Comments Add Comment

आफ्नै गीत सुनेर धुरुधुरु रुन्छु : अन्जु पन्त

नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् । अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी । व्यक्तिगत जीवन जति उतारचढावयुक्त भए पनि सांगीतिक करिअरमा भने अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । गायिका पन्तसँग संगीतका विविध आयामहरुमा केन्दि्रत रहेर गरिएको कुराकानी :

Anju-panta

तपाईंका निम्ति संगीत के हो ?

संगीत औषधि हो । औषधि मात्रै पनि के भन्नु, जीवन हो । संगीतले बनस्पतिहरुलाई जीवन दिन्छ भन्छन् नी । मलाई पनि जीवन दिएको छ संगीतले ।

कस्ता गीत सुन्न रुचाउँनुहुन्छ ?

जस्ता पनि सुन्छु । विशेषगरी गजल र सुगम संगीत पि्रय लाग्छन् । लोकगीत पनि मन पर्छ । भाषाको कुरा गर्नुहुन्छ भने, नेपाली, पश्चिमी, तमिल, हिन्दी सुन्छु । हरेक गीत प्यासनले सुन्छु ।

तपाईंले सबैभन्दा धेरै सुनेको गीत कुन होला त ?

माइतीघर फिल्मको ‘नमान लाज यसरी’ । अरुण थापाको ‘आँखाको निँद चोरी लाने’ । हिन्दीमा साजन फिल्मको ‘मेरा दिल भि कितना पागल है..’ यस्तै यस्तै हुन् ।

जीवनमा सबैभन्दा पहिले सुनेको गीत याद छ ?

तारादेवीले गाएको ‘सोँचेजस्तो हुन्न जीवन’ र अरुणा लामाको ‘पोहोर साल खुशी फाट्यो’ । दुवै गीत ‘आगो’ छन् ।

अत्याधिक मन पर्ने गीत ?

प्रेमध्वज प्रधानले गाएको ‘देउरालीमा बतास चल्यो’ । यो गीत सुन्दाखेरी किन हो मेरो मनमा पनि बतास चल्छ । अर्को छ, डेजी बराइलीको ‘एउटा खुल्ला किताब हुँ’ बोलको गीत । यो पनि मलाई ‘ब्लास्ट’ लाग्छ ।

तपाईंलाई मन नपरेको तर सुपरहिट गीत ?

नेपाली त के भन्नु र, नभनौं होला । बरु अहिले हिन्दी फिल्ममा हुन्छन् नी ताल न बेतालका गीत । तर त्यस्तै गीत हिट छन् ।

कस्तो बेला/कुन समयमा गीत सुन्न मन पराउनुहुन्छ ?

पाए त जतिबेला पनि सुन्थेँ, फुर्सद पो हुँदैन । पहिले-पहिले राती सुत्दा गजल नसुनी निदै्र लाग्दैनथ्यो । अहिले त बिहानदेखि रातिसम्म बिजीका बिजी । कहिले ओछ्यानमा लडौं जस्तो हुन्छ । घर बसेको बेला त म गाउँ नै थर्किने गरी म्युजिक बजाइदिन्छु । म घरमा छु भन्ने कुरा छरछिमेकीले गीतको आवाजबाटै थाहा पाउँछन् । ताल परे बुरुक-बुरुक उफ्रेर नाच्छु पनि ।

दुःखमा गीत सुन्न मजा हुन्छ कि पीडामा ?

दुवैमा । तर पीडामा त सिटामोल नै खाएजस्तो हुन्छ ।

लामो यात्रामा जाँदा पनि पक्कै संगीत सुन्नुहुन्छ होला ?

लामो यात्रामा जाँदा गीत भएन भने त मरिहालेँ नी । म त बाटैबाट फर्के पनि हुन्छ । टाढा हिँडेको बेला गीत सुन्न यति मजा लाग्छ, यति मजा लाग्छ, । के भन्नुँ ?

anju pant sahara sajh hk ph by bikaram grg (1)गीत प्रायः केमा सुन्नुहुन्छ ?

घर बस्दा आइप्याडलाई स्पिकरमा जोडेर सुन्छु । बाहिर हुँदा मोबाइलमा ।

मोबाइलमा कतिवटा गीतको संग्रह छ ?

खोइ कति छ, गनेकी नै पो छैन ।

तपाईंलाई मनपर्ने गायक/गायिका/संगीतकार/गीतकार ?

गायिकामा डेजी बराइली । उहाँको एउटा खुल्ला किताब बोलको गीत त ब्लास्ट नै छ । अनि, गायकमा माइल्ड भ्वाइस भएको प्रेमध्वज प्रधान । गीतकारमा कृष्णहरी बराल । उहाँका गीत अलि पृथक टाइपका हुन्छन् । सुरेश अधिकारी, अर्जुन पोखरेलका गीत पनि ब्लास्टै लाग्छन् । संगीतकारमा रन्जित गजमेरकी फ्यान हुँ । उहाँको संगीत जति राम्रो छ, मान्छे पनि उस्तै सहृदयी हुनुहुन्छ । उहाँजस्तो विनम्रता भएको मान्छे मैले अर्को देखेको छैन ।

आफ्नै स्वर तपाईँलाई कस्तो लाग्छ ?

एउटी गायिका भएर सुनेँ भने के नपुगेको-नपुगेको जस्तो लाग्छ । तर एउटा श्रोताको रुपमा फिल गरेर सुनेँ भने त ब्लास्टै लाग्छ । म वास्तवमा आफ्नै स्वर सुनेर हुरुक्क हुन्छु । शब्दलाई यस्तो न्याय गर्ने गायिका अर्को को होला जस्तो लाग्छ ।

गीत सुनेर रुनुभएको छ ?

कति रुन्छु कति । म त आफ्नै गीत सुनेर धेरैचोटी धुरुधुरु रोएकी छु । राजनराज शिवाकोटीले संगीत दिनुभएको ‘जीन्दगी यो फूलै फूलको थुँगा’ बोलको गीत सुनेर म अति नै रोएँ । सुरुमा रेकर्ड गर्दा खासै केहि लागेको थिएन । तर जब घरमा लगेर सुनेँ, मन थाम्नै सकिनँ । तपाईं पत्याउनुहुन्छ, मैले लगातार ४० पटक यो गीत सुनेँ ।

अरु पनि थुप्रै गीतमा रोएकी छु । लीलु गुरुङको शब्द र बीबी अनुरागीको संगीतमा रहेको गीत सोह्रै आना गल्ति मेरो, रामप्रसाद दाहालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीत खै के होला र औषधि कुँडिएको मनको, उन्नति बोहराको शब्द र शम्भुजीत बाँस्कोटाको संगीतमा रहेको ‘मसँग नहुँदा’ जस्ता गीतहरुले पनि मलाई रुवाएका छन् ।

आफ्नै गीतमा मात्रै रुनुहुन्छ ? अरुकोमा रुनुहुन्न ?

रुन्छु नी अरुकोमा पनि । नेपाली फिल्मका पुराना गीतहरु फेरि आयो त्यो कालो रात, सोँचेजस्तो हुन्न जीवन, साउने झरीमा आदि गीतहरु सुनेर रोएकी छु । साउने झरीमा भन्ने गीत त मलाई ‘आगो’ लाग्छ । यसमा त इन्स्ट्रुमेन्ट पनि रोएको पाउँछु ।

कतिवटा भाषामा गीत गाउनुभएको छ ?

नेवारी भाषामा १८ वर्षअघि गाएकी थिएँ । थारु भाषामा आठ वर्षअघि गाएँ । हिन्दीमा एउटा गीत गाएकी छु हालसालै । तामाङ भाषामा गाउने तयारीमा छु । भोजपुरीमा पनि अफर आएको छ । यत्ति हो ।

तपाईंको संगीत गुरु को हो ?

कृष्णमान डंगोल । टीनएजदेखि नै उहाँले सिकाउनुभएको हो ।

तपाईंले सबैभन्दा पहिले रेकर्ड गरेको गीत कुन हो ?

रेडियो नेपालमा एउटा भजन रेकर्ड गरेकी थिएँ । मनवा मन नै योगी बनाउ, अश्रु जलले पाउ पखाली प्रभुकै चरण समाउ । यस्तो बोलको गीत थियो । त्यतिबेला गीतको अर्थ नबुझी यत्तिकै गाइदिएकी थिएँ । आज अर्थ बुझेर भावुक हुन खोज्छु ।

के रहेछ अर्थ ?

ए मान्छे तिमी जेसुकै धर्मकर्म गर तर तिमीहरु पापरहित पवित्र छैनौ । त्यसकारण पश्चाताप गर । परमेश्वरसँग क्षमा माग । अनन्त जीवनमा प्रवेश गर । आखिर के छ र जानु । भनेको रहेछ । यो गीतको शब्द शीला पन्तले लेख्नुभएको हो भने कृष्णमान डंगोलले संगीत दिनुभएको हो ।

पहिलोपटक स्टेमा कहिले गाउनुभयो ?

प्रोफेसनल रुपमा गाएको त १० वर्ष अगाडि मात्रै हो ।

आफूलाई सबैभन्दा मन परेको आफ्नै गीत ?

दिवान किनारको रचनाकार र संगीतमा तिमी कस्को हुने होला… बोलको गीत ब्लास्ट लाग्छ । यो मेरो लाइफसित एकदम मेल खान्छ ।

आफूलाई चित्त बुझेको तर, नचलेको गीत ?

किशोर खतिवडाको संगीत रहेको ती नजरको इशारा पाएँ र सचिन सिंहको संगीत रहेको नसम्झ मलाई स्वर्गकी परी, म त हिलैमा फुल्ने कमलसरी छु जस्ता गीतहरु यति राम्रा छन् तर किन चलेनन् छक्क पर्छु ।

तपाईंको जीवनसँग मिल्दो गीत ?

पीडाका-विछोडका गीतहरु मेरो जीवनसँग धेरै मिल्छन् । तिमी कसको हुने होला, म नि कस्को हुने होला, न छुट्ने त भन्छौं हामी छुटे कति रुने होला बोलको गीत ठ्याक्कै मिल्छ । उहाँले पनि बिहे गर्नुभयो नी त ।

संगीतबाट तपाईंलाई अलग्यायो भने के हुन्छ ?

म त मर्छु पो होला । परमेश्वरलाई पनि मन पर्छ संगीत ।

कस्तो बेला गीत गुन्गुनाउनुहुन्छ ?

प्रायः गुन्गुनाइरहन्छु । बाटो हिँड्दाखरी मुखमा मास्क लायो अनि गीत गाउँदै हिँड्यो । अति मजा लाग्छ ।

आफैंले कहिल्यै गीत लेख्नुभएको छ ?

२०५३ सालतिर लेखेको थिएँ गजल टाइपको । अहिले बिर्सिसकेँ । २०६४ सालमा पनि एउटा गजल लेखेँ । त्यसको पनि शब्दहरु बिर्सिसकेँ ।

के-के बजाउन आउँछ ?

मादल र तवला बजाउँछु । हार्मोनियम पनि अलिअलि आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment