Comments Add Comment

भूकम्पले थलिएको पुष्प व्यवसाय अझै माथि उठेन

Puspa-Mela-8१४ भदौ, काठमाडौं ।  गत बैशाखमा गएको भूकम्पपछि थला परेको फूल व्यवसाय अझै माथि उठ्न नसकेपछि व्यवसायीहरु चिन्तामा परेका छन् । व्यापारमा मन्दी छाउँदा दैनिक जिविकोपार्जनमै समस्या परेको उनीहरुको भनाई छ ।

भूकम्पपछि दुई महिनासम्म यो व्यवसाय ८० प्रतिशतसम्म ओरालो लागेको थियो । अझै पनि पहिलेको तुलनामा ६० प्रतिशत व्यापार प्रभावित भएको एशोसियसनका उपाध्यक्ष कसजु श्रेष्ठले बताए । ‘भूकम्पले फूल व्यवसाय धरासायी नै बनायो, बल्ल-बल्ल ४० प्रतिशत बजार फर्किएको छ,’ श्रेष्ठले भने, ‘तिहारसम्ममा बजार पूरानो अवस्थामा फर्किन्छ कि भन्ने अपेक्षा छ ।’ वर्षायाममा अन्य समय भन्दा फूलको खपत कम हुने भएपनि अघिल्ला वर्ष भन्दा यसवर्ष निकै खराब अवस्थाको सामना गर्नुपरेको एसोशियसनले जनाएको छ ।

भूकम्पपछि देशमा उत्पन्न जटिल परिस्थीतिका कारण बढी फूल खपत हुने मांगलिक कार्यहरु ठप्प जस्तै भए । अत्यावश्यक बाहेकको अवस्थामा विवाह, पूजा, व्रतबन्ध लगायतका धार्मिक कार्यहरु भएनन् । जसका कारण फूलको माग बजारमा निकै न्युन भयो । अझै पनि रमझामपूर्ण समारोह आयोजना गर्ने मानसिकतामा मानिसहरु नदेखिएकाले बजारमा फूलको माग अपेक्षित रुपमा नबढेको फ्लोरिकल्चर एशोसियसनका अध्यक्ष लोकनाथ गैरेको अनुभव छ ।

पर्यटन व्यवसायमा आएको मन्दीले पनि पुष्प व्यवसायलाई तल धकेल्यो । होटलहरुमा पर्यटकहरु शुन्य जस्तै भएपछि सजावटका लागि फूल माग नहुँदा व्यवसायमा मन्दी आएको गैरे बताउछन् ।

आयात-निर्यात ठप्प

माग घटेपछि नेपालमा फूल आयात ठप्प भएको छ । नेपाली उत्पादन नै खेर गएपछि विदेशी बजारबाट फूल किन्न नपरेको व्यवयायीले बताए ।

यसअघिका वर्षमा नेपाली बजारमा विदेशी फूल आयात नगरी माग धान्न नसकिने अवस्था थियो । तर, यसवर्ष फूल आयात गरेर ल्याउनु नपरेको एशोसियसनका उपाध्यक्ष कसजु श्रेष्ठको जानकारी दिए । गत वर्ष विदेशबाट झण्डै ४ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको फूल आयात भएको थियो । उचित वातावरण नहुँदा नेपालबाट हुने निर्यात पनि प्रभावित भएको श्रेष्ठले बताए । गतवर्ष नेपालबाट ३ करोड ५० लाख रुपैयाँ मुल्य बराबरको फूल निर्यात भएको थियो ।

नर्सरीमा तयार भएका र बिक्रिमा राखिएका फूल ओइलिएर खेर जाँदा आफ्नो व्यापार पनि ओइलाएको बताउँछन्, उपाध्यक्ष श्रेष्ठ । अहिलेको व्यवसायले खर्च पनि धान्न नसकेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment