Comments Add Comment

आर्थिक गतिविधिले गति लिने एडिबीको विश्वास

१७ भदौ, काठमाडौं  । पुनर्निर्माण प्राधिकरण गठनबाट उत्साहित भएको एसियाली विकास बैंक (एडिबी)ले बजेट कार्यान्वयन दृढताका साथ भएमा आर्थिक गतिविधिले गति लिने विश्वास व्यक्त गरेको छ ।

नेपालको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त बैंकका यहाँस्थित देशीय निर्देशक केनिची योकोयामाले भूकम्पपछिको पुनर्निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउन अपरिहार्य भएको बताए ।

पुनर्निर्माणका कामले गति लिनेबित्तिकै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुने विश्वास व्यक्त गर्दै उनले नेपालको विकासका चुनौती, अर्थतन्त्रको प्रवद्र्धन, कृषि उत्पादकत्व वृद्धि र अर्थतन्त्रको रुपान्तरणमा योगदान पुग्ने बताए ।

‘सेवा क्षेत्र, कृषि उद्यम प्रवद्र्धन, उच्च प्रतिफल दिने उत्पादनको विकासबाटै भूकम्पले तहसनहस पारेको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्छ’ – उनले भने ।

विकास खर्च बढाउन तथा संस्थागत अवरोध हटाउन बजेट वक्तव्यमार्फत सरकारले बजेट कार्यान्वयन वर्ष घोषणा, बहुवर्षीय ठेक्का प्रणाली, जग्गा अधिग्रहण, अन्तर सरकारी निकायबीचको समन्वयजस्ता सुधारका विविध कार्यक्रम ल्याएको र त्यसले सरकारी खर्च वृद्धि गर्ने आशा उनले व्यक्त गरे ।

ऊर्जा, कृषि, यातायात, स्थानीय पूर्वाधार, शिक्षाजस्ता विकासका आधारभूत क्षेत्रलाई बैंकले उच्च प्राथमिकता दिएका र तिनमा नै केन्द्रित रहेर काम गरिरहेको जानकारी दिँदै उहाँले पुनर्निर्माण र विकासका कामलाई सँगसँगै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

‘परिवर्तन र विकास एकैरातमा पूरा हुने विषय होइनन्, त्यस दिशामा प्रयास जारी राख्नैपर्छ’ उनले भने । भूकम्पबाट पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै उनले नेपालको पर्यटनलाई पुरानै अवस्थामा फर्काएन ‘नेपाल सुरक्षित छ, ढुक्क भएर भ्रमण गरौँ’ प्रवद्र्धनात्मक अभियानलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने विचार व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment