Comments Add Comment

अफगानिस्तानलाई हराउन कम्तिमा दुई वर्ष लाग्छ : टमाटा

U-19 cricket 1

१८ भदौ, काठमाडौं । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले अरु टीमलाई जसरी सहजै हरायो, अफगानिस्तानसँग नेपाल त्यसरी नै निरिह देखियो ।

पहिलो खेलमा यूएईलाई १४९ रनले हराएको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग १० विकेट पराजित भयो । त्यसपछि मलेसियालाई ८ विकेट र कुवेतलाई ८३ रनले हराएको नेपालले अन्तिम खेलमा साउदी अरेबियामाथि ९ विकेटको शानदार जित हात पार्‍यो ।

नेपाल गत वर्ष पनि अफगानिस्तानसँग ५ विकेटले पराजित भएको थियो । र, त्यही कारण यो पटक जस्तै उपविजेतामा सिमित भएको थियो ।

किन नेपाल आफगानिस्तानसँग निरिह बन्यो ? शुक्रबार उपविजेताको ट्रफीसहित काठमाडौं आइपुगेको नेपाली टोलीका प्रशिक्षक जगत टमाटा भन्छन्-‘हामीभन्दा अफगानिस्तान राम्रो छ । ६०/४० को अवस्था जस्तो मलाई लाग्यो ।’

Jagat Tamata

उनका अनुसार २०० रन बनाउने रणनीति थियो । तर, सुरुवातमा नेपालको ब्याटिङ चलेन । प्रशिक्षक टमाटा अघि भन्छन्-त्यसका घरेलु संरचनाको विकास जरुरी छ । घरेलु लिग, राष्ट्रिय प्रतियोगिता र खेलाडीहरुलाई एक्स्पोजर चाहिन्छ । उनीहरु (अफगान)को एउटा स्ट्याडर्ड छ, त्यसलाई बिट गर्न पुग्न कम्तिमा दुई वर्ष लाग्छ ।’

जुनियर मात्र होइन, सिनियर टीमले पनि बंगलादेशमा भएको विश्वकपपछि अफगानिस्तानलाई हराउन सकेको छैन । उसो भए अफगानिस्तानलाई हराउन नसकिने नै हो ?

सिनियर टोलीका समेत प्रशिक्षक रहिसकेका टमाटा भन्छन्-‘हामीलाई यू-१९ र सिनियर दुबैमा त्यसमै ब्रेक लागेको छ । त्यहाँ कस्तो लाग्यो भने म्याच एक्पोजरको जरुरी छ । ८ महिना क्रिकेट खेल्ने वातावरण भयो भने हामी अफगानिस्तानलाई जुन लेभलमा पनि हराउन सक्छौं ।’

विश्वकप छनोटको राम्रो तयारी

एसीसी प्रिमियर लिगलाई आसन्न यू-१९ विश्वकप छनोटको तयारीका रुपमा समेत हेरिएको छ । एक महिनापछि मलेसियामै विश्वकप छनोट खेल्नेछ, यो नेपाली क्रिकेट र यू-१९ का लागि एउटा ठूलो चुनौती हो ।

प्रशिक्षक टमाटा भन्छन्-‘केटाहरुले उनीहरुको क्षमता अनुसार खेलेको छ । तर, विश्वकप छनोटको लेभल यति ठूलो छ कि धेरै मेहनत गर्नुपर्छ ।’

U-19 cricket

विश्वकप छनोटको तयारीका लागि अब नेपाली टोलीसँग एक महिना मात्र समय छ । यो विचमा यू-१९ को राष्ट्रिय प्रतियोगिता हुने सम्भावना निकै कम देखिन्छ ।

त्यस्तोमा टीमलाई विदेशमा लगेर भएपनि ‘पोलिसिङ’ गर्नु पर्ने टमाटा बताउँँछन् । ‘नयाँ केटाहरु पाए राम्रो । नभए यीनीरुलाई नै पोलिसिङ गर्नुपर्छ’ उनले भने-‘भारत वा बंगलादेशमा गएर पोलिसिङ गर्नुपर्छ । तबमात्र राम्रो खेल्न सक्छौं ।’

समस्या ओपनिङ ब्याट्सम्यानकै

यू-१९ टीमको समस्या पनि सिनियर टीमको जस्तै ओपनिङ ब्याट्सम्यान हो । यो पटक टमाटाले टीममा चार वटा ओपनर लिएर गएको थिए । तर, कुनै पनि खेलाडीमा कन्सिस्टेन्सी देखिएन ।

‘त्यो एक्जोजर नभएर हो’ उनी भन्छन्-यू-१९ का केटाहरुले वर्षमा कति बटा खेल खेल्छन् । ६ वटा । सिनियरको पनि एउटा नेशनल हुन्छ । ६/७ बटा खेल खेल्ने हो । अब त्यो भन्दा म्याच छैन । अनि कहाँबाट प्रदर्शन हुन्छ ?’ त्यसैले उनको सुझाव छ, घरेलु क्रिकेट संरचना सुधारौं र लिग सुरु गरौं ।

के भन्छन् कप्तान ?

नेपालले एसीसी यू-१९ प्रिमियर खेल्दा पछिल्लो दुई संस्करण खेल्दा राजु रिजाल कप्तान थिए । राजुले हालै मलेसियामा भएको च्यारिटी म्याचमा विश्व ११ सँग खेल्ने मौका पाए ।

उनी पनि प्रशिक्षक टमाटा जस्तै आफूहरुलाई एक्जोजर र म्याच चाहिएको बताउँछन् । उनी भन्छन्, ब्याट्सम्यानहरुले धेरै खेल खेल्न पाओस् र बलरहरुले पनि राम्रो ब्याट्सम्यानहरुलाई बल फाल्न पाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment