Comments Add Comment

‘मस्यौदा राम्ररी पढ्नोस्, संविधानसभामा आउनोस्’

१५ भदौ, काठमाडौं । शान्ति प्रक्रिया र विभिन्न वार्ता प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका एमाले उपाध्यक्ष भीम रावलले अबको पाँच दिनको समय समस्या समाधानका लागि पर्याप्त भएको बताएका छन् ।

bhim-rawalअहिलेको राजनीतिक समस्यालाई कसरी हल गर्न सकिएला भन्ने अनलाइनखबरको प्रश्नमा एमाले नेता रावलले भने- ‘संविधानसभाबाटै निकास दिन्छौं भनेर जनतासँग वाचा गरेर हामी यहाँसम्म आएका हौं, त्यसैले उहाँहरु संविधानसभामा आउनुपर्छ र यहीँबाट निकास निकाल्नुपर्छ, संविधानसभा छाडेर हिँडिदिन भएन ।’

आन्दोलनकारी मधेसवादी मोर्चाका नेताहरुले विगतमा भएको आठ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने शर्त राखेका छन् नि भन्ने प्रश्नमा रावलले अनलाइनखबरसँग भने-‘उहाँहरुले मस्यौदा राम्रोसँग पढ्नुपर्‍यो, त्यहाँ समानुपातिक पनि लेखेकै छ, समावेशी पनि छ । एक नम्बर, दुई नम्बर सबै प्रदेशहरु स्वायत्त हुन्, त्यहाँ अलग्गै कार्यपालिका हुन्छ, व्यवस्थापिका हुन्छ, ती सबै स्वायत्त नै त हुन् ।’

अहिले संविधानसभामा प्रस्तुत भएको विधेयक मस्यौदामाथि संशोधनको प्रक्रियामार्फत् नै मधेसी मोर्चाको माग सम्बोधन गर्दा के हुन्छ भन्ने प्रश्नमा रावलले अनलाइनखबरसँग भने- ‘यसका लागि त उहाँहरु संविधानसभामा आउनुपर्‍यो नि । उहाँहरुले चाहेको के हो, त्यो त संविधानसभामा राख्न सकिन्छ । छलफल गर्न सकिन्छ ।’

सबै दलहरुले संविधानसभाको चुनावका बेला संविधानसभाबाटै संविधान दिने वचनवद्धता जनाएको बताउँदै रावलले भने- ‘एकपटक हामी सबैले यसलाई स्मरण गर्न जरुरी छ कि हामीले संविधानसभाबाटै संविधान दिने जनतालाई वचन दिएका छौं, सहमति भए सहमतिबाट, नभए प्रक्रियाबाटै भए पनि संविधान दिन्छौं भनेका छौं, यो कुरालाई एकपटक स्मरण गरौं ।’

‘राज्य चुप लागेर बस्दैन’

आन्दोलनकारीमाथि राज्यले दमन गरेको र गोली हानेको आरोप छ नि भन्ने अनलाइनखबरको अर्को प्रश्नमा पूर्वगृहमन्त्रीसमेत रहेका सत्तारुढ नेता रावलले भने-‘अराजकता फैलाउने, सरकारी कार्यालयमा आगजनी एवं तोडफोड गर्ने, सार्वजनिक सम्पति नष्ट गर्ने कार्यहरु भइरहँदा राज्य टुलुटुलु हेरेर बस्न मिल्छ ? उसोभए राज्य केका लागि चाहियो ? राज्य भनेकै सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि हैन र ?’

आन्दोलनकारीहरुले शान्तिपूर्ण आन्दोलनका नाममा सरकारी सम्पत्ति नष्ट गर्ने र अराजकता मच्चाउने कार्य गरिरहेको रावलले बताए ।

वार्ताको वातावरण बनाउने हो भने जनतालाई भोकभोकै राख्ने गरी बन्द र हडताल गरेर दुख दिन नहुने रावलले बताए । ‘लोकतन्त्र ल्याउँछु भन्नेहरुले वार्ताको वातावरण बनाउने हो भने  जनतालाई भोकभोकै रहने अवस्थामा पुर्‍याउन भएन, यो अराजकता र हडताल रोक्नुपर्‍यो,’ एमाले नेता रावलले अनलाइनखबरसँग भने,’सरकार वार्ताका लागि एकदम सम्वेदनशील छ, यही भएर त प्रधानमन्त्रीले दुई-दुईपटक चिठी पठाइसक्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment