Comments Add Comment

थारु जाति विहारमा शरण लिन जाँदैनन् : राजकुमार लेखी

Raj Kumar Lekhi (3)

मात्रिका पौडेल

थारु आन्दोलनकारीले संविधानसभाबाट जारी हुन लागेको संविधानलाई आंशिकरुपमा स्वागत गर्ने भएका छन् । मधेसवादी आन्दोलनकारीले संविधान अस्वीकार गर्ने चेतावनी दिइरहेका बेला थारुहरुले भने संविधानलाई स्वीकार गर्दै थप अधिकारका लागि संघर्ष गर्ने भएका छन् ।

थारुवान थरुहट संयुक्त आन्दोलनका एक कमाण्डर तथा वार्ता टोली सदस्य समेत रहेका थारु नेता राजकुमार लेखीले संविधानका धारा पारित भइरहँदा थारु आन्दोलनका अधिकांश माग सम्बोधन भएको बताए ।  लेखीले अनलाइनखबरसँग भने- ‘हाम्रो आन्दोलन उत्ष्कर्षमा पुगेपछि तीनदलका नेताहरु बाध्य भएर धर्म निरपेक्षता कायम गर्ने, संवैधानिक थारु आयोग र समावेशी समानुपातिक व्यवस्था राख्न सहमत हुनु सकारात्मक कुरा हो ।’

लेखीले अब थारु समुदायको असन्तुष्टि प्रदेशहरुको सीमांकनमा मात्र बाँकी रहेको प्रष्ट पारे । थारुको मागबमोजिम प्रदेशको सीमांकन मिलाउन पनि प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्षनेताहरु अनौपचारिक रुपमा सकारात्मक रहेको उनले बताए ।  लेखीले भने- प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, अरु नेता पनि सकारात्मक छन्, तर एकाध नेताले सीमांकनको मुद्दा सम्बोधन गर्न अवरोध हालेका छन् । हामीलाई आशा छ, संविधान जारी हुँदै गर्दा वा भइसकेपछि पनि हाम्रो माग र मुद्दा सम्बोधन हुनेछ ।’

नवलपरासीदेखि बर्दियासम्मको तराईका जिल्लालाई पहाडबाट अलग गरेर प्रदेश मिलाउने र कैलाली कन्चनपुरलाई थारु विशेष संरक्षित क्षेत्र राख्ने कुरामा थारु आन्दोलनकारी सहमत हुन सक्ने उनले संकेत गरे । ‘वार्तामा बसेपछि शत प्रतिशत माग कसैका पूरा हुँदैनन्, त्यसमा लेनदेन हुन्छ’ उनले भने ।

बिहारमा शिविर बनाउनु आपत्तिजनक

मधेस आन्दोलनकारी तथा थारु आन्दोलनकारीहरु सीमापारि भारतका गाउँमा शरणार्थी हुन लागेको र विहारमा शरणार्थी शिविरसमेत बनाउन लागिएको कुरा आपत्तिजनक रहेको उनले बताए ।  लेखीले भने- शरणार्थी शिविर कसका लागि बनाउन लागिएको हो, हामीलाई थाहा छैन, तर यो देशका थारु समुदाय यो भूमि छाडेर कहीँ पनि शरणार्थी हुन जाँदैनन्, हामी हाम्रो अधिकार हाम्रै भूमिमा स्थापित गर्छौं ।’

भिडियो

उनले विदेशी भूमिमा शरणार्थी बन्न जाने र आफ्नो मागको आन्दोलनमा विदेशीको समर्थन खोज्दै हिँड्ने काम थारु समुदायले नगरेको र गर्न पनि नसक्ने बताए । ‘हामी कतै शरणार्थी शिविर बनाउन गएका पनि छैनौं र विदेशी दूतावासहरुमा पनि जादैनौं’ लेखीले भने ।

मधेस आन्दोलनका क्रममा अलग देशको कुरा उठाइएकोमा थारु आन्दोलनकारीको कुनै पनि समर्थन नरहेको उनले बताए । ‘अलग देश वा बिखण्डन हामी सोच्न पनि सक्दैनौं,यो देशमा हामी ५० वर्ष लड्छौं, तर विदेशी गुहार्ने वा टुक्राउने कुरा हामीबाट हुँदैन’ लेखीले भने ।

लेखीले मधेस आन्दोलनले समेट्न नसकेका मधेसका चमार, दुषाध, खत्वे, डोम जस्ता दलित र उत्पीडित समुदायका साथै सुनुवार, हायु, जिरेल, कुसुन्डा, बोडे, सन्थाल तथा कर्णालीका बाहुन क्षेत्रीको अधिकारका लागि पनि थारु आन्दोलनले बोलेको बताए ।

संविधान जारी गर्ने कुरामा थारु समुदाय अवरोध नबन्ने प्रष्ट पार्दै उनले संविधानमा आफ्ना माग समेटिनु सकारात्मक भएको र समेटिन बाँकी माग पनि चाँडै समेटिने विश्वास व्यक्त गरे ।

‘संविधानमा आंशिक उत्सव मनाउँछौ’

Raj Kumar Lekhi (1)असोज ३ गते संविधान जारी भइसकेपछि थारु समुदायले उत्सव मनाउँछ कि विरोध गर्छ त ?

– हामी संविधानमा समेटिएका राम्रा कुराको स्वागत गर्दै उत्सव मनाउछौं, हाम्रो माग र मुद्दा नसमेटिएका धाराको बिरोध गर्छौं । तर समग्रमा संविधान अस्वीकार गर्दैर्नौ, किनकि हामी संविधान जारी गराउन आन्दोलनमा छौं । हामीलाई आशा छ,संविधान जारी हुँदै गर्दा हाम्रा बाँकी माग र मुद्दा पनि सम्बोधन हुन्छन् ।

मैदानमा रहेका तपाईका आन्दोलनकारीलाई बताइदिनुस कि, तपाईहरुका माग कुन-कुन पूरा भए र अब बाँकी के हो ?

– हाम्रा केही माग र मुद्दा सम्बोधन भएका छन् । संविधानको परिमार्जित बिधेयकमा तीन दलको तर्फबाट जुन संशोधन मार्फत हाम्रा मुद्दा समेटिए त्यो सकारात्मक हो, हामी स्वागत गर्छौं । विशेषतः हाम्रो हान्दोलन उत्कर्षमा पुगेपछि धर्म निरपेक्षता,समावेशी समानुपातिक,थारु आयोग जस्ता विषय संविधानमा कायम गरेका छन् । आदिवासी जनजाति आयोग पनि हाम्रो आन्दोलनको बलमा आएको छ । सकारात्मक कुरालाई हामीले सकारात्मक भन्नुपर्छ ।

अब तपाईहरुका माग र मुद्दा समेटिन के चाहिँ बाँकी हो त ?

– राज्य पुनसंरचनामा थारुले समुदायले युगौंदेखि आफूमाथि भएको उत्पीडन अन्त चाहेको हो । प्रदेशको सीमांकनमा थारुको जुन चित्त दुखाइ छ, त्यसको सम्बोधन हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

अब संविधान नै जारी हुन लागिसक्यो, कसरी सम्बोधन हुन्छ ?

– हामीलाई विश्वास छ, हाम्रो माग र मुद्दा संविधान जारी हुँदै गर्दा पनि सम्बोधन हुन्छ । संविधान जारी भएपछि संशोधन मार्फत पनि सम्बोधन गर्न सकिन्छ । प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । हामी अनौपचारिक वार्तामा छौं र शीर्षनेता पनि सहमत छन् । एकाध नेताले थारुको माग सुनुवाइ नगर्न शीर्ष नेतालाई दबाब दिएका छन् । तर हाम्रो माग सम्बोधन हुन्छ,नगरी सुख छैन ।

तपाईहरुको माग थारुको अलग प्रदेश चाहियो भन्ने होइन र ?

– यही कुरा नेताहरुलाई बुझाउन सकिएन । म राजकुमार लेखीले ७ वर्षदेखि जातीय राज्यको बिरोध गर्दै आएको छु । थारुले जातीय राज्य मागेकै होइन । यो त माओवादी र विशेष गरी प्रचण्डले गर्दा गलत ढंगले कुरा उठ्यो । थारुलाई पहाडका केही जिल्लाबाट उपनिवेश बनाउन खोजियो, यो कुरालाई संविधानसभाले निवारण गर्नुपर्छ ।

जातीय राज्य चाहिँदैन भन्नुहुन्छ, अनि थारु बाहुल्य रहेको क्लस्टरलाई अलग्गै प्रदेशमा राख्नुपर्छ भन्नु जातीय राज्य होइन र ?

Raj Kumar Lekhi (4)

– यो कुरा हुँदै होइन । कैलाली कञ्चनपुरकी थारु चेलीले लोकसेवा जाँच दिन अछाम वा डोटी जाने कुरा कति उपयुक्त हुन्छ ? जहाँ थारु समुदायको सघन बसोबास छ, विशेष गरी जंगल क्षेत्रमा गाउँमा थारु बस्छन् । उनीहरुलाई आफ्नो भूगोलमा सहजरुपले काम होस र पहिचान स्थापित होस भन्ने मात्र हो ।

त्यसोभए नवलपरासीदेखि बर्दियासम्मको तराई भागलाई मिलाएर प्रदेश बनाउने र कैलाली कञ्चनपुरका थारुलाई विशेष अधिकार दिने कुरामा तपाईहरु सहमत हुन लागेको हो ?

– वार्तामा बसेपछि यो कुरामा गिभ एण्ड टेक हुन्छ । शत प्रतिशत कसैको पनि माग पूरा हुँदैन । यो विषयमा हामी लचक हुन सक्छौं ।

त्यसोभए अब आन्दोलन किन त ? बन्द फिर्ता लिए हुँदैन ?

– हाम्रो आन्दोलन संविधान जारी गर्नकै लागि हो । केही व्यक्ति र केही नेताले थारुको आन्दोलनलाई जातिवादी भनेर ब्याख्या गर्न खोजे । वास्तवमा थारु कल्याणकारी सभा जुन २००५ साल अर्थात ६५ वर्षदेखि क्रियाशील छ, यो कुनै जाति विशेष विरुद्ध कहिल्यै लागेन र लाग्दैन । हाम्रो आन्दोलन पहाडे समुदाय विरुद्ध हुँदैहोइन । हामीले कर्णालीका बाहुन क्षेत्रीको पनि अधिकार मागेका छौं । हामी कर्णालीका जाँदा त्यहाँका बाहुनक्षेत्री ठकुरी हाम्रो भरिया हुन्छन् । उनीहरुको बिरोध हामी कसरी गर्न सक्छौं ? यो देशमा कर्णालीका बाहुन क्षेत्री, हामी थारु, सुनुवार, सन्थाल, मेचे, ताजपुरिया, धिमाल, हायु, जिरेल, प्रजा, राजी जस्ता जनजातिका साथै मधेसका दुषाध, डोम, मुसहर, खत्वे जस्ता उत्पीडितहरुको उत्पीडन संविधानमा अन्त्य हुनुपर्छ भनेर शान्तिपूर्ण आन्दोलन गर्दैछौं ।

टीकापुर र बर्दियामा प्रहरीको हत्या हुनु पनि शान्तिपूर्ण नै हो ?

– ती अत्यन्त बर्बर र अमानवीय घटना हुन् । यी घटनाबाट हामीले धेरै पाठ सिकेका छौं र घुसपैठ रोक्न सचेत भएका छौं । हाम्रो आन्दोलन अराजक, अतिवादी र कुनै जाति विशेष वा समुदाय विरुद्ध लक्षित छैन र हुन नदिन हामी झन बढी सचेत भएका छौं । थारु समुदायलाई शान्तिपूर्ण आन्दोलनका ताकत थाहा छ । हामी कुनै पनि हिंसावमा विदेशीको सहारा खोज्दैनौं ।

अनि भारतलाई गुहार्ने, विदेशी दूतावास र राष्ट्रसंघमा ज्ञापनपत्र बुझाउने कुरा चाहिँ के हो ?

– यस्ता काम थारुले गरेका छैनन् । राजकुमार लेखीलाई तपाईहरुले कुनै दूतावासमा गएको वा विदेशी गुहारेको देख्नुभएको छ ? हामी हाम्रो अधिकार हाम्रै भूमिमा स्थापित गर्छौं ।

तर, मधेस आन्दोलनलाई भारतले समर्थन गर्नुपर्‍यो, शरणार्थी शिविर बनाउनुपर्‍यो भनेर विहारमा पुग्ने को त ?

– एकजना पनि थारु गएका छैनन् । हामी मधेस आन्दोलनका पनि जायज माग पूरा हुनुपर्छ भन्छौं, तर अरुको भूमिमा शरणार्थी बन्ने कुरा सोच्न पनि सक्दैनौं । हामीले विखण्डनको कुरा गरेका छैनौं । थारु आन्दोलन कसैको उक्साहट वा कसैको लगानी र प्रायोजनमा भएको छैन । हामी थारुलाई यो देशको माटो प्यारो छ, कुनै देशमा गएर शरणार्थी बन्ने ठाउँ हाम्रा लागि छैन ।

अनि अहिले बिहारमा बनेका भनिएका शरणार्थी शिविर कस्का हुन् त ?

– ती शरणार्थी क्याम्प कसका लागि बनाइएका हुन् हामीलाई थाहा छैन । हामी विदेशी भूमिमा शरणार्थी हुन जादैनौं । हाम्रो अधिकार यही भूमिमा खोज्छौं,यही संविधानसभाभित्र खोज्छौं ।

अनि कैलालीका दशौं हजार थारु सीमाना कट्दै छन् भनिएको छ नि ?

– कैलालीका एकजना पनि थारु सीमापारि गएका छैनन् र जाँदैनन् । आन्दोलनकारीले उत्तेजनामा आएर केही बोले होलान्, त्यो अलग कुरा हो । थारुहरु अहिलेसम्म कुनै बाहृय शक्तिको बुई चढेर आएका जाति होइनन् । हाम्रो आन्दोलन हाम्रै बुँतामा चलेको छ । थारु समुदाय यो भूमि छाडेर कहीँ शरणार्थी हुन जानेवाला छैन ।

अनि तराई मधेसले संविधान स्वीकार नगर्ने, अलग्गै संविधान जारी गर्ने, देश नै अलग बनाउने कुराचाहिँ के हो त ?

– यस्तो कुरा थरुहट थारुवान आन्दोलनकारीले गरेका छैनन् । हामी सीके राउत, गोइत जस्ता स्वतन्त्र मधेस वा स्वतन्त्र तराई भन्दैनौं । यो हाम्रो माग होइन र हुनै सक्दैन । हामी संविधान स्वीकार गर्छौं । हाम्रा मुद्दा र माग समेटिएकोमा स्वागत गर्छौं, नसमेटिएको कुराको विरोध गर्दै शान्तिपूर्ण संघर्ष जारी राख्छौं ।

अन्त्यमा, अनलाइनखरमार्फत् तपाईका थारु आन्दोलनकारीहरुलाई केही सन्देश दिन चाहानुहुन्छ ?

– म आन्दोलनकारी साथीहरुलाई भन्छु-यो शान्तिपूर्ण आन्दोलन हो । यो हाम्रो प्यारो देश टुक्राउने वा बिखण्डन गर्ने आन्दोलन होइन । अरु जाातिलाई लखेट्ने आन्दोलन पनि होइन । अतिवादी र अराजक भएर कसैले केही पनि बोल्ने वा कुनै घटना गराउने काम नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment