Comments Add Comment

टीकापुरमा प्रहरी हवल्दार जनकको मृत्युले सन्ततिको विजोग

१५ भदौ, भीमदत्तनगर । घरको आर्थिक अवस्था नाजुक देखेर कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका-६ कसरौलका नरमादेवी नेगीलाई उनका माइती पक्षले भीमदत्तनगरपालिकाको बागफाँटामा आश्रय दिएका थिए ।

फाइल तस्वीर
फाइल तस्वीर

गरिबीसित जुध्दै १३ वर्षसम्म माइतीले दिएको एक कठ्ठा जमिनमा घर बनाएर तीन छोरी र दुई छोराको पालनपोषणमा जुटेकी नरमादेवीका आगामी दिनहरु भने थप कष्टकर बन्ने निश्चित छ । गत सोमबार टीकापुर आक्रमणमा घाइते भई उपचारका क्रममा मृत्यु भएका प्रहरी हवल्दार जनक नेगीकी श्रीमती हुन् नरमादेवी नेगी ।

कसरौलमा दुई कठ्ठा जमिनमात्रै भएका मृतक जनकका परिवारलाई उनको निधनले स्तब्ध मात्रै बनाएको छैन, घरपरिवारको जोहो कसरी गर्ने भन्ने पिरलो सुरु भइसकेको छ । ‘पाँच नाति/नातिनालाई माइतमा राखेर पढाएकै थियो,’ मृतक प्रहरी हवल्दार जनकका बुबा वीरसिंह नेगीले रुँदै भने, ‘अब उसका -जनकका) बालबच्चाहरु कसरी हुर्काउँ ।’

श्रीमानको मृत्युको खबरले अर्धचेत अवस्थामै रहेकी नरमादेवीलाई पीडा बिर्सन सकस भइरहेको छ । टीकापुर आक्रमणबाट छोरालाई पनि घाइते बनाएको टीकापुरमा रहेका गाउँकै प्रहरीहरुबाट थाहा पाएको वीरसिंह नेगीले बताए । ‘मेरो छोरो घटना हुनुभन्दा ३/४ दिनअघि मात्रै टीकापुर काजमा गएको हो,’ उनले भने, ‘घरको जेठो छोरा गुमाउँदा परिवारकै शिर ढलेर दुःख थामिनसक्नु छ ।’

‘सहादत पाउनेको भन्दा पनि अब बच्चाहरुको बिजोग हुने भयो,’ मृतकका काका राजबहादुर नेगीले भने, ‘बच्चाहरुलाई पढाउन पनि मुस्किल पर्ने स्थिति बन्यो ।’

अवस्था दयनीय देखेरै मृतक जनकका ससुरालीले १३ वर्षअघि बागफाँटामा एक कठ्ठा जग्गा दिएर बसोबासको प्रबन्ध मिलाइदिएको उनले जानकारी दिए । ‘जागिरको कमाइ कहिले माइतमा बसेका बच्चाहरु र श्रीमतीलाई दिन्थ्यो,’ उनले भने, ‘र कहिलेकाहीँ घरमा बुबाआमालाई पनि घर खर्च पठाएकै हुन्थ्यो ।’

जनकको मृत्युको खबरले घरपरिवारलाई भेट्न आउने जो कोही स्थानीयवासी मृतकका छोराछोरीको अवस्था देखेर भावुक हुने गरेका छन् । ‘जेठी नातिनी १५ वर्षकी र अन्तिम पाँचौं नाति १४ महिनाको मात्रै भएको छ,’ वीरसिंह नेगीले भने, ‘कान्छो नातिबाहेक चारवटा नाति/नातिना ५, ६ र ८ कक्षामा पढ्छन् ।’

भरोसा निमोठियो

उनले आर्थिक अवस्था निकै कमजोर भएकाले मृतक छोराका छोराछोरीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइदिन आग्रहसमेत गरे । ‘हाम्रो भरोसालाई नै आन्दोलनकारीले निमोठिदिए,’ उनले भने, ‘मेरा अबोध नातिले बुबा चिन्नसमेत पाएनन् ।’ वीरसिंहका कान्छा छोरा उमेश नेगी रोजगारीको सिलसिलामा एक वर्षअघि मलेसिया गएका छन् ।

भदौ ७ गते घटना भएको केहीबेरमै सञ्चारमाध्यममा छोरा घाइते भएको खबर पाएको उनले बताए । ‘छोरालाई सोही दिन उपचारका लागि नेपालगन्ज लगिएको रहेछ,’ उनले भने, ‘८ गते थप उपचारका लागि काठमाडौं लगेपछि मात्रै हाम्रो छोरासित सम्पर्क भयो ।’

घटना भएको अर्को दिन ८ गते मृतक नेगीसँगै उनकै गाउँका प्रहरी रामदत्त जोशी पनि घाइते भएका थिए । ‘काठमाडौं अस्पतालमा फोन नम्बर पत्ता लगाउँदै जाँदा गाउँकै रामदत्तसित सम्पर्क भएको थियो,’ मृतक प्रहरी हवल्दार नेगीका काका राजबहादुर नेगीले भने, ‘रामदत्त भाइकै मोबाइलबाट उपचारका क्रममा रहेका जनकले घरमा बुबा, माइतमा श्रीमती, भैरहवामा रहेका काका/काकी र मलेसियामा रहेका भाइ उमेशसित कुरा गरेका थिए ।’

‘सबैसित छातीमा समान्य चोट लागेको छ, चिन्ता नगर्नु भनेर राम्रैसित कुरा गरेको थियो,’ राजबहादुरले भने, ‘उसको स्वर सामान्य रहेकाले हामी पनि उपचारबाट ठीक भइहाल्ला भन्नेमा थियौं ।’

मृत्युको खबर सुन्दा

‘अझ श्रीमतीले टेलिफोन सम्पर्क गर्दा कहाँबाट सम्पर्क नम्बर पत्ता लगाइस् भनेर सोधेका पनि थिए,’ उनले भने, ‘भैरहवामा रहेका काकीलाई काठमाडौं नजिक पर्ने भएकाले आफूकहाँ आउन आग्रहसमेत गरेको थियो । सोही दिन राति २ बजे उसले संसारबाट विदा लिइसकेको रहेछ ।’

नेगीले थपे, ‘म बिहानै पाँच बजे उठेर भतिजाको हालखबर बुझ्न खोज्दा घर आँगनमा प्रहरी आइपुगे, उनीहरुले जनकको मृत्युको खबर सुनाए,’ उनले भने, ‘पूरै परिवार छाँगाबाट खसेझैं भयौं ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment