Comments Add Comment

उद्योगी व्यवसायी भन्छन्- मधेस बन्द हुँदा ५० अर्ब घाटा

१४ भदौ, काठमाडौं । भूकम्पपछि बिस्तारै तंग्रिन लागेको देशको अर्थतन्त्र तराईका जिल्लाहरुमा भइरहेको अनिश्चितकालीन हडतालका कारण फेरि थला परेको छ । दुई हप्तादेखि मधेसवादी मोर्चा, जनजाति र थरुहटले गरेको बन्दका कारण देशको अर्थतन्त्रमा करिब ५० अर्बको घाटा पुगिसकेको उद्योग व्यवसायीहरुको गुनासो छ ।

nepal mapझापाको काँकडभिट्टा नाका तुलनात्मकरुपमा खुले पनि बिराटनगर, जनकपुर, वीरगञ्ज र भैरहवामा हप्तौंदेखि आर्थिक क्रियाकलाप प्राय ठप्प छ । सरकार र आन्दोलनबारीवीच वार्तामा बस्ने वातावरण नबनेकाले बन्द र हडताल कहिलेसम्म हुने भन्ने अनिश्चय अझ बढेको छ ।

मधेसी मोर्चालगायतको बन्दका कारण तराईका मुख्य भन्सार एवं व्यापारिक सहरहरुमा आर्थिक क्रियाकलाप ठप्प हुन गई राजस्व संकलनमा समेत ठूलो गिरावट आएको छ । सरकारले चाँडो समस्या समाधान गरेर तराई मधेसको बन्दलाई खुलाएन भने राजस्व असुली न्यून हुने र चालु आर्थिक वर्षको बजेटमा यसले गम्भीर असर पर्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

बिराटनगरमा करोडौंको नोक्सानी

क्षेत्रीय र जातीय राजनीतिक समूहले गरेको बन्दका कारण दुईसातादेखि बिराटनगर ठप्प छ । यहाँ रहेका ठूला र साना गरी १५ सय बढी उद्योगहरु प्रायः बन्द छन् । एक दिनको बन्दले ६० करोड बढीको कारोबार ठप्प भएको मोरङ उद्योग वाणिज्य संगठनका अध्यक्ष शिवशंकर अग्रवालले जानकारी दिए । कारोबार नहुँदा भन्सार र राजस्व दुबै प्रभावित भएको छ ।

मोरङ जिल्लामा भदौ महिनाको राजस्व संकलनको लक्ष्य १ अर्ब ७५ करोड छ, जसअनुसार प्रत्येक दिन ५ करोड ६७ लाख उठाउने लक्ष्य भए पनि बन्दका कारण लक्ष्यअनुसार राजस्व असूली हुन सकेको छैन । भदौ ११ गतेसम्म्ा ३९ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखिएकोमा अहिलेसम्ममा २४ करोड १९ लाख मात्र असुली गरिएको विराटनगर भन्सार कार्यालय निमित्त प्रमुख राजेन्द्र ढुंगाना बताए ।

भदौ महिनामा भएको लगातारको बन्दका कारण राजस्व संकलनमा १५ करोड ४९ लाख नोक्सानी भएको कार्यालयको भनाइ छ । बिराटनगरस्थित भन्सार कार्यायलमा २ सयभन्दा बढी मालवाहक ट्रकहरु थन्किएर बसेका छन् भने फारबेसगञ्जदेखि जोगवनीसम्म पेट्रोलियम पदार्थ लगायतका सामान बोकेका साधनहरु लाइनमा बसेका छन् ।

जोगवनीमा मालबाहक ट्रकहरु बन्द खुल्ने दिन कुरेर बसिरहेका छन् । सात दिनदेखि बिराटनगर भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ लगायतका सामाग्री बिराटनगर भित्रिन सकेका छैनन् ।

सुनसरीका उद्योग ठप्प

आदिवासी, जनजाति र मधेसीको हड्तालका कारण सुनसरी पनि १५ दिनदेखि ठप्प छ । सुनसरीमा इनरुवा, इटहरी, दुहबी र धरान ठूला व्यापारिक केन्द्र हुन् । यो जिल्लामा डेढ सय ठूला उद्योगसहित करिब हजारको हाराहारीमा उद्योगहरु छन् ।

दुहबी लगायतका क्षेत्रमा प्रशस्त उद्योगहरु रहेको यो जिल्लामा एक दिनमा ५० करोड बढीको कारोबार हुने गरेको थियो, जुन अहिले ठप्प छ । ढुवानी सेवा अवरुद्ध हुँदा अर्बौंका सामानहरु नोक्सान भएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईले जानकारी दिए ।

सीमापारीका क्षेत्रमा लाइन लागेका मालबाहक सवारी
सीमापारीका क्षेत्रमा लाइन लागेका मालबाहक सवारी

‘यस क्षेत्रमा रहेका अधिकांश उद्योग तथा व्यापार खोलेर पूजा गर्नसमेत पाइएको छैन’ प्रसाईले भने- आगामी केही दिन यसैगरी बन्द भयो भने व्यापारीहरु पलायन हुनुपर्ने अवस्था छ ।’ पूर्वी पहाडमा समेत भइरहेको पटकपटकको बन्दले मानिसहरुको आवत जावतसमेत ठप्प भएको उनले बताए । ‘एकातिर उत्पादन गर्नसक्ने अवस्था छैन भने अर्कातिर उत्पादिन बस्तु किन्नका लागि बजारमा उपभोक्ता पुग्न सक्ने अवस्था नै छैन ।’ प्रसाईंले भने ।

बीरगञ्जलाई दैनिक ५० करोडको नोक्सान

बीरगञ्ज उद्योग वाणिज्य महासंघ प्रदीप केडियाका अनुसार यस क्षेत्रमा पनि व्यापार व्यवसाय पूर्णरुपमा ठप्प छ । ‘इकोनोमी पूरै प्यारालाइज भएको छ, उद्योग नै चलाउन पाइएको छैन’ केडियाले भने- पोखरा र काठमाडौं पठाउनुपर्ने सामान प्रहरीले स्कटिङमा पठाइरहेको छ, तराईका अन्य क्षेत्रमा पठाउन समस्या छ ।’

वीरगञ्ज औद्योगिक करिडोरमा २ हजार उद्योग छन् । त्यहाँ डेढ सय ठूला उद्योग छन् । दैनिक ५० देखि ६० करोड नोक्सान भइरहेको उनले बताए । बीरगञ्ज देशकै ठूलो आर्थिक कारोबार र गतिविधि हुने क्षेत्र हो ।

भैरहवामा दैनिक एक अर्बको घाटा

मधेसी मोर्चा, थरुहट सर्घष समितिलगायतको बन्दका कारण रुपन्देहीको अर्थतन्त्र निकै प्रभावित भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बन्दका कारण दैनिक करिब एक अर्ब घाटा लागिरहेको बताए ।

मुलुकको दोस्रो ठूला भन्सार कार्यालय मानिने रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले पनि बन्दको मारमा परेको भन्सार कार्यालयका निमित्त प्रमुख पार्वतमणि दाहालले बताए ।

बन्दअघि भन्सार कार्यालयले लक्ष्य अनुसारको दैनिक ९ करोड रुपैयाँ राजश्व संकलन गरिरहेको थियो । तर, बन्दका कारण दैनिक ४ करोड देखि ५ करोड रुपैयाँ मात्रै राजश्व संकलन भइरहेको छ ।

भैरहवा नाकाबाट बन्द अघि दैनिक करिब ६ सय मालबाहक सवारी साधन मुलुकमा भित्रिने गर्थे । अहिले करिब ३ सयको हाराहारीमा मालबाहक सवारी साधन मुलुकमा भित्रिरहेका छन् ।

भैरहवा भन्सारबाट खाद्यान्न, तेल, उद्योगजन्य कच्चा पदार्थ (क्लिन्कर), टायल्स, मार्वल, सिमेन्ट लगायतका साम्रगी यो नाकाबाट बढी मात्रामा भित्रने गर्दछन् ।

लगातारको बन्दका कारण रुपन्देहीका बैकिङ्ग क्षेत्र पनि प्रभावित भएको छ । एनआइसी एशिया बैंक भैरहवाका प्रबन्धक दिनेश थापाका अनुसार बन्दका कारण अहिले १५ देखि २० प्रतिश्त मात्र कारोबार भइरहेको छ ।

बन्दका कारण भैरहवाका उद्योगको उत्पादन सुन्य रहेको उद्योगीहरुले बताएका छन् । रिलायन्स सिमेन्ट प्रालिका सञ्चालक ऋषि अग्रवालले उद्योगमा विगतमा दैनिक ५ सय टन सिमेन्ट उत्पादन हुने गरे पनि अहिले बन्दका कारण उद्योग पूर्णरुपमा ठप्प रहेको बताए ।

पश्चिमाञ्चल सिमेन्ट उत्पादन संघका अध्यक्ष एवं अम्बुजा सिमेन्ट प्रालिका सञ्चालक ऋषिकेश आग्रवालले बन्दका कारण करोडौं रुपैयाँको नोक्सानी भएको बताउँदै सरकारले उद्योग चलाउनका लागि सहज वातावरण मिलाइदिनका लागि आग्रह गरे । ११ वटा सिमेन्ट उद्योग रहेको लुम्बिनी करिडोरमा ठप्प रहेको छ ।

त्यस्तै, मुलुकमा भित्रिने भारतीय सवारी साधनहरु भारतीय बजारमा नै लाम लागेका छन् । केही भारतीय मालबाहक सवारी साधनहरु आन्दोलनको त्रासले सीमानाकादेखि वरै करिब ३० किलोमिटर कुल्हुई नामक भारतीय बजारमै मालबाहक सवारी साधनको लाम लगाएर बसेका छन् ।

बन्दले भन्सार कार्यालयमा थन्किएका मालबाहक सवारी
बन्दले भन्सार कार्यालयमा थन्किएका मालबाहक सवारी

कति भयो क्षति ?

दुई हप्ताको तराई बन्दले मुलुकले ५० अर्ब बढीको भौतिक नोक्सानी व्यहोरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अनलाइनखबरलाई बताए । गत बैशाखमा गएको भूकम्पले भन्दा अहिलेको तराई बन्दले औद्योगिक क्षेत्रमा बढी असर गरेको मुरारकाले बताए ।  ‘एक दिन तराई बन्द हुँदा अर्थतन्त्रमा २ अर्ब बढी भौतिक नोक्सानी हुन्छ ।’ उनले भने- के कति क्षति भयो, त्यसको त आँकलन नै गर्न सकिँदैन ।’

बन्दले औद्योगिक वातावरण बिग्रिएको छ भने पर्यटकहरुलाई त्रासमा पारेको छ । ‘तराईमा उद्योग स्थापना गर्ने सोचमा भएको कुनै पनि उद्योगीले अबको वर्ष दिन काम अघि बढाउँदैन’ मुरारकाले भने- यो वर्ष लुम्बिनीमा आउने पर्यटकको संख्या हेरे हुन्छ, बन्दले पर्यटनमा कस्तो असर गर्‍यो भनेर ।

उद्योगीहरु उद्योग सञ्चालन गर्न तयार रहेको तर राज्यले सुरक्षाको प्रत्याभूति नगराएको उनको गुनासो छ । ‘राज्यले सुरक्षा दिए हामी उद्योग सञ्चालन गर्न तयार छौं । बन्दमा उद्योग खोल्दा तोडफोड भए राज्यले क्षतिपूर्तिको व्यवस्था गरिदियोस् ।’ उनले भने ।

बन्दका कारण मुलुकको अर्थतन्त्र गम्भीर दुर्घटनाको संघारमा महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘दुई हप्तादेखि ७० प्रतिशत बजार र उद्योग/व्यवसाय बन्द छन्’ गोल्छाले भने- हामी ठूलो आर्थिक दुर्घटनातर्फ अघि बढ्दैछौं’ गोल्छाले भने- ‘हामी ठूलो आर्थिक दुर्घटनातर्फ अघि बढ्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment