Comments Add Comment

सीमांकनको खाकाप्रति असन्तुष्टसँग विदेशी कूटनीतिज्ञ भेटमा सक्रिय

१९ भदौ, काठमाडौं । संघीय प्रदेशको सीमांकन खाकाप्रति असन्तुष्ट व्यक्त गर्दै मधेसमा आन्दोलन चर्किरहेका बेला नेपालस्थित विदेशी कूटनीतिज्ञ असन्तुष्ट समूहसँगको भेटघाटमा व्यस्त छन्।

यसबीचमा संविधानसभामा सहभागी नरहेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले कैलालीमा भएको हिंसात्मक घटनापछि विकसित राजनीतिक परिस्थितिबारे काठमाडौंस्थित विदेशी कूटनीतिज्ञलाई शुक्रबार ‘ब्रिफिङ’ गरेको छ। माओवादी उपाध्यक्ष सीपी गजुरेलले शुक्रबार र्‍याडिसन होटलमा एक बैठक आयोजना गरी प्रमुख दलका कारण मुलुक चरम संकटमा फसेको विदेशी कूटनीतिज्ञसमक्ष बताएका हुन्।

‘अहिले देश गम्भीर संकटको भुमरीमा फसेका कारण तत्काल समाधान नखोजे यसको प्रभाव धेरै पछिसम्म पर्नेछ भन्नेबारे हामीले उहाँहरूलाई आफ्ना कुरा अवगत गरायौं’, गजुरेलले कार्यक्रमपछि भने। आफूले प्रमुख दलहरू संविधान जारी गर्न पनि नसक्ने र पछि पनि हट्न नसक्ने अवस्थामा रहेको जानकारी कूटनीतिज्ञलाई गराएको गजुरेलले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

संविधानसभाले राजनीतिक निकास दिन नसक्ने हुँदा सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत संविधान निर्माणका लागि अघि बढ्नुपर्ने हाम्रो पार्टीको धारणा छ’, कूटनीतिज्ञहरूसँग गजुरेलले भने। विगत दुई वर्षलाई फर्केर हेर्दा संविधानसभाले निकास दिन नसक्ने पुष्टि भएको उनले बताएका थिए।

गजुरेलले प्रमुख तीन दलबीच हस्ताक्षरित १६ बुँदे सम्झौता पछि देशमा नयाँ संकट उत्पन्न भएको बताएका थिए। ‘थारूहरूको मागलाई बेवास्ता गरेर जान खोज्दा कैलालीमा दुर्भाग्यपूर्ण रूपमा घटना भयो। तीन सातादेखि तराईमा हिंसा र आमहडताल जारी छ।

प्रहरी र प्रदर्शनकारीबीच झडप कायमै छ’, गजुरेलले भनेका थिए। कार्यक्रममा नेताहरू नारायण शर्मा, विष्णुहरि नेपाल र महेश्वर दाहाल पनि सहभागी थिए।

सो अवसरमा चिनियाँ राजदूत वु चुन्ताईले नेपालको समस्या नेपालकै दलहरूले नै हल गर्नेमा चीन विश्वस्त रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment