८ हजार ५५५ वटा सीमा स्तम्भमा जीपीएस जडान गरिनेछ ।

नापी विभागका महानिर्देशक मधुसुदन अधिकारीका अनुसार सबै सीमास्तम्भमा जीपीएस जडान गरिसकेपछि कुनै पनि प्राकृतिक प्रकोप वा मानवीय अतिक्रमणबाट सीमास्तम्भमा क्षति पुगेमा तत्कालै त्यसको पुनस्र्थापना गर्न सकिनेछ ।

सीमा कार्यसमूह अर्थात् बीडब्लुजी नेपाल र भारतबीचको सीमा स्तम्भको पुनर्निर्माण, पुनस्र्थापना, मर्मत गर्ने तथा बाह्रगजा क्षेत्रको मानवरहित भूभागलाई खाली गर्नका लागि दुई देशले गठन गरेको सबैभन्दा उच्चस्तरीय संयन्त्र हो । कालापानी र सुस्ताको भूभागबाहेक अन्य सीमा क्षेत्रमा सन् २००७ को नक्शा तथा अन्य तथ्य तथा तथ्यांकका आधारमा यो संयन्त्रले दुई देशबीचको अन्तराष्ट्रिय सीमा व्यवस्थापन गर्ने म्याण्डेट पाएको छ ।

नेपाल र भारतले सुस्ता र कालापानी सन् २००७ मा १ सय ८२ प्रति सीमा नक्सा तयार पारेका छन् । नेपाल र भारतबीचको सीमा विवाद नसुल्भिmरहेका बेला अबदेखि सीमा स्तम्भ कुनै पनि कारणले क्षति भएमा तत्कालै पुरानै ठाउँमा स्थापना गर्ने गरी जीपीएस जडान गर्ने सहमति दुई देशबीच भएको हो ।
नापी विभागका महानिर्देशक अधिकारीका अनुसार दुबै देशमा रहेका नियन्त्रण बिन्दुबाट हरेक सीमास्तम्भको स्थान, अक्षांस, देशान्तर, उचाइ, अवस्थितिलगायतका विषयको जानकारी संग्रहित गरिनेछ । यहीँ आर्थिक वर्षमै जीपीएस जडानको काम सुरु हुने उनले बताएका छन् ।
साथै नेपाल र भारतबीच सीमा क्षेत्रको नदी तथा खोलाहरुमा पनि विशेष सीमा स्तम्भ निर्माण गर्ने सहमति भएको छ । यसका साथै घना जंगल भएको चितवनको सीमा क्षेत्रमा पर्ने सोमेश्वरमा पनि सीमा स्तम्भ निर्माण गरिनेछ ।

महानिर्देशक अधिकारीका अनुसार नेपाल र भारतको सीमा क्षेत्रमध्ये झण्डै ६४० किलोमिटर पानीले छुट्टाएको छ र नदी वा खोलाले छुट्टाएको त्यस्तो सीमको संरचना क्षति हुने उच्च जोखिममा रहन्छ । त्यसैले त्यस्ता क्षेत्रमा विशेष स्तम्भ बनाउने निर्णय गरिएको उनले बताए ।

हिउँदमा जल सतह घटेको बेला नदीमा सीमास्तम्भको निर्माण गरिनेछ र नदीका स्तम्भहरु पानीको सतहभन्दा एक मिटर अग्ला हुनेछन् । स्मरण रहोस् नेपाल-भारत सीमा क्षेत्रमा रहेका ८५५३ सीमा स्तम्भ मध्ये १३२५ वटा हराएका छन् भने १९५६ वटा पूर्ण वा आंशिकरुपमा क्षतिग्रस्त भएका छन् ।

अधिकारीका अनुसार हराएका तथा क्षति पुगेका स्तम्भको ठाउँमा नयाँ पिल्लर ठडाइनेछ ।

सीमा स्तम्भ निर्माण, मर्मत तथा बाह्रगजा क्षेत्रको सफाइको दोश्रो चरणको काम अक्टोबरदेखि सुरु हुने इण्डोएसियन न्यूज सर्भिसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment