Comments Add Comment

बन्दको असर : महोत्तरीका अस्पतालमा अक्सिजन र औषधि अभाव

१८ भदौ, महोत्तरी । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको आमहडतालका कारण महोत्तरीका अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । विगत २१ दिनदेखिको आमहडतालका कारण अस्पतालमा स्टकमा राखेकोे ग्यासका सिलिन्डर सकिएपछि उपचारमा समस्या भएको हो ।

Oxygen-Cylindersअक्सिजनको सिलिन्डर एम्बुलेन्समा समेत राख्नुपर्ने भएको हुँदा अन्त पठाउनुपर्ने अवस्थाका बिरामीलाई बाहिर पठाउँदा झन ठूलो समस्या हुने जनस्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले जानकारी दिए ।

आवश्यक पर्ने औषधि तथा अक्सिजनको अभावमा आन्दोलनका क्रममा गम्भीर घाइते भएर आउनेहरूलाई समेत उपचारमा समस्या उत्पन्न हुने निश्चित भएको जनस्वास्थ्य निरीक्षक झाको भनाइ छ । जिल्लामा औषधिको अभाव रहेको र बाहिरबाट आवश्यक औषधिसमेत आउन छाडेपछि बिरामी थप मर्कामा परेका जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै बन्दको शुक्रबार २१ औँ दिन पनि जिल्लाको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शनकारीहरुले ठाउँ-ठाउँमा टायर बाली प्रदर्शन गरेका छन् । जिल्लाका बजार, पसल पनि बन्द रहेका छन् । जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरूपमा ठप्प रहेको छ भने हाटबजार, कलकारखाना, उद्योग धन्दा, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् ।

बन्दको सबभन्दा ठूलो मारमा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मजदुर परेका छन् । उनीहरूले कति दिनदेखि पेटभरि खान नपाएको गुनासोसमेत गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment