Comments Add Comment

श्यान्टूलाई यु-१६ सिंगल्स उपाधि

Shaltu-Shrestha

१९ भदौ, काठमाडौं । प्राइम कलेजका श्यान्टू श्रेष्ठले दसौं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्सको उपाधि जितेका छन् ।

शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको फाइनलमा श्यान्टुले आदर्श विद्या मन्दिर -एभीएम) का रितिज जोशीलाई ११-९, ११-८ र ११-३ को सोझो सेटमा पराजित गरे । यसै स्पर्धाको गल्र्समा अघिल्लो दिन एभीएमकी दीक्षा तामाङले स्वर्ण हात पारेकी थिइन् ।

स्व. हरेराम जोशी फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको खुला पुरुष सिंगल्समा प्राइमका निहाल श्रेष्ठ पहिलो भए । उनले प्राइमै श्यान्टूलाई ११-९, ११-३, १०-१२, ३-११ र ११-७ को सेटमा हराए ।

गल्र्स यु-१२ सिंगल्समा प्रभात इङलिस उमाविकी अन्जु सुवालले विजेश्वरी उमाविकी दुर्गा राजभण्डारीको चुनौती ९-११, ११-६, ११-५, ६-११ र १४-१२ ले समाप्त पार्दै शीर्ष स्थान कब्जा गरिन् । शुक्रबार सम्पन्न यो स्पर्धाको ब्वाइजमा ग्यालेक्सी पब्लिक स्कुलका उपेन पराजुली च्याम्पियन बनेका थिए ।

भेट्रान्स ४० वर्षमाथि ललितपुरका राजेन्द्र वज्राचार्य पहिलो भए । उनले फाइनलमा ग्यालेक्सीका कपुर शर्मालाई ११-५, ११-९ र ११-९ को सीधा सेटमा पन्छाए । भेट्रान्स ५० वर्षमाथि उदयमोहन श्रेष्ठले बाजी मारे । उपाधि भिडन्तमा उनले इन्द्रशेखर खड्कालाई ११-९, ११-९ र १३-११ को सोझो सेटमा निराश पारे ।

दुईदिने प्रतियोगितामा विभिन्न ७ स्पर्धामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment