Comments Add Comment

भूकम्प अाउँदा बीमा कम्पनीलाई फाइदा भयो

गत बैशाखमा आएको विनासकारी भूकम्पले देशमा ७ खर्ब बढीको भौतिक क्षति गर्‍यो । तर, बीमा कम्पनीहरुलाई भने भूकम्पले फाइदा पुर्‍याएको दाबी गर्छन् एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका बीमक संघका अध्यक्ष बिजयबहादुर शाह । आखिर भूकम्पले बीमा कम्पनीहरुलाई कसरी फाइदा पुर्‍यायो त ? भूकम्प पीडितले पाएको वीमा सुविधा लगायतका विषयमा केन्द्रित रही अनलाइनखबरले शाहसँग गरेको कुराकानी :

bijaybadhur sha, ceo, nlg insurance
भूकम्पले पुर्‍याएको ठूलो क्षतिसँगै पीडितहरुले गरेको मागदाबीमा तपाईहरुले के-कस्तो रकम भुक्तानी गर्नुभयो ?

हामी कोही पनि यस्तो किसिमको प्रलयका लागि तयार थिएनौं । जुन हामीले पनि अनुभव गर्न पायौं । बीमा कम्पनीहरुले बीमा गरेका धेरै संरचनाहरु क्षति भए । तर, अहिलेसम्म हामीलाई प्राप्त जानकारी अनुसार १८ अर्ब रुपैयाँ बराबरको माग दाबी परेको छ । कूल दाबीमध्ये संख्याका हिसाबले ५५ प्रतिशत दाबी भुक्तानी भइसकेको छ । रकमको हिसाबले भने कूल दाबीको १९ प्रतिशत अर्थात ३ अर्ब भुक्तानी भइसकेको छ ।

कस्ताले भुक्तानी पाए, कस्ता आवेदकले पाउन बाँकी छ ?

जसको मुल्यांकनको प्रक्रिया जटिल छैन, त्यस्ता दाबी तुरुन्त सेटल गर्नुपर्छ भनेर बीमा समिति र बीमा कम्पनी मिलेर निर्देशिका नै तयार गर्‍यौं । यो दुखमा जतिसक्दो चाँडो बीमा कम्पनीहरुले भुक्तानी दिए भने पालको बसाइबाट घरमा जाने बातावरण बन्छ भन्ने सदासयता थियो ।
त्यसैले भूकम्प आउने वित्तिकै बैठक बसेर सर्भेयरको प्रतिवेदनबिनै ५० हजार रुपैयाँसम्मको भुक्तानी गर्न सकिने व्यवस्था मिलायौं । कम्पनीका कर्मचारीले मूल्यांकन गरेकै आधारमा भुक्तानी दिने सहमति जारी गरियो ।

साना दाबीहरुको भुक्तानी छिटो भएकाले दाबी भुक्तानीको संख्या ५५ प्रतिशत पुगेको हो । ठूलो क्षतिको मूल्यांकन गर्न केही समय लाग्छ नै । ठूलो दाबी गर्ने ग्राहकलाई पुननिर्माण तथा मर्मत गर्न पेश्की लिन पाउने व्यवस्था मिलायौं । जसअनुसार धेरै ग्राहकले पेश्की लगिसकेका छन् ।

दाबी भुक्तानीको अवस्था सन्तोषजनक हो र ?

सन्तोषजनक नै मान्नुपर्छ । कूल दाबीमध्ये हालसम्म पनि ४० प्रतिशत सर्भेयरको प्रतिवेदन आउन बाँकी छ । ४० प्रतिशत क्षतिमा हाम्रो दायित्व कति हुन्छ भन्नेमा अहिले पनि हामी अनविज्ञ छौं । १८ अर्बको कूल दाबी भोलिका दिनमा १६ अर्ब पनि हुन सक्छ । र, १९ अर्ब पनि हुन सक्छ ।
म कार्यरत कम्पनी एनएलजीमा भूकम्पसँग सम्बन्धित ८८ करोड रुपैयाँ बराबरका १२ सय ५७ दाबी परेका थिए । जसमध्ये ६ सय दाबीको भुक्तानी भइसकेको छ । जुन संख्याको हिसाबले ४८ प्रतिशत हो । १६ करोड रुपैयाँ भुक्तानी गरिसकेका छौं । यो कूल दाबीको १८ प्रतिशत हो । ठूला दाबीहरु भुक्तानी हुने क्रममा छन् । धेरै साना दाबीको भुक्तानी भइसकेको छ । ८३ करोड रुपैयाँको दाबी पर्दा एनएलजीको दायित्वमा भने १० करोड रुपैयाँ मात्रै परेको छ । किनभने जस्तोसुकै क्षति भएको अवस्थामा पनि १० करोडदेखि १ अर्ब ८० करोडसम्मको भुक्तानी पुनर्बीमा कम्पनीले दिन्छ । एनएलजीको सन्धिअनुसार थप १ अर्बको दाबी परेको भए पनि १० करोडभन्दा बढीको भार पर्ने थिएन ।

भूकम्प आएसँगै नेपालका धेरै बीमा कम्पनी डुब्छन् भन्ने विश्लेषण गरिएको थियो । तर, गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण हेर्दा सबै बीमा कम्पनीले नाफा कमाएको देखिन्छ नि ?

भूकम्पले देशमा अतुलनीय क्षति गर्‍यो । त्यसैलाई आधार मानेर बीमा कम्पनीहरु डुब्छन् भन्ने विश्लेषण भएको हो भन्ने मलाई लाग्छ । तर, यथार्थ के हो भने क्षति भएको मध्ये ४ प्रतिशतमात्रै बीमा भएको थियो । त्यसकारण भूकम्पको ठूलो असर बीमा कम्पनीहरुमा परेन । बीमा कम्पनीले त आफूले गरेको बीमाको मात्रै क्षतिपूर्ति तिर्ने हो ।

भूकम्प आइसकेपछि केही निर्जीबन बीमा कम्पनी टाट पल्टिन्छन् भन्ने बजार हल्ला हामीले पनि सुन्यौं । यदि कुनै कम्पनीलाई त्यस्तो अप्ठ्यारो पर्छ भने बीमक संघलाई जानकारी गराउन आग्रह गर्‍यौं । त्यस्तो अवस्था आएको खण्डमा संघले नियामक निकाय मार्फत ‘रेस्क्यू रिलिफ’ प्याकेजका लागि पहल गर्छ भन्यौं । हाम्रा सदस्यहरुले आजको दिनसम्म त्यस्तो अवस्था आएको छैन भन्ने जवाफ दिनुभएको छ ।

केही कम्पनीहरुलाई नाफामा असर गर्नेलगायतका समस्या देखिने सम्भावना छ कि छैन ?

गत वर्षको तुलनामा कसैको नाफा घटेको छ । तर, त्यो ठूलो इस्यू होइन । मलाई लाग्छ, यत्रो ठूलो घटना हुँदाखेरी सबैलाई बराबरी हिट गर्छ भन्ने होइन । कुनै कम्पनीकहाँ बढी संख्या र बढी रकमको दाबी परेको होला कुनैमा कम । जसले कुनै कम्पनीको नाफामा बढी र कुनैकोमा कम असर पारेको हुन सक्छ ।

बीमा कम्पनीहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार इन्ड्रस्टीको औषत वृद्धिदर १४ प्रतिशतले भएको छ । बीमा कम्पनीहरुको नाफामा २० प्रतिशतले वृद्धि भएको देखिन्छ । हामी हरेक अप्ठ्यारोमा अवसर देख्छौं । भूकम्पले सिर्जना गरेको अप्ठ्यारोमा हामीले अवसर देखेका छौं । जसअनुसार आगामी दिनमा बीमाको भविश्य अझै उज्ववल देखेका छौं ।

के हुन् त ति अवसर ?

सबैभन्दा पहिलो त, हामीले यतिका वर्षसम्म बीमाको बारेमा जगाउन नसकेको जनचेतना भूकम्पले एकैचोटि जगाइदियो । यति जनचेतना जगाउन अरबौं खर्चिनु पथ्र्यो । यो भूकम्पले बीमा क्षेत्रलाई पुर्‍याएको ठूलो फाइदा हो । अब सर्वसाधारणलाई के थाहा भयो भने यस प्रकारका प्रलयबाट निम्तिने जोखिम बीमामार्फत हस्तान्तरण गर्नुपर्ने रहेछ । यसले बीमा व्यवसायमा एक्कासी वृद्धि गर्छ । हिँजोको दिनसम्म बीमालाई बाध्यात्मकरुपमा हेरिन्थ्यो । स्वेच्छाले भने बीमा गर्न नपरे हुन्थ्यो भन्ने मानसिकता थियो । त्यसैले धेरै मानिसले कानूनी प्रक्रिया पूरा गर्न मात्रै बीम्ाा गर्दै आएका थिए । बैंकबाट कर्जा लिएको अवस्थामा कर्जा बराबरको मात्रै बीमा गरेर बाँकी जोखिम आफैंले लिएको देखियो । तर, भूकम्पले उहाँहरुलाई सचेत बनाएको छ । अब देश पुनर्निर्माणमा जान्छ, त्यसले बीमा व्यवसाय मौलाउने मौका पाउँछ । रहरले होस् या करले, अहिले ७५ वटै जिल्लामा बीमा कम्पनीहरुको पहुँच पुगिसकेको अवस्था छ ।

प्रसंग बदलाैं, बीमा समितिले तयार पारेको बीमा ऐनको संसोधन मस्यौदामा बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्न प्रस्ताव गरिसकेको छ । कम्पनीहरु पुँजी बढाउन सक्ने अवस्थामा छन कि छैनन् ?

बीमाको सौदर्य भनेको आफूले बहन गर्न सक्ने जति जोखिम आफूले बहन गर्ने र आफूले बहन गर्न नसक्ने जोखिम पुनर्बीमाको माध्यमबाट अन्तराष्ट्रिय बजारमा हस्तान्तरण गर्ने सिद्धान्तअनुसार चलेको व्यवसाय हो । भोलिका दिनमा बीमा कम्पनीहरुले हामी जोखिमको मात्रा आफैं बढी राख्छौ पुनर्बीमालाई दिँदैनौ भनेको खण्डमा पुँजी बढाउनैपर्छ । त्यसैले कुन व्यवसायको पुँजी कति हुनुपर्छ भनेर बैज्ञानिक तरिकाले निर्धारण गरिनुपर्छ भनेर हामीले भनिरहेका छौं । कुन व्यवसायमा लगानी गर्दा बढी प्रतिफल आउँछ र कहाँलगानी गर्ने भन्ने विषय हामी व्यवस्थापकहरुको नभई लगानीकर्ताको विषय हो । लगानीकर्ताहरुले हामीलाई बीमामा लगानी गर्दा कति प्रतिफल आउँछ भनेर सोध्नुभयो हामीले पाँच वर्षसम्मको प्रतिफलको अवस्था बताइदियौं ।

पुँजी बढाउँदा लगानीकर्ताले कस्तो प्रतिफल पाउने रहेछन् त ?

आजको दिनमा निर्जीबन बीमाको कूल कारोबार ११ अर्ब रुपैयाँ छ । यो पुँजीले एक वर्षमा औषत २० प्रतिशत अर्थात २ अर्ब २० करोड नाफा कमाउँदै आएको छ । व्यवसायको आकार नबढ्ने तर पुँजी बढ्ने हो भने लगानीकर्ताले दोहोरो अंकको प्रतिफल पाउन कठिन देखिन्छ । त्यसैले जोखिममा आधारित भएर चुक्ता पुँजी निर्धारण गरियोस भन्ने हाम्रो माग हो । आजको दिनमा बीमा समितिले प्रस्ताव गरेको बीमा कम्पनीहरुको चुक्ता पुँजी आवश्यक छ वा छैन भनेर हामी भन्न सक्ने अवस्थामा छैनौं । लगानी थप्ने वा नथप्ने भन्ने कुरा लगानीकर्ताको विषय हो ।

अचेल मोवाइलबाटै बैंकिङ कारोबार गर्न सकिन्छ । मोबाइलबाटै बीमाको कारोबार गर्न सकिँदैन ?

यस विषयमा बीमक संघले आफ्नै स्रोत खर्चेर अध्ययन गरेको छैन । तर, केही कम्पनीहरुले यस्तो अध्ययन गरिरहेका छन् भन्ने सुनेको छु । असम्भव के नै छ र ? सर्वसाधारणलाई आकषिर्त गर्न र फरक सेवा प्रदान गर्न बीमा कम्पनीहरुले नयाँ नयाँ विधि अपनाउनुपर्ने बेला पनि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment