Comments Add Comment

धुर्मुस-सुन्तली बस्तीमा पसेर सीइओले भनेः यो मोडल ठीक रहेछ

Govinda-Pokhrel-At-dhrumus-suntali-Namina-Basti

चिरञ्जीवी पौडेल

१४ भदौ, काठमाडौं । ‘धुर्मुसजी,’ राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सीइओ डा. गोविन्द पोखरेलले चियाको चुस्की लिँदै सोधे, ‘तपार्इ त इन्जिनियर पनि हो कि क्या हो ?’

धुर्मुसले ठट्यौंलो जवाफ दिए, ‘पढेर होइन, परेर बनेको इन्जिनियर हुँ । अहिले त ठूलाठूला घरको डिजाइन बनाउन पनि अर्डर आउन थालेका छन् ।’

हास्य अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’ले काभ्रेमा आफ्नै डिजाइन र नेतृत्वमा निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत बस्तीको स्थलगत अनुगमन गर्न गत शनिबार पुगेका थिए सीइओ डा. पोखरेल ।

‘मैले यहाँ आउन आजकै दिन किन रोजेको हुँ थाहा छ ?’ उनले धुर्मुसलाई सोधे । धुर्मुसले मुन्टो हल्लाएपछि आफैं जवाफ दिए, ‘आज भूकम्प आएको ठीक चार महिना पूरा भएको दिन हो नि त ।’

केहीबेर अघि सीइओ डा. पोख्रेलले आधाघन्टा जति बस्तिभित्र फनफनी घुम्दै फोटो खिचिरहेका थिए । शौचालयदेखि अतिथि गृहसम्मको अवलोकन गरेपछि सन्तुष्ट भावमा टाउको हल्लाए अनि भने- ‘यो मोडल ठीक छ ।’

‘मैले एक वचन सोध्नेवित्तिकै सर यहाँ आउन तयार हुनुभयो,’ धुर्मुसले चिप्लो घस्दै भने, ‘यस्तै उत्साही व्यक्तिको नेतृत्व चाहिएको छ पुनर्निमाण अभियानमा ।’ पोखरेलले जुँगा मुसारे ।

बस्तीको बीचमा रहेको प्रतिक्षालयमा अहिले हामी गोलो भएर बसेका छौं । बासिन्दाहरु चाख मानेर सीइओका कुरा सुन्दैछन् । उनीहरु कुरा बुझे सही थप्छन्, नबुझे पनि सही थप्छन् । भात खान आमन्त्रण गर्दै एक महिला उभिइन् । भित्रबाट क्वाँटीको बास्ना आइरहेको छ । ‘पहिला कुरा टुंग्याउँ न’ भन्दैछन् सीइओ ।

यसरी बन्यो नमूना बस्ती

काभ्रेको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवती मन्दिरलाई नमस्ते गर्दै करिब ४ किलोमिटर हिँडेपछि पुगिन्छ पहरी गाउँ । १२ वैशाखको भूकम्पले यो गाउँलाई भग्नावशेषमा बदलिदिएको थियो भने ४ जनाले ज्यान गुमाएका थिए । यही ठाउँमा एकीकृत बस्ती निर्माण गरेर धुर्मुस-सुन्तलीले १८ पहरी परिवारलाई नयाँ जीवन दिएका छन् ।

गत १२ वैशाखमा नेपालमा भूकम्प जाँदा धुर्मुस र सुन्तलीको जोडी अमेरिकामा थिए । अमेरिकाका नेपालीहरुलाई हसाँउन पुगेका उनीहरु भूकम्पपछि १७ वटा कार्यक्रम रद्द गरेर रुँदै स्वदेश फर्के । स्वदेश फर्केर एकछिन थकाइ नमारी बेल्चा बोकेर पुगे भूकम्प प्रभावित गाउँहरुमा ।

जतिबेला ठूला सेलिबि्रटीहरु काठमाडौं छेउछाउका बस्तीमा पुगेर चाउचाउ बाँड्दै सेल्फी खिचिरहेका थिए, धुर्मुस र सुन्तलीको जोडी हातमा बेल्चा बोकेर दुर्गम गाउँहरुमा शौचालय बनाउँदै थिए ।

dhrumus-suntali-Namina-Basti

शौचालय र विद्यालय बनाउने क्रममै उनीहरुले निर्णय गरे, भूकम्प पीडितका लागि एउटा सुविधा सम्पन्न नमूना बस्ती बनाउने । ‘त्यतिबेला राष्ट्रसेवाको भावना मेरो नशा-नशामा दौडिरहेको थियो । त्यसैले आफू रित्तिएर भए पनि एउटा नमूना बस्ति बनाएरै छोड्ने अठोट गरेँ,’ धुर्मुस भन्छन् ।

तर, कहाँ बनाउने ? खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख काभ्रे मोहनलाल जैसीले उनलाई त्यो ठाउँ पुर्‍याए, जुन सबै हिसाबले उपयुक्त थियो । भूकम्पले पूर्णतया ध्वस्त भएको, भौगोलिक हिसाबले बस्ती बसाल्न उपयुक्त, भोलिका दिनमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भाव्यता रहेको, सीमान्तकृत समुदायको बसोबास रहेको जस्ता लक्षणहरुका आधारमा धुर्मुसले यो ठाउँलाई फाइनल गरे ।

सुरुमा ४० लाखको अनुमान गरे पनि वर्षाका कारण ढुवानी महंगो र भग्नावशेषका काठपातहरु काम नलाग्ने देखिएपछि बजेट बढाउनु पर्ने अवस्था आयो । त्यसपछि उनीहरुले काठमाडौंमा आफूहरु बस्दै आएको घर बेच्ने घोषणा समेत गरे ।  ‘हामीले सस्तो प्रचारका लागि त्यो घोषणा गरेका थिएनौं,’ धुर्मुस भन्छन्, ‘त्यो हाम्रो वाध्यात्मक निर्णय थियो ।’

बस्तीको सम्पूर्ण डिजाइन धुर्मुस आफैंले गरेका हुन् । प्राविधिक कुराहरुमा इन्जिनियर सञ्जय राजवंशीको सहयोग लिएको उनले बताए । तीन-तीन कोठायुक्त २० घरको डिजाइन गरेपछि धुर्मुस र सुन्तली खाल्डो खन्न थाले ।उनीहरुलाई सगुन डटकम र टेलिश्रृंखला भद्रगोलका कलाकारहरुले साथ दिए । भटाभट काम सुरु भएपछि स्थानीय व्यक्तिहरुले साथ नदिई धरै पाएनन् ।

धुर्मुस बिहान ३ बजे उठ्थे र हल्ला गर्दै सबैलाई उठाउँथे । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म ‘अफिस टाइम’ तोकिदिएका थिए उनले । दिउँसो दुई घन्टा ‘लन्च ब्रेक’, नत्र कामै काम । खाल्डो खन्ने, मसला बनाउने, ढुंगा उचाल्ने जस्ता काममा खटिएका धुर्मुस र सुन्तलीलाई देख्नेहरु आश्चर्यले जिभ्रो टोक्दै भन्थे, मेरी बास्सै ! 

धुर्मुस भन्छन्, ‘चर्को गर्मीमा दिनभरी पसिनाले निथु्रक्क भइन्थ्यो । राति सबैलाई जरो फुट्थ्यो र दुई-दुईवटा सीटामोल खाएर सुत्थ्यौ । बिहान उठ्दा फेरि तन्दुरुस्त ।’

निर्माणस्थलमै पाल टाँगेर बस्थे धुर्मुस, सुन्तली र उनीरुका सहयोगी । ‘राति हावा-हुरी र चट्याङ पर्दा त आजै गइन्छ कि जस्तो हुन्थ्यो,’ सुन्तली सम्झिन्छिन्, ‘त्यसमाथि बाघको त्राशले गर्दा निद्रै पर्न गाह्रो ।’

बस्ती निर्माणका क्रममा समुदाय र सरकारी निकायहरुलाई विश्वासमा लिनु फलामको च्यूरा जस्तै बनेको थियो धुर्मुसका लागि । उनी भन्छन्, ‘समुदायलाई त मनायौं, तर सरकारी निकायका जिम्मेवार व्यक्तिहरुले नै काममा बारम्बार अवरोध सिर्जना गर्ने काम गरे ।’

डेढ वर्षकी छोरी सुबिहानीलाई आफन्तको जिम्मा लगाएर ७० दिन अनवरत खटेको थियो यो जोडी । बस्ती निर्माण सम्पन्न गरेर गत २७ साउनमा स्थानीयबासीलाई हस्तान्तरण गरेपछि मात्र उनीहरु काठमाडौं फर्केका थिए ।

बस्ती हस्तान्तरण गरेपछि हलुंगो भएका धुर्मुस थकाई मार्ने मुडमा भने छैनन् । पुनर्निमाण अभियानमा निरन्तर योगदान दिने अभिलासा छ उनको ।

यद्यपि, सरकारले पुनर्निमाण प्राधिकरण निर्माण गरेर अघि बढिसकेको अवस्थामा अब व्यक्तिगत स्तरमा भन्दा सरकारकै मातहतमा काम गर्न इच्छुक छन् उनी । ‘हाम्रो जोश, जाँगर र क्षमतालाई हेरेर सरकारले कुनै भूमिकाको निम्ति योग्य सम्झिन्छन्  भने सदा तत्पर छौं,’ धुर्मुसले भने । 

यस्तो छ बस्ती

बस्तीको अगाडि ठूलो गेट छ, जसमा लेखिएको छ धुर्मुस सुन्तली एकीकृत नमूना बस्ती । बस्तीभित्र पस्नासाथ सहयोगदाताहरुको सुचीसहितको ठूला दुई बोर्ड ठडिएका छन् ।

हेर्दै लोभलाग्दो यो बस्ती साँच्चिकै नमूनाको देखिन्छ । बस्तिमा ३ कोठाका २० वटा घर छन् । काठमा बाँस ठोकेर सिमेन्टले प्लास्टर गरी यी घर तयार गरिएका हुन् । ‘राष्ट्रियता झल्काउन’ घरहरुमा रातो, सेतो र निलो रंग प्रयोग गरिएको छ । सुविधाको हिसाबले शहरभन्दा कम छैन यो बस्ती । हरेक घरमा धारा, बिजुली र बाथरुम मात्र होइन, डिस होम र बगैंचा समेत छ । अतिथि गृह र प्रतिक्षालय पनि छन् बस्तिभित्र ।

dhrumus-suntali-Namina-Basti-1

बस्तिमा जम्मा ५ वटा गोबर ग्याँस प्लान्ट राखिएको छ । टमाटर खेतिका लागि तीनवटा टनेल बनाइदिएका छन् धुर्मुसले । स्थानीय वासिन्दाका गोठहरु बस्तिभन्दा केही पर छन् ।

यो बस्ती निर्माणमा ६७ लाख ३७ हजार ८ सय ३६ रुपैयाँ खर्च भएको छ । त्यसमा करिब ४७ लाख रुपैयाँ विभिन्न दाताहरुबाट सहयोगस्वरुप प्राप्त भएको र बाँकी पैसा आफूहरुले लगाएको धुर्मुसले जानकारी दिए । दाताहरुमध्ये सबैभन्दा बढी सगुन डटकमले ११ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ ।  ‘यो बस्तीमा मेरो पैसा मात्रै होइन, पसीना र आँशु पनि मिसिएको छ,’ धुर्मस भन्छन् ।

सरकार पनि यही मोडलमा जानुपर्छ : सीइओ पोखरेल

एकीकृत बस्ती तपार्इलाई कस्तो लाग्यो ?

सैद्धान्तिक रुपमा यो सही मोडल हो । हामीले गर्न खोजेको पनि यस्तै हो । ठाउँ हेरेर निर्माण सामग्रीहरु फरक हुन सक्लान्, तर मूलभुत अवधारणा यही नै हो ।

Govinda-Pokhrel-At-dhrumus-suntali-Namina-Basti-1

यो बस्तीमा तपाईंलाई के कुराले बढी आकषिर्त गर्‍यो त ?

यहाँ जुन हिसाबले बायोग्यासमार्फत फोहोर व्यवस्थापन गरिएको छ, त्यो सह्राहनीय छ । अर्को कुरा, बस्तिभन्दा अलिकति टाढा गोठ राखिएको रहेछ । यसो गर्दा बस्ती फोहोर हुन पाउँदैन । तरकारी खेतीका लागि टनेल बनाइदिनुभएको रहेछ । यसले जिविकोपार्जनका लागि सहयोग पुर्‍याउँछ । साथै, अतिथिगृहरु पनि रहेछन् । शौचालयहरु पनि व्यवस्थित पाएँ ।

उहाँहरुले व्यक्तिगत पहलमा ७० दिनभित्र यति गर्नुभो, सरकारले चाहिँ के गर्दैछ ?’

व्यक्ति र सरकारको कार्यशैली अलि फरक हुन्छ । उहाँहरुले जति सजिलोसित सरकारले गर्न सक्दैन । सरकारले कुनै पनि काम अघि बढाउँदा निश्चित प्रक्रियाहरु पूरा गर्नुपर्ने हून्छ । नीति-नियम, कार्यविधि, मापदण्डहरु बनाउनुपर्छ । कुनै निश्चित ठाउँमा केन्दि्रत हुन पनि सरकारले मिल्दैन ।’

सरकारले यही बस्तीको मोडेललाई अनुशरण गर्न सक्छ ?

पक्कै पनि सक्छ । एकीकृत बस्ती बनाउँदा सरकारलाई पनि फाइदा छ । किनभने सानो ठाउँमा ठूलो समुदाय अटाउँछन् । बत्ति, पानी लगायतका सेवा सुविधाहरुको आपूर्ति सहज हुन्छ । बसोबासका लागि जति थोरै भूमि खपत हुन्छ, त्यति नै धेरै जमिन कृषि कार्यमा सदुपयोग गर्न सकिन्छ । यद्यपि, संरचना र निर्माण सामग्रीका हिसाबले पहाडी क्षेत्रमा र समतल भूभागमा ठ्याक्कै एउटै मोडेल लागू गर्न चाहिँ कठीन हुन्छ ।

उहाँहरु (धुर्मुस सुन्तली) को यो कामलाई हेरेर पुनर्निमाण अभियानमा कुनै औपचारिक जिम्मेवारी दिने सोच पलायो कि ?

हामी मिलेर नै अघि बढ्ने हो । मैले उहाँहरुलाई भनेको पनि छु कि हामी सँगै हिँड्नुपर्छ । जहाँसम्म जिम्मेवारीको कुरा छ, अहिले नै केही भन्न सक्दिँन ।

प्राधिकरणले चाहिँ कहिलेबाट काम सुरु गर्छ त ?

प्राधिकरणमा नियुक्ति करिब डेढ महिना ढीला भयो । दाता सम्मेलन लगत्तै नियुक्ति हुनुपथ्र्यो । मैले सपथ लिएपछिको १५ दिनमा ४ दिन त नेपाल बन्दले केही काम भएन । अहिलेसम्म मेरो कार्यालय पनि तयार भइसकेको छैन । राष्ट्रिय योजना आयोगमै बसेर काम गरिरहेको छु । आयोगमा अर्को व्यक्ति नआउञ्जेल यताको जिम्मेवारी पनि बहन गर्नुपर्ने अवस्था छ ।

हामीले अलिकति धैर्य गर्न सिक्नैपर्छ । म अहिले विभिन्न क्षेत्रका विज्ञहरुसित छलफल गर्दैछु । संभवतः दशैंपछि हामी घर निर्माण सुरु गर्नेछौं ।

प्राधिकरणले बस्ति मात्रै बसाल्छ कि अरु काम पनि गर्छ ?

बस्ती मात्रै बसालेर हुँदैन । उनीहरुले जिविकोपार्जन कसरी गर्ने त भन्ने प्रश्नलाई हेक्का राख्नैपर्छ । जसरी यहाँ गाईगोठहरु छन्, तरकारी खेती गर्न सिकाइएको छ, त्यसैले ठाउँ हेरेर, लक्षित वर्गको आवश्यकता र क्षमता हेरेर विभिन्नखाले सीपहरु सिकाइनुपर्छ । अर्को कुरा, बस्तीमा बसोबास गर्ने बालबालिकाहरुको पढाइको कुरालाई ख्याल राख्नुपर्छ । बस्ती नजिकै विद्यालय भयो भने सबै बालबालिका स्कुल जान्छन् ।

देशभरिका भूकम्पपीडितलाई तपाईंको आश्वासन के छ ?

म नेताले जस्तो कुनै आश्वासन दिन चाहन्न । यति भन्छु कि प्रजातन्त्रमा प्रत्येक मतदाता खुद्रा सरकार हुन् । त्यसैले सरकारले काम गरेन भनेर गाली गर्नु भनेको आफैंलाई पनि गाली गर्नु हो । सबै जनता मिलेको खण्डमा देश बनाउन धेरै दिन लाग्दैन । उहाँहरुले जस्तै सबैले ‘देशले मलाई के दियो होइन, देशलाई मैले के दिएँ’ भन्ने सोच राख्ने हो भने देशको समृद्धि कसैले रोक्न सक्दैन ।

(सीइओ पोखरेलले ‘धैर्यधारण’ शब्दमा पटक-पटक जोड दिए । एउटा दृष्टान्त पनि प्रस्तुत गरे, ‘मानौं राजाको अचानक मृत्यु भयो, तर उनका सन्तान छैनन् । अब तपाईं भन्नुहुन्छ भोलि नै नयाँ राजा देऊ । त्यो कसरी सम्भव हुन्छ ? कम्तिमा ९ महिना त धैर्य गर्नुपर्‍यो नि ।’)

हामीले नयाँ जुनी पायौं

श्याम पहरी, स्थानीय

Shyam-Pahariभूकम्पले घर पुरिएपछि हामी बिचल्लीमा थियौं । पालभित्र जेनतेन दिन काटिरहेका बेला उहाँहरु आउनुभो । हामीले बोलाएको पनि होइन । कसरी यहाँ आइपुग्नु भो । सायद हाम्रो पुर्पुरो बलियो रहेछ ।

सुरुमा त उहाँहरुलाई काम गर्न नदिन धेरै खेल भए । सरकारी मान्छेले नै वन मुद्दा लगाएर जेल हाल्न खोजे । तर, उहाँले हार खानु भएन । आखिरमा हामीलाई यस्तो स्वर्ग जस्तो घर बनाएरै छोड्नुभो ।

हामीलाई त जुनि फेरेजस्तो लागिरहेको छ । आफ्नै बाबुले पनि यस्तो घर बनाइदिएका थिएनन् । सरकारले पनि यस्तो घर बनाउन सक्दैनथ्यो होला, उहाँहरुले बनाइदिनुभएको छ । अचेल हामीलाई एक दिन पनि उहाँहरुको आवाज सुन्न पाएन भने न्यास्रो लाग्छ । उहाँहरुले दिनदिनै फोन गर्नुहुन्छ । नत्र हामी गर्छौ ।

उहाँहरु खटेको देख्दा हामी नै अचम्ममा पथ्यौर्ं । बिहान तीन बजे हामी स्वास्नीलाई अंगालो मारेर सुतिरहँदा उहाँहरु उठेर खन्न थालिसक्नुभएको हुन्थ्यो । हामीलाई घर मात्रै दिनुभएन धेरै कुरा सिकाउनु पनि भयो । पहिले हामी जतासुकै दिशापिशाब गथ्र्यौं । ट्वाइलेट बस्दा त दिसै आउँदैनथ्यो । हामीलाई ट्वाइलेटमा दिशा गर्न सिकाउनुभो ।

हामी एकदम सोझो जाति हौं । हाम्रो जातका मान्छेहरु नौलो मान्छेसँग बोल्नसमेत डराउँथे । भाउजू नमस्कार भन्दा भाउजू बाहिरबाट कुद्दै घरभित्र पस्थिन् । म आफैं पनि जोसुकैसित बोल्न सक्दिनथेँ । तर, अहिले अर्कै भएको छु । धेरै जनासित कुरा गर्न पाएँ । अहिले मलाई सबैले यहाँको अगुवा मान्छन् । म मैं हुँ र जस्तो लाग्छ ।

पहिला घरहरु पर-पर हुँदा गाउँलेहरुबीच सरसहयोग पनि त्यति हुँदैनथ्यो । कसैको घरमा बिरामी पर्दा मान्छे खोज्न हिँड्नुपथ्र्यो । अहिले केही पर्‍यो भने सबैजना एकैछिनमा जम्मा हुन्छन् । एउटाको बारीमा काम पर्दा १८ परिवार एकैसाथ भिड्छौं ।

भूकम्प आओस, जाओस् अचेल हामीलाई मतलव छैन । हाम्रो घर हल्लिएको पनि थाहा पाउँदैनौं । पानी परोस, हावा लागोस हामीलाई केही फरक पर्दैन । यहाँ बस्दा हामीले झिंगाको अनुहार बिर्सिन थाल्यौं । मच्छड कस्तो हुन्छ भनेर सोध्दै हिँड्नुपर्ने जस्तो भएको छ । हाम्रो यस्तो सुखसुविधा देखेर वरिपरिबाट गाउँका मान्छेहरु डाहले मरेका होलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment