Comments Add Comment

अनलाइन पत्रिकामाथि प्रहरी निगरानी

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीले टेलिकमलाई चिठी लेखेर केही अनलाइन पत्रिकाहरु बन्द गर्ने अभियान चलाएको छ । प्रहरीको चिठीका आधारमा काठमाडौंटुडे र टुडेखबर अनलाइन बन्द गरिएको छ । फिल्मीखबर लगायतका केही ब्लगहरु पनि प्रहरीले बन्द गराएको छ ।

‘हामीले कैलालीको भीडन्तमा थारुहरु पनि मारिएका छन् भन्ने समाचार लेखेपछि प्रहरीले टेलीकमलाई पत्र लेखेर बन्द गरेको हो,’ काठमाडौं टुडेका सम्पादक दयानिधि भट्टले अनलाइनखबरसँग भने,’समाचारमा चित्त नबुझे प्रेस काउन्सिल जानुपर्नेमा प्रहरीले मिडिया नै बन्द गराउनु आपत्तिजनक कार्य हो ।’

प्रहरीको आइटी शाखाका हिरण्यप्रसाद बास्तकोटीले टेलिकमलाई लेखेको पत्रका आधारमा अनलाइनहरु बन्द गरिएका हुन् । ती अनलाइनसँगै फिल्मीखबर लगायतका केही ब्लगहरु पनि प्रहरीले बन्द गराएको छ ।

उता मधेस आन्दोलनको पक्षमा समाचार लेख्ने अनलाइनहरुमाथि पनि सरकारले हस्तक्षेप गरेको मधेसी समुदायका पत्रकारको गुनासो छ । ‘प्रहरीले बन्द गराएका केही अनलाइनलाई हामीले प्रेस काउन्सिलमा सूचीकरण गराएका छौं’ मधेसवाणीका सम्पादक राजेश अहिराजले अनलाइनखबरसँग भने-‘काउन्सिलमा दर्ता गरेपछि केही अनलाइनलाई खुल्ला गरिएका छन् ।’

प्रेस काउन्सिलको आपत्ति

यसैवीच प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले मंगलबार टेलिकमका हाकिमलाई फोन गरेर अनलाइनपत्रिका ब्लक गरिएकोमा आपत्ति जनाएका छन् ।

अनलाइनलाई नियमन गर्ने निकाय प्रहरी र टेलिकम नभएर प्रेस काउन्सिलमात्रै भएको कार्कीले बताएका छन् ।

महासंघले छानविन समिति बनायो

यसैवीच डिजिटल मिडियाअन्तरगत अनलाइन न्युज पोर्टल र ब्लकको श्रेणी छुट्याउन नेपाल पत्रकार महासंघले मंगलबार तीन सदस्यीय समिति गठन गरेको छ । रोशन पुरीको संयोजकत्वमा गठित समितिमा मोहनसिंह लामा र अनलाइन पत्रकार एसोसिएसनका प्रवेश सुवेदी रहेका छन् ।

महासंघद्वारा गठित समितिले कुन-कुन ब्लग हुन् र कुन-कुन अनलाइन न्युज पोर्टल हुन् भनेर वर्गीकरण गर्ने बताइएको छ ।

यसैवीच नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी अनलाइनमाथि सरकारले आस्थाका आधारमा विभेद गरेको भन्दै आपत्ति जनाएको छ ।

(भूल सुधार- यसअघि एभरेष्ट अनलाइनलार्इ पनि प्रहरीले बन्द गराएकाे भन्ने समाचार भुलवस सम्प्रेषण भएकाेमा सच्याइएकाे छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment