Comments Add Comment

गाईजात्रामा चम्किए शिवहरी, खस्किए दीपकराज

ghai jatra Shiva hari१५ भदौ, काठमाडौं । गाईजात्रा सकिए पनि मुलधारका हास्यकलाकारको गाईजात्रा महोत्सव कमलादीमा जारी छ । हतारको तयारीले गर्दा विगत वर्षहरुको तुलनामा खस्केको तिते-जिरे-मेरीबास्सै गाईजात्रा महोत्सवमा यसपटक हास्यकलाकारहरु भूकम्पमा केन्दि्रत भएका छन् ।

सँधै राजनीतिक विषयकै वरिपरी घुम्ने हास्यकलाकारहरुलाई यसपाली भुकम्पले नयाँ विषय दिएको हो । यद्यपि यसलाई पूर्ण सदुपयोग गर्न उनीहरु चुकेको महसुस हुन्छ । गाईजात्राका लागि सबैभन्दा बलियो खुराक हुनसक्ने हरी पराजूलीको रोपाईं प्रकरणमाथि पनि उनीहरुले खासै चोटिलो व्यंग्य गर्न सकेका छैनन् ।

यमन श्रेष्ठको फितलो प्यारोडीबाट सुरु हुने गाईजात्रा तितोसत्य युनिटको कमजोर प्रहसनमा पुगेर टुंगिन्छ । यद्यपि यी दुईबीच केहि गहकिला प्रस्तुतिहरुले महोत्सवको इज्जत जोगाउने काम गरेका छन् । शैलेन्द्र सिंखडाको व्यंग्य कविता, शिवहरी पौडेलको पालभित्रको सुताईसम्वन्धी प्रहसन, मनोज गजुरेलको लालबाबु पण्डित अवतार तथा माग्नेबुढा र तक्मेबुढाको प्रहसनले दर्शकलाई मनोरञ्जन गराउन सफल छन् । बाँकी प्रस्तुतिहरुले भने निराश पार्छन् ।

ghai jatra 2072(18)

शैलेन्द्रको कविता, गीता र रमिता

हरेक वर्षको गाईजात्रामा शैलेन्द्र सिम्खडाको प्रस्तुति जोडदार हुने गर्छ । गाईजात्राबाहेक अन्यत्र खासै नदेखिने यी हस्ति विशेषगरी महिला लक्षित सामाजिक व्यंग्यका निम्ति कहलिएका छन् । यसपालि उनले केही फरक प्रयोग पनि गरेका छन् । कविता, गीता र रमिता गरी तीन भागमा बाँडिएको प्रस्तुतिमा ‘गीता’ सबैभन्दा बेजोड छ । सैलेन्द्रको प्रदर्शनका केही अंशः

हरी पराजुलीमाथि 

परस्त्री चुम्बनम् मन्त्री, असारम् धान रोपनम्
म एउटा कृष्णले पार्थ, ककसको लाज छोपनम् ?

नायिकाका अंगप्रदर्शनमाथि

गायिका-नायिका सारा छर्लंङ्ग वस्त्र धारणम्
कटक्क मन काटिन्छ हे कृष्ण किम कारणम् ?

कृष्णले जवाफ दिन्छन्

छोटा वस्त्र खुला अंग दृष्टिभंग हो अर्जुन

कलीमा मोक्षको मार्ग एउटै मात्र छ चुम्बन

राजनीतिक दल र नेताहरुमाथि

कांग्रेसम् पतनम् वृद्ध, एमाले पतनम् भुत

बाबुराम पतनम् पत्नी, प्रचण्डम् पतनम् सुत

सामाजिक विसंगति

आमाले सिकाइन् जो, छोराले आखिर त्यही गर्छ

स्तनपान गरेर हुर्काएको छोराले ठूलो भएर बाबुआमा पाल्छ, पैसा कमाउँछ

बोतलपान गरेर हुर्काएको छोराले ठूलो भएपछि पनि बोतल नै समाउँछ

भुँडी चिरेर जन्माएको छोराले सुबाटो देखेकै हुँदैन, कुबाटोमै रमाउँछ

पालभित्रको काउकुती

यस वर्षको गाईजात्रा महोत्सवमा शिवहरी पौडेलले बाजी मारेका छन् । भुकम्पमा पालभित्रको सुताइलाई लिएर बनाइएको प्रहसनले दर्शकमा अनवरत हाँसो सिर्जना गर्छ ।

ghai jatra 2072(32)

सो प्रस्तुतिको एक अंश :

एउटा भुस्तिघ्रेले हात चलाको चलाई चलाको चलाई गरेर सुत्नै दिएन भन्याः श्रीमतीले श्रीमान्सित भन्छिन् ।

त्यति गर्दा खेरी मलाई किन उठाइनस त ?  :  श्रीमान्को प्रश्न ।

म त तिम्रै हात होला भन्ठानेर चुपो लागेर बसेकी नी : श्रीमतीको जवाफ
धन्न तिघ्रा चढाउने बानी चैं रैन छ त्यसको : श्रीमान्

कहाँ नहुनु नि । तिघ्रा चढाउँदा त तिमी होइन भनेर थाहा पाएकी :  श्रीमती
अनि के गरिस् त ? : श्रीमान्

मैले के गर्नु र । जे गर्नु उसैले गरिगो नि : श्रीमती

सोही प्रहसनमा नेपाली नागरिकता लिएर बसेका विदेशी नागरिकको विषयमा कडा व्यंग्य गरिएको छ । नेपाली नागरिकता लिएका विदेशी पालभित्र जबरजस्ती घुस्न आउँदा त्यहाँ सुतिरहेका नेपालीहरु विस्थापित हुनुपरेको दृष्य यसमा छ ।

मनोजको लालबाबु अवतार

नेताहरुको नक्कल गरेर दर्शक हसाउँदै आएका मनोज गजुरेलले यसपाली लालबाबु पण्डितलाई रोजेका छन् । आश्चर्यजनक रुपमा उनले लालबाबुको हुलिया र आवाजलाई दुरुस्त उतारेका छन् । उनको प्रस्तुतमा ‘पन्चलाइन’ हरुको भने कमि खट्किन्छ । लालबाबु पण्डितलाई साइकल चढेको देखाएर उनले अत्यधिक ‘ग्लोरिफाइ’ गर्न खोजेका छन् ।

manoj lalbabu

लालबाबुलाई सोधिन्छ, ‘तपाईं आफ्नै क्याबिनेटमा भएका पिआर र डिभिवालालाई कारवाही गर्न नसक्ने अनि, सानासाना माछालाई समाएर फुर्ति गर्ने ?

लालबाबु जवाफ दिन्छन्, ‘त्यो चाहिँ के छ भने माछा समाउन र मार्नलाई म लालबाबु माझी होइन । म त पण्डित हुँ । पण्डितको काम के हो भने दानबद्धो बलि राजा महाचिन्ते, प्रधानमन्त्रीकै पीए पीआरवाली रहिछन् कारवाही गर्न किन दिन्थे ?

मनोजकै अर्को प्रस्तुति बिधाता सम्मेलन’ उनको स्तरअनुसार कमजोर छ । उनले पहिले गरिसकेका अभ्यास यसमा धेरै दोहोर्‍याएका छन् । अघिल्ला गाईजात्राहरुमा प्रस्तोताको भूमिका पनि निर्वाह गर्दै आएका मनोजले यसपाली सो जिम्मेवारी राजा राजेन्द्रलाई हस्तान्तरण गरेका छन् । स्ट्याण्डअप कमेडीमा जम्न खोजिरहेका राजेन्द्र मौकामा चौका हान्न चुकेको देखिन्छ । उनले सुनाएको लामो भाकाको लोकदोहोरीले भने दर्शकको मन जित्ने छ ।

माग्नेबुढालाई हुलियाले धोका

केदार घिमिरे माग्नेबुढा र विल्सनविक्रम राई तक्मेबुढा को प्रहसन रोचक छ । तर माग्नेबुढा र तक्मेबुढाकै परम्परागत भेषमा देखिएर ठूलो ब्लन्डर गरेका छन् । टेलिभिजनमा नै अघाउञ्जेल हेरिसकेको हुलिया गाईजात्रामा पनि दोहोरिदा दर्शक ‘मोनोटोनस’ हुने खतरा देखिन्छ । विषयवस्तु नौलो भएर पनि प्रस्तुतिमा नयाँपन दिन सकेका छैनन् उनीहरुले । अचम्मको दुलो शीर्षकको उनीहरुको प्रहसनमा हास्य मात्रै छ, व्यंग्य छैन ।

magne buda


चिप्लिए दीपकराज

समकालीन हास्यकलाकारको समूहमा सबैभन्दा सिनियर मानिन्छन् दीपकराज गिरी । उनको प्रहसनलाई सबैभन्दा महत्व दिएर कार्यक्रमको अन्तिम प्रस्तुति बनाइएको छ । तर उनको ‘धरहरा’ शिर्षकको प्रहसन फितलो भईदिँदा दर्शक खल्लो मन लिएर निस्कन बाध्य हुन्छन् ।

केही पुराना चुट्किला र द्वीअर्थि संवादमा निर्भर प्रहसनमा भीमसेन थापालाई प्रमुख पात्र बनाइएको छ । यद्यपि भीमसेन जस्तो ऐतिहासिक पात्रलाई प्रहसनमा उडन्ते पाराले प्रस्तुत गरिएको छ । कुनै सन्दर्भबिनै रेखा थापा बनेर दीपाश्री निरौला प्रवेश गरेपछि प्रहसन पूर्णरुपमा दिशाहीन बन्यो ।

अन्य प्रस्तुतिहरुमध्ये टीका भण्डारीको प्यारोडीले दर्शक बोर गर्ने काम मात्र गरेको छ भने जिरे खुर्सानी समूहकै राजाराम पौडेल र शिवहरी बैरागीको प्रस्तुति पनि खासै जम्न सकेको छैन । बीचमा घुसाइएका दुईवटा नृत्यले दर्शकलाई कुनै मनोरञ्जन प्रदान गर्दैन ।

ghai jatra 2072(16)

संघीयतामाथि कटाक्ष

विगतदेखि नै नेपालमा संघीयता हुनुहुन्न भन्ने लाइनमा उभिने गरेका हास्यकलाकारहरुले यस गाईजात्रामा पनि संघीयतामाथि प्रहार गर्न कुनै कसर छाडेका छैनन् । प्रायः सबैको प्रस्तुतिमा कुनै न कुनैरुपले संघीयताको विरोध गरिएको छ । संघीयताको विषयमा मधेसी नेताहरुको भूमिकालाई लिए उनीहरुले कठोर प्रहार गरेका छन् । तीतोसत्यका दीपकराज गिरी, जिरे खुर्सानीका शिवहरी पौडेल, जिरे खुर्सानीकै राजाराम पौडेल लगायतको प्रस्तुतिले संघीयताको धज्जी उडाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment