Comments Add Comment

पार्टी कार्यालय जलाउन आउनेलाई ‘सम्झाएर’ पठाउन ओलीको निर्देशन

Kp-oli-At-Press-Meet

१६ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्ना मधेसी, जनजाति, मुस्लिम, थारु लगायत सबै सामुदायिक संगठन तथा अन्य भातृ संगठनहरुलाई आन्दोलन चलिरहेका ठाउँहरुमा तत्काल जनपरिचालन गर्न निर्देशन दिएको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधवार आयोजित जातीय तथा अन्य भातृ संगठनका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले तुरुन्तै आ-आफ्नो संगठनको योजना बनाएर मैदानमा जान निर्देशन दिए ।

कार्यालय जलाउन आउनेलाई शुरुमा सम्झाई बुझाई गर्नुस, मानेनन् भने ‘सम्झाएर’ पठाउनुस्

अध्यक्ष ओलीले भने-जिल्लामा पार्टी कार्यालयमा आगजनी भएको छ, नेता सभासदका घरमा आक्रमण भइरहेको छ, हाम्रा जिल्ला पार्टी र जनवर्गीय संगठनहरु चुपचाप बस्न मिल्छ ? तुरुन्त बैठक राख्नुस्, रित पुर्‍याउन पर्दैन, सिधै एक्सनमा जाने हो ।’

ओलीले दुई चार जना हुल्याहा आएर जिल्ला कार्यालयमा आगजनी हुँदा कार्यकर्ताहरु हेरेर बसेको भन्दै असन्तुष्टि जनाए । ‘हाम्रा भातृ संगठनहरु दूध दिने भैंसी होइनन्, चाहिएको बेला अभियान चलाउने जुझारु संगठन हुन्’ ओलीले भने -‘कार्यालय जलाउन आउनेलाई शुरुमा सम्झाई बुझाई गर्नुस, मानेनन् भने ‘सम्झाएर’ पठाउनुस् ।’

ओलीले सम्झाएर पठाउनुस् भन्नुको अर्थ खुलाएनन् । तर, त्यसको अर्थ पार्टी कार्यालय र एमाले नेता सभासदका घर तोडफोड गर्न आउनेलाई ठेगान लगाएर पठाउनु भन्ने रहेको युवा संघका मधेश व्यूरो प्रमुख सन्जिव झाले बताए ।

अध्यक्ष ओलीले एमालेको नीति भिडन्त गर्ने नरहे पनि सामाजिक सद्भाव र शान्ति तथा अमन चयनका लागि र्‍यालीहरु निकाल्नुपर्ने बताए । ओलीले भने-‘आन्दोलनमा जनता छैनन्, दुई चार सय मान्छेले आन्दोलन गरे भन्दैमा सबै समुदायका जनता त्यसमा छन् भन्न मिल्दैन ।’

उनले वार्ताबाट आन्दोलनको माग सम्बोधन गर्न आफूहरु तयार रहेको समेत बताए । ‘सीमांकनमा नमिलेका कुरा पछि संघीय आयोगका सिफारिस अनुसार हेरफेर गर्न सकिन्छ, अहिले नै पनि कतिपय कुरा मिलाउन सकिन्छ’-ओलीले भने ।

ओलीले जातीय, भाषिक र क्षेत्रीय रुपमा पछि परेको समुदायलाई सकारात्मक विभेदको सिद्धान्त अनुसार निश्चित समय विशेष आरक्षण दिन एमाले तयार रहेको बताए । तर, जनताका भावना भन्दै केही समूहले नियोजित रुपमा आन्दोलनका नाममा हिंसा भड्काएर संविधान जारी हुन नदिने चलखेल गरेको ओलीले बताए ।

भारत, अमेरिका, चीन जस्ता मुलुकले नेपालमा चाँडो संविान आवस भन्ने बाहेक कुनै पनि अप्ठेरो नहालेको समेत ओलीले दावी गरे । ‘भारत चीन जस्ता ठूला देशमा विभिन्न खालका मान्छे हुन्छन्, कुनै व्यक्तिले केही भन्यो भन्दैमा त्यहि देशको धारणा भन्ने हुँदैन’-ओलीले भने ।

भेलामा बरिष्ठ नेता माधव नेपालले तराईका विभिन्न जिल्लामा एमालेका कार्यालय र सभासदहरुको घरमा आक्रमण तथा आगजनी गर्नेहरुको पहिचान गरी राख्न कार्यकर्तालाई निर्देशन दिए । नेपालले एमालेका कुनै पनि कार्यकर्ताले जातीय, धार्मिक, क्षेत्रीय वा अन्य भड्कावमा लागेमा पार्टीले तत्काल रोक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment