Comments Add Comment

तीनजुरेको चिया तेस्रो मुलुकमा बिक्री

१८ भदौ, इलाम । अर्गानिक चिया उत्पादन गरिरहेको तीनजुरे चिया सहकारी संस्थाका चिया तेस्रो मुलुक निर्यात भएको छ ।

विभिन्न देशका चियासँग सम्बन्धित उद्योगी तथा व्यापारीहरूले कारखानामै पुगेर चियाको गुणस्तर मापन गरेपछि पाँच हजार किलोग्राम तयारी चिया निर्यात भएको हो ।

Tea-Baganअमेरिका, जर्मनी, फ्रान्स, अर्जेन्टिना, जापान र छिमेकी मुलुक भारतमा अर्गानिक चिया निर्यात गर्ने अवसर आएको सहकारी संस्थाले जनाएको छ ।

चिया खरिद गर्नुअघि गत चैत २७ गते अमेरिका, अर्जेन्टिना र जापानको मल्टिकम्प्लेक्स कम्पनीबाट आएका प्रतिनिधिहरुले चियाको गुणस्तरीयता मापन गरिएको थियो ।

परीक्षणका क्रममा चिया गुणस्तरीय रहेको र यसलाई पूर्ण अर्गानिक बनाउँदै लगेको खण्डमा यहाँको चियाको भविष्य विश्व बजारमा राम्रो रहेको उनीहरूले बताएको कारखानाका नवीन कोइरालाले बताए ।

पूर्ण अर्गानिक चिया उत्पादन भए यहाँको चिया तेस्रो मुलुकमा महँगो मूल्यमा बेचिदिने चिया परीक्षणमा आएका विदेशी चिया व्यापारीले आश्वासन दिएका छन् ।

अर्गानिक चिया उत्पादन गरिरहेको यस कारखानामा फाकफोक, एकतप्पा र चमैताका गरी २०९ जना किसानले दैनिक आठ÷नौ सय किलोग्राम हरियोपत्ति प्रशोधनका लागि ल्याइरहेका छन् । कारखानाबाट ब्लुम टी, गोल्डेन टी, स्पेसल ग्रिन टी (एक पात एक सुइरो), वाइट टी, एल्लो टी, पलग्रिनलगायत विभिन्न प्रकारका उच्च कोटीका चिया उत्पादन हुँदै आएको छ ।

गएको वर्षमात्रै पाँच हजार किलोग्राम चिया जापान, जर्मनी, अमेरिका, अर्जेन्टिनामा प्रतिकिलो रु छ हजारसम्म बिक्री गरेको चिया प्राविधिज्ञसमेत रहनुभएका कोइरालाले जानकारी गराउनुभयो ।

अघिल्लो वर्ष तेस्रो मुलुकबाट आएका व्यापारीले आमबोटे अर्गानिक चिया प्रशोधन उद्योग जीतपुर, ब्रदर्श अर्थाेडक्स चिया मङ्गलबारे–४, तीनजुरे चिया सहकारी प्रशोधन कारखाना फाकफोक–६ र पाँचथरको पाथीभरा टी स्टेटबाट उत्पादित अर्गानिक चियाको परीक्षण गरेका थिए ।

अमेरिकी व्यापारीहरूले यहाँको चिया सोझै लगेर बिक्री गर्नेभन्दा पनि वेबसाइटमा राखेर बिक्रीका लागि प्रचारप्रसार गर्ने गर्छन् ।

यस अतिरिक्त सूर्याेदय नगरपालिकाको फिक्कलमा रहेको गोर्खा टिस्टेट र साँखेजुङको हिमालयन साङ्ग्रिला चिया कारखानाबाट उत्पादित उच्च कोटीको अर्गानिक चिया पनि जर्मनीमा बिक्री भइरहेको थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment