Comments Add Comment

जन्मदिनको खर्च अपांगता भएका व्यक्तिलाई

अनिल खत्री
१६ भदौ, तम्घास । गुल्मीका एक कार्यालय प्रमुखले आफ्नो सन्तानको जन्मदिनको अवसरमा खर्च हुने रकम पहिलोपटक अपांगताको क्षेत्रमा सहयोग गरेर उदाहरणीय काम गरेका छन् । जिल्ला वन कार्यालय गुल्मीका प्रमुख विशाल घिमिरेले आफ्नो एक वर्षीय छोरा अवि घिमिरेको जन्मदिनको अवसरमा अपांगताको क्षेत्रमा काम गर्दै आएको आशा अपांग केन्द्रलाई दश हजार रुपैयाँ उपलव्ध गराएर सहयोग गरेका हुन् ।

Bishal-Ghimire-&-Aasha-Apan
आशा अपांग केन्द्रमा छोराको जन्मदिन मनाउँदै जिल्ला वन कार्यालय गुल्मीका प्रमुख विशाल घिमिरे लगायत ।

आशा अपांग केन्द्रले जिल्लामा अपांगताको क्षेत्रमा गरेको कामबाट प्रभावित भएर जन्मदिन सोही संस्थामा पुगेर मनाए घिमिरे परिवारले । ‘संस्थाले गरेको कामको प्रगति सुनेर मलाई पनि एकपटक संस्थामा जाने रहर जागेको थियो, संयोगले छोराको जन्मदिन पर्‍यो । साथीहरुलाई बोलाएर बस्दा पनि त केही खर्च त भइहाल्छ नै, त्यसैले त्यही खर्चलाई कटौती मात्र गरेको हुँ,’ जिल्ला वन कार्यालय गुल्मीका प्रमुख घिमिरेले सुनाए ।

घिमिरेकी श्रीमती अञ्जुले अपांगता भएका व्यक्तिहरुसँगै बसेर छोराको पहिलो जन्मदिन मनाउन पाएकोमा निकै खुसी भएको बताइन् । आफ्नो छोरा पनि यस्तै सामाजिक कार्यमा लागोस् भन्ने उनले ईच्छा व्यक्त गरिन् । ‘मेरो छोरा पनि सानैदेखि यस्तै सामाजिक क्षेत्रमा लागोस्,’ उनले भनिन् ।

अपांगहरुलाई दया र माया देखाएर मात्र हैन अवसर प्रदान गर्न सकेमा मात्र उनीहरुको वास्तविक न्याय हुने अपांगताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी गंगा रायमाझीले बताइन् । उनले जिल्ला वन कार्यालयका प्रमुखले गरेको सहयोग आफूहरुका लागि नौलो र सबैका लागि उदाहरणीय भएको रायमाझीले बताइन् ।

उनले भनिन्, ‘यसैगरी सबैले अपांगताको समस्या बुझ्दै जाने हो भने सहयोग गर्ने हातहरुको संख्या कमी हुँदैन, हाम्रो र संस्थाको लागि पनि यो नौलो कामको शुरुवात हो ।’

आशा अपांग केन्द्रले जिल्लामा विगत आठ वर्षदेखि अपांगताको क्षेत्रमा मात्र काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment