Comments Add Comment

निजगढ-हेटौंडा-भरतपुर रेल्वेको अध्ययन गर्न ८ करोड लाग्ने

१७ भदौ, काठमाडौं । पूर्वपश्चिम रेलमार्ग अन्तरगत निजगढ-हेटौंडा-भरतपुर रेल्वे खण्डको सम्भाव्यता अध्ययन सुरु भएको छ । रेल विभागले उक्त खण्डको सम्भाव्यता अध्ययनका लागि काम सुरु भएको जानकारी दिएको छ ।
rel-ganda
दक्षिण कोरियाको युसिन इन्जिनियरिङ कम्पनीले सम्भाव्यता अध्ययनको काम एक हप्ताअघिदेखि सुरु गरेको हो । तर, तराईको लगातारको बन्द कारण अध्ययनको काम प्रभावित भएको रेल विभागका महानिर्देशक राजेश्वरमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

नेपालको पूर्वदेखि पश्चिमसम्म दु्रत गतिको रेल सेवाको विकास गर्ने उद्देश्यका साथ सुरु भएको परियोजना अन्तरगत बाराको निजगढबाट मकवानपुरको हेटौंडा हुँदै चितवनको भरतपुरसम्म पुग्ने रेलको ट्रयाकसहित स्टेशन र अन्य रेलका पूर्वाधार राख्ने स्थानको पहिचान गर्न लागिएको हो ।

यो खण्डमा पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्ज जस्ता महत्वपूर्ण एवं संवेदनशील वनक्षेत्र रहेकाले विभिन्न विकल्पमा आधारित भएर अध्ययन हुने श्रेष्ठले जानकारी दिए ।

यसअघि निकुञ्ज तथा आरक्षहरुले संरक्षित वन्यजन्तु असुरक्षित हुने भन्दै कुनै पूर्वाधार विकास गर्दा विकल्पहरु प्रयोग गर्न आग्रह गरिएका छन् ।

विभागका अनुसार निजगढदेखि भरतपुरसम्मको रल्वे ट्रयाकको अध्ययन गर्नमात्रै आठ करोड रुपैयाँ खर्च हुनेछ ।

निजगढ-हैटौंडा-भरतपुर रेल्वे खण्ड झण्डै १ सय ७५ किलोमिटरको हुने अनुमान छ ।

यसैबीच बर्दिबास-निजगढ रेल्वे खण्डको ३० किलोमिटर क्षेत्रमा रेल्वे ट्रयाक बिछ्याउने लगायत भौतिक पूर्वाधार विकासको काम भइरहेको छ ।

वन क्षेत्रमा परेका ट्रयाकमा वातावरणीय मूल्याङ्कनको समस्याले अप्ठेरो परेको महानिर्देशक श्रेष्ठले बताए । तर, वन मन्त्रालयसँगको समन्वयमा समस्या समाधान हुन लागेकाले रोकिएका क्षेत्रका काम पनि सुरु हुने उनले दाबी गरे ।

अहिले सर्लाहीको रानीगञ्ज क्षेत्रमा रेल्वे बनाउने काम चलिरहेको विभागले जनाएको छ । जनकपुरदेखि बर्दिबाससम्मको रेल्वे ट्रयाक निर्माणको काम पनि चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment