Comments Add Comment

टीकापुरदेखि बिराटनगरसम्म : कतै दाउरा सकिए, कतै रिचार्ज कार्ड

१७ भदौ, काठमाडौं । प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएपछि बिभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यू जारी छ । लामो समयदेखिको कर्फ्यू र निषेधाज्ञाले जनजीवन कष्टकर बनेको छ । खाद्यान्न र पेट्रोलियम पदार्थको अभाव चर्किएको छ । ब्यापार व्यवसाय चौपट भएको छ । स्थानीयमा त्रास त छँदै छ दैनिकी पनि कष्टकटर बनेको छ ।

Madhesh Strike in Nepal

टीकापुरमा कर्फ्यू कडा

एसएसपीसहित ९ जनाको ज्यान गएको टीकापुरमा कर्फ्यू कडा पारिएको छ । बुधबार विहान ७ बजेदेखि ११ बजेसम्म चार घण्टा कर्फ्यू हटाइएको थियो । तर, विहीबार बिहान भने ७ बजेदेखि १० बजेसम्म तीनघण्टा मात्रै कर्फ्यू हटाइएको छ । १० बजेपछि पुनः कर्फ्यू जारी गरिएको छ ।

सर्वसाधारणलाई किनमेल गर्न सहज होस् भनेर तीन घण्टा कर्फ्यू खुला गरिएको इलाका प्रशासन कार्यालय टीकापुरले जनाएको छ । कर्फ्यू हटेपछि टीकापुर बजारमा किनेमेल गर्नेहरुको चहलपहल बढेको छ । तर, बजारमा खाद्यान्न, इन्धन, रिचार्ज कार्ड लगायतका सामानको अभाव छ ।

कैलाली सदरमुकाम धनगढीमा भने विहीबार मध्यान्ह १२ बजेदेखि अपरान्ह चार बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।Tikapur-Kailali

कपिलवस्तुमा भन्सार ठप्प, शिक्षक पनि आन्दोलित

कपिलबस्तु जिल्लामा बन्दको पूर्ण प्रभाव परेको छ । २२ दिनदेखिको बन्दले जनजीवन कष्टकर बनेको छ । कपिलबस्तुका मुख्य बजारहरु कृष्णनगर, तौलिहवा, बहादुरगञ्ज, चन्द्रौटा, महाराजगञ्ज, चार नम्बर, गोरुसिंगे पूर्णरुपमा ठप्प छन् । कृष्णनगर भन्सार र मर्यादपुर भन्सार नाका पनि २२ दिनदेखि बन्द हुँदा दैनिक झण्डै ३५ लाख रुपैयाँ बराबरको राजश्व घाटा लागिरहेको छ ।

प्रदेशको सीमांकन गर्दा मधेसलाई उपेक्षा गरिएको भन्दै मधेसी मोर्चाले सुरु गरेको आन्दोलनमा जिल्लाका शिक्षकहरुले पनि ऐक्यबद्धता जनाएका छन् । शिक्षण संस्थाहरु बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका छन् । उनीहरुको भविष्य अन्यौलमा परेको छ ।

Motercycle-rally-at-Kapilba

शिक्षक संघर्ष समितिले विहीबार कृष्णनगरदेखि चन्द्रौटासम्म मोटरसाइकल र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीहरुले ‘मधेसका माग पूरा गर’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु खण्डमा यातायातका साधनलाई सुरक्षाकर्मीले स्कर्टिङ गरेर गन्तव्यसम्म पुर्‍याउने गरेको छ । पूर्वी सीमाना ४ नम्बरदेखि पश्चिममा दाङको धानखोलासम्म स्कर्टिङ गरेर लामो दुरीका गाडीहरुलाई गन्तव्यमा पठाउने गरिएको कपिलवस्तुबाट पत्रकार सनिउल्लाह धोबीले जानकारी दिए ।

भैरहवामा निषेधित क्षेत्र बढ्यो

Butwal-Bhairaha-Sadak-4

रुपन्देहीको भैरहवामा आन्दोलनकारीको पकड छ । तर, बुटवलमा पनि खासै प्रभाव छैन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल खण्ड र बजार क्षेत्रमा बन्दको खासै प्रभाव छैन । भैरहवामा भने निषेधाज्ञा कायमै छ । जिल्लाको सुरक्षा स्थिति विश्लेषण गरी स्थानीय प्रशासनले भैरहवामा निषेधाज्ञाको क्षेत्र बढाएको छ । मधेसी मोर्चाले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुँदा हुँदै पनि निषेधाज्ञाको क्षेत्र बढाइएको भन्दै विरोध जनाएको छ ।

मोर्चाले विहीबार दिउँसो लुम्विनी क्षेत्रको महजिविया भन्ने ठाउँमा विरोध सभा आयोजना गर्दै छ । सभालाई सदभावना अध्यक्ष राजेन्द्र महतोले सम्वोधन गर्ने कार्यक्रम छ ।

नवलपरासीमा स्थानीय प्रशासनले बुधबारदेखि २० गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

मृतकका परिवारले शव बुझेनन्

birganj-Jhadap

पर्साको वीरगञ्जमा भने कर्फ्यू जारी छ । प्रहरीको गोलीबाट चार आन्दोलनकारीको ज्यान गएपछि गत सोमबार दिउँसो ४ बजेबाट कर्फ्यू लगाइएको थियो । स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्रसमेत घोषणा गरेको थियो । कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणासँगै वीरगञ्ज विहीबार पनि सुनसान छ ।

मधेसी मोर्चाले लामो समयदेखि जारी राखेको बन्द, स्थानीय प्रशासनले लगाएको कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणाले स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

सोमबार मृत्यु भएकाहरुको शव परिवारका सदस्यहरुले बुझ्न नमानेपछि नारायणी उपक्षेत्रीय अस्पतालमै राखिएको छ । मृतकका परिवारले मृतकलाई शहीद घोषणा र उचित क्षतिपूर्ती नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

कलैयामा कर्फ्यू हटाइयो

बाराको सदरमुकाम कलैयामा भने बुधबार राती ८ बजेबाट लगाएको कर्फ्यू विहीबार बिहान ८ बजेबाट हटाएको छ । मंगलबार कलैयामा एक आन्दोलनकारीको मृत्यु भएको थियो भने ३० जना भन्दा धेरै घाइते भएका थिए । बुधबार पनि मधेसी मोर्चाका नेता-कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि स्थानीय प्रशासनले राति ८ बजेबाट कर्फ्यू लगाएको थियो ।

विहीबार विहानबाट कर्फ्यू हटाइए पनि अवस्था हेरेर कुनै पनि बेला फेरि पनि कर्फ्यू जारी गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

रौतहट बीसौं दिन पनि ठप्प

Rautahat-Banda

रौतहट विहीबार बीसौं दिन पनि ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ । गौरमा औषधि पसल, पान र चिया पसल मात्रै खुलेका छन् । बजार र यातायात ठप्प छ । खाद्यान्न, इन्धन लगायत अत्यावश्यक सामानको अभाव हुन थालेको छ भने तरकारीको मूल्य आकाशिएको छ । ग्यास, पेट्रोल, डिजल, मटि्टतेल बजारमा पाउन छाडेको छ । दाउरा पनि छैन ।

चन्द्रनिगाहपुरबाट गौरमा दाउरा आउने गर्दथ्यो । तर, मधेसी मोर्चाको बन्दका कारण चन्द्रनिगाहपुर-गौर सडकखण्ड अबरुद्ध भएपछि सदरमुकाममा दाउराको आपूर्ति बन्द छ । जसका कारण खाना पकाएर खान नपाउने स्थिति सिर्जना भएको छ ।

पहिले एक किलो प्याजलाई ८० रुपैयाँ पर्ने गरेकोमा लामो समयदेखिको बन्दले १४० रुपैयाँ पुगेको छ । परबलको मूल्य पनि झण्डै एक सय रुपैयाँ पुगेको छ ।

रौतहटको गौर विहीबार विहान शान्त छ । मोर्चाको आन्दोलनका कारण गौरमा एक जनाको ज्यान गैसकेको छ । स्थानीय प्रशासनले रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जनकपुरमा निषेधाज्ञा जारी, प्रदर्शन पनि रोकिएन

Janakpur-aandolan

धनुषाको जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले विहानैदेखि विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले टायर बालेर शिवचोक, भानुचोक, मुरलीचोक, रामानन्द चोक, कदम चोक, जिरो माइल लगायतका स्थानमा प्रदर्शन गरीरहेका छन् ।

अहिले छुट्टा छुट्टै स्थानमा विरोध प्रदर्शन भैरहे पनि दिउँसो दुई बजेदेखि संयुक्तरुपमा जुलुस निकाल्ने मधेसी मोर्चाका नेताहरुले बताएका छन् । यसअघि मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले जनकपुर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण जनकपुरको जनजीवन पनि कष्टकर बनेको छ ।

बिराटनगर शान्त, तर बन्द

Biratnagar-Banda

मोरङको बिराटनगर अन्य जिल्लाको तुलनामा शान्तिपूर्ण छ । आन्दोलनमा अपि्रय घटना पनि भएको छैन । विहीबार विहान यातायातका साधन सहजरुपमा सञ्चालनमा आएका छन् । दुई पाङ्ग्रे सवारी साधनलाई समेत आवागमनमा यसअघि अवरोध गर्दै आएका बन्दकर्ताहरुले आज भने सहज रुपमा चल्न दिएका छन् । बन्दकर्ताहरु मुख्य चोकहरुमा उपस्थिति कम भएसँगै सवारी साधान अन्य दिनको तुलनामा अलि बढी चलेका हुन् ।

यसअघि बन्दकर्ताले मुख्य रोडमा टायर बालेर प्रदर्शन गरेपछि शनी मन्दिरदेखि दक्षिणका क्षेत्रमा दुई पाङ्ग्रे सवारी साधनसमेत निर्वाध रुपमा सचालनमा आउन सक्दैनथे ।

बुधबार साँझ प्रदर्शनकारी र प्रहरीबीच विराटनगरको महाविर चोकमा झडप भएको थियो । विहीबार विहानसम्म सो क्षेत्रमा बन्दकर्ताहरुको उपस्थिति प्रायः शून्य देखिएको छ ।

गएको साउन २२ गतेदेखि विराटनगर बन्द हुदै आएपछि जनजीवन भने प्रभावित भएको छ । सवारी साधन सञ्चालनमा केही सहज भएपनि मुख्य चोकका बजार कलकारखाना शैक्षिक संस्था भने अझैसम्म खुल्न सकेका छैनन् ।

निरन्तरको बन्दका कारण सामान आयात नहुँदा विराटनगरमा खाद्यान्नलगायतका सामानको अभाव हुन थालेको छ । खाद्यान्नको मूल्य अहिले दोब्बर भएको छ । हरियो सब्जी, आलु, टमाटर, प्याज लगायतको मूल्य स्थानीय बजारमा साविकको भन्दा दुई गुणाले बढेको छ ।

मोहत्तरीमा बिहीबार बिहान आन्दोलन शान्तिपूर्ण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment