Comments Add Comment

सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने

१९ भदौ, काठमाडौं । चौतर्फी दबाबपछि विवादास्पद सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) सेवा दिने जुनसुकै चिकित्सक, कर्मचारी र स्वास्थ्य संस्थामाथि कारबाही गर्न सरकार तयार भएको छ।
men with baby
कानुनी मान्यता नपाउँदै उपत्यकासहित विभिन्न जिल्लाका निजी अस्पताल, नर्सिङ होम र क्लिनिकले सरोगेसी सेवा सञ्चालनमा ल्याएर नेपाली महिलाको ज्यान धरापमा पार्न खोजेको भन्दै उक्त सेवा रोक्न सरकारलाई दबाब दिइएको थियो। सञ्चारमाध्यम, महिला अधिकारकर्मी, चिकित्सक, समाजसेवी, कानुन व्यवसायीलगायतले नेपालमा सरोगेसी सेवा सञ्चालनमै ल्याउन नहुने भन्दै अवैधानिक रूपमा उक्त सेवा सञ्चालन गर्नेलाई सरकारसमक्ष कारबाही माग गर्दै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत कतिपय अस्पतालले त्यस्तो सेवा दिइरहेको भेट्टाएपछि कारबाही गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयको दुरुपयोग गरी गैरकानुनी रूपमा केही अस्पताल र स्वास्थ्य संस्थाहरूले सरोगेसी सेवा दिइरहेको भन्ने सूचना आएकाले उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै उक्त सेवा सञ्चालनमा नल्याउन निर्देशन दिएको र अटेर गरी सरकारको निर्देशन नमान्नेलाई कडा कारबाही गर्ने निर्णयमा मन्त्रालय पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीका अनुसार सरकारको निर्देशन अटेर गरी आगामी दिनमा सरोगेसी सेवा सञ्चालन गर्ने जुनसुकै अस्पताल, नर्सिङ होम र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment