Comments Add Comment

टीकापुरसँग जोडिएका केही प्रश्न, जो अनुत्तरित छन्

१५ भदौ, काठमाडौं । गत साता कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहितको ज्यान जाने गरी भएको हत्याकाण्डको रहस्य अझै उजागर भइसकेको छैन । सो घटनाका सम्बन्धमा अनलाइनखबरकर्मीले स्थानीयरुपमा अवलोकन गर्दा केही प्रश्नहरु अझैसम्म अनुत्तरित भेटिए :
Tikapur
१. कर्फ्यू लागेको समयमा घरेलु हातहतियारसहित तयार भएका हजारौँ संख्याका आन्दोलनकारीका बारेमा प्रशासनलाई किन खबर भएन ? जबकि स्थानीयवासी भन्छन्- घटनास्थलभन्दा केही टाढा चिलम चौराहामा त ११ बजेतिरै आन्दोलनकारी जम्मा भइसकेका थिए ।

२.आन्दोेलनकारीको भिडलाई अश्रुग्याँसले काम गरेन या रबर बुलेट सकियो भन्ने खबर त अघिदेखि नै जिल्ला प्रहरी कार्यालयलाई आइसकेको थियो, तर प्रशासनले किन नजिकै रहेको इलाका प्रहरी कार्यालयबाट थप प्रहरी खटाउन सकेन ?

घटनास्थलमा सबैभन्दा पहिला पुग्ने प्रहरी जवान आफूहरु घटना भएको २० मिनेटपछि प्रर्दशनकारीको भिडलाई हात जोरेर जान दिन आग्रह गर्दै आफुहरु घटनास्थलमा पुगेको बताउँछन् । सो घटनामा सशस्त्र प्रहरीकै जवानलाई जिउँदै जलाइरहँदा समेत सशस्त्र प्रहरीबाट फायरिङ्गको आदेश किन आएन ?

३. भोलिपल्ट पनि कर्फ्यूकै बेला नगरपालिका थारुका घर र टहरा कसरी जले ? थारु नेताहरु घर जल्दा कोही पनि घरमा थिएनन् । सेन्ट्री बसेका प्रहरीले पनि रेशमलाई र अन्य अगुवा नेताहरु देखेनन् ?

टीकापुर घटना हुनु अघिल्लो दिन आन्दोलनरत पक्षहरुले जिल्ला प्रशासन कार्यालयको परिससरभित्र लिखित सम्झौता गरेका थिए । आगामी दिनमा कुनै पनि खाले हिंसात्मक प्रर्दशन नगर्ने भनेर

सायद कुनै निकायले यी प्रश्नको उत्तर खोज्दै होला, तर अपराध आन्दोलनकारीले गरेका छन् र यहाँ चरम लापरवाही प्रशासनको पनि देखिन्छ । प्रत्यक्षदर्शी भन्छन् आन्दोलनकारी त्यसरी नै घरेलु हात हतियार बोकेर आए, जसरी केही दिनअघि टीकापुरको आमसभामा काँग्रेस नेता अमरेशकुमार सिंह लगायत नेताहरुले ल्याउन सुझाएका थिए ।

टीकापुर काण्ड हुनु ३ दिनअघि नजिकै रहेको तोरैयापुरमा अखण्ड पक्ष र थरुहट पक्षको झडप भएपछि भदौ ४ गते देखि नै प्रशासनले सो ठाउँमा कर्फ्यू लगाएर निषेधाज्ञा जारी गरेको थियो । त्यही बेलादेखि नै एसएसपी न्यौपाने अञ्चल प्रहरी कार्यालयबाट टीकापुर क्षेत्रमा खटाइए ।

भदौ ४ गते सात प्रदेशको खाका तयार भएपछि अखण्ड सुदूरपश्चिम पक्षधरले भदौ ५ गते टीकापुरमा गर्ने भनेर पूर्वघोषणा गरेको आमसभाको कार्यक्रम स्थगित भयो । सोही दिन अर्थात प्रमुख राजनीतिक दलहरुको बैठकबाट विजयकुमार गच्छदार समेत बाहिरिए ।

यता कैलालीलाई कर्णालीबाट अलग बनाएर सुदुरपश्चिमको पुरानै खाका बनेपछि थरुहट पक्षधरको आक्रोस अझै बढ्यो । केन्द्रबाट माग सम्बोधन हुने नदेखेपछि उनीहरुले जिल्लामा रहेका सरकारी कार्यालयहरुमा थरुहटको बोर्ड झुण्ड्याउने निर्णय गरेका थिए ।

६ गते धनगढीमा भएको सम्झौता
६ गते धनगढीमा भएको सम्झौता

तर, टीकापुर घटना हुनु अघिल्लो दिन भदौ ६ गते जिल्लाभित्र आन्दोलनरत पक्षहरुले जिल्ला प्रशासन कार्यालयको परिससरभित्र लिखित सम्झौता गरेका थिए । आगामी दिनमा कुनै पनि खाले हिंसात्मक प्रर्दशन नगर्ने भनेर ।

घटनास्थलमा त्यो दिन खटाइएका एसएसपीका अंगरक्षक मानबहादुर बुढा मगरले पनि त्यो सम्झौता भएको भनेर एसएसपीले हात जोरेर शान्त भइदिन आन्दोलनकारीलाई आग्रह गरेको बताएका छन् । तर, उनीहरुले एसएसपीको कुरै सुनेनन् । हुन सक्छ, प्रशासन सोही सम्झौताले ढुक्क थियो आक्रमण हुँदैन भनेर । त्यसैले लौरो बोकाएर प्रहरीलाई ड्यूटीमा खटाइयो ।

स्थानीय एक महिला भन्छिन् – आन्दोलनकारीले ट्वाइलेटमा राखिएको बाल्टिनसमेत लिएर गए । अश्रुग्याँस छोड्दा पनि रुमाल भिजाएर भिड्दै थिए । प्रशासनले अश्रुग्याँस छोड्दा उनीहरु मट्यांग्रा छोड्थे । अन्त्यमा प्रहरीलाई लखेट्न थाले ।

एसएसपीलाई लखेट्दा भाँचिएका मकैका बोट
एसएसपीलाई लखेट्दा भाँचिएका मकैका बोट

घटनास्थलभन्दा केही पर भाँचिएका मकैका बोटले नै आन्दोलनकारीको समूह निकै ठूलो रहेको खुलाउँछ । आन्दोलनकारीहरु एसएसपीको पद जान्दथे । एक प्रत्यक्षदर्शी महिलाका अनुसार आक्रमणकारीले एसएसपीलाई मारेपछि उनको बर्दिमा रहेको फुली निकालेर नचाएको बताएकी छिन् । उनी भन्छिन्- त्यत्रो भिड थियो, नमार भनेर कसैले पनि भनेन ।

टीकापुरमा एसएसपीलगायतको प्रहरी समुहलाई आन्दोलनकारीको समुहले लखेटिरहँदा उता धनगढीमा जिल्ला प्रशासन कार्यालय अगाडि पनि थरुहटको प्रर्दशन जारी थियो । त्यसैबेला जिल्ला प्रशासनको कार्यालयभित्र डीआइजी र प्रमुख जिल्ला अधिकारीहरुको सुरक्षा समितिको बैठक बसिरहेेथ्यो । टीकापुरमै रहेका पूर्वराज्यमन्त्री चन्द्रसिंह भट्टराई आफुले सो घटना घटिरहँदा सोबारेमा जानकारी दिन सिडियोलाई फोन गर्दा सिडियो मिटिङमा ब्यस्त रहेको भन्ने जानकारी पाएको बताउँछन् ।

त्यो बैठक कस्तो थियो, जसकारण सिडियोले पूर्वराज्यमन्त्रीको फोनलाई रेस्पोन्स गर्न भ्याएनन् । घम्साघम्सी धेरैबेर भयो । चाहेको भए बचाउँथ्यो, प्रशासनले प्रहरीलाई । यी यावत् प्रश्नहरुको उत्तर खोजिएमा सजिलो छ, टीकापुर घटनामा एसएसपीको हत्या गर्नेहरु को थिए, सजिलै पत्ता लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment