Comments Add Comment

तीजमा माइत जान नपाएका सभासद संविधानसभामै नाचे

Savasad-Dar

२९ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले महिला सभासदहरुलाई संविधानसभामै दर खुवाएका छन् ।

तीजको दर खाने दिन संविधानका धाराहरु पारित गर्न व्यस्त भएका कारण माइत जान नपाएका सभासदका लागि नेम्वाङ आफैं माइती बनेका हुन् ।

संविधानसभा सचिवलायको तर्फबाट मंगलबार बेलुका ब्रेकको समयमा दरको व्यवस्था गरिएको हो । दरमा खीर, तरकारी, फलफूल र मिठाई खुवाइएको थियो । दर खानेमा भने महिलामात्र होइन, पुरुष सभासद पनि सहभागी भएको एमाले सभासद यज्ञराज सुनुवारले बताए । ‘खाजाको समयमा सबैले दर खाइयो’ उनले भने । 

संविधानसभा पुस्तकालय नजिकको सभाकक्षमा आयोजित दरपछि महिला सभासदहरुले केहीबेर तीज गीत तथा जनवादी गीतमा नाचगान समेत गरे ।  त्यहाँ गायिका सभासदहरु मधु गुरुङ, सिन्धु जलेसाहरु पनि थिए ।सभासदहरु एमाले सभासद सुशीला नेपालको गीतमा केहीबेर छमछमी नाचेका थिए ।

‘नउठी भएन नेपालका दिदी बहिनी हो’ बोलको गीतमा सभासदहरु नाचेका थिए । त्यस्तै अब संविधान आउने भयो भन्ने गीतसमेत उनीहरुले गाएका थिए ।

दर खाने कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले पनि सक्रिय सहभागिता जनाएका थिए ।

तीजमा सभासदले विदा नपाउने

संविधानसभामै दर खाएका महिला सभासदले बुधबार तीजको दिन पनि बिदा नपाउने भएका छन् । तीजभन्दा ठूलो संविधान भएकाले आफूहरुले तीजमा ब्रत र बिदा त्यागेको सभासद सिन्धु जलेसा बुढाथोकीले बताइन् ।

उनले भनिन्-तीज त हरेक वर्ष आउँछ, तर संविधान जारी गर्ने यो ऐतिहासिक अवसर युगमा एकपटक मात्रै आउने भएकाले हामीले बिदा मागेनौं ।’

संविधानसभामा कुल ५९८ सभासदमध्ये १ सय ७६ जना महिला सभासद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment