Comments Add Comment

मधेस डायरी : जनकपुरका गल्लीमा जे देखियो…

गंगा श्रेष्ठ, केन्द्रीय सदस्य, एमाओवादी

मेरो यो विचार पढिसकेपछि पहाडिया शासक मनोवृत्ति बोकेका जनहरुले मलाई पनि ‘भारतीय दलाल’ देख्ने छ्न् । ‘रअ’ बाट तलब बुझ्ने एजेन्ट भन्ने छ्न् । जसले जे देखे पनि र जे भने पनि मैले यो साता मधेस घुम्दा जे देखे, जे भोगें, शब्दमार्फत प्रत्यक्ष प्रसारण गर्न लागेको छु ।

गंगा श्रेष्ठ
गंगा श्रेष्ठ

क. रामचन्द्र झालगायत एमाओवादीका हामी पाँचजना केन्द्रीय सदस्यहरू असोज ७ गते काठमाडौबाट जनकपुर हिंड्यौं । मलाई धेरै मित्र र आफन्तजनहरुको हार्दिक सुझाव थियो ‘कृपया ! तपाईं यस्तो बेलामा जनकपुर नजानुस् ।’

सबैको सुझावलाई सम्मान गर्दै अन्ततः म ७ गते १० बजे जनकपुर पुगें । हाम्रो टोलीमा पहाडिया अनुहार म मात्रै थिएँ ।

बर्दिबास पुग्दासम्म मलाई कुनै नौलो अनुभूति भएन । फाट्टफुट्ट सवारी साधनहरु पूर्व-पश्चिम राजमार्गमा गुडेको देखियो । बर्दिबासबाट जनकपुरसम्म पुग्नका लागि पार्टीका साथीहरु मोटरसाइकल लिएर आइपुग्नुभयो । बर्दिबासबाट लालगढ नपुग्दै मालवाहक ट्रक र यात्रुबाहक बसहरु सयौंको संख्यामा सडकको छेउमा रोकिराखेको देखियो । सडकभरि यात्रुहरुको खलबल सुनिन्थ्यो ।

हामी अगाडि बढ्दै गयौं । महेन्द्रनगरमा पार्टीका एकजना साथिको घरमा केही दर्जन साथीहरू हामीलाई पर्खिरहनुभएको रहेछ । भेटघाटको सामान्य औपचारिकता पश्चात् गर्मागर्मी बहस भयो ।

रौद्र भावभंगीमा आक्रोश, अविश्वास र पीडा तँछाड मछाड गरेर पोख्न थाले साथीहरूले । म मौन बस्न चाहन्थें । तर, बोल्नै पर्ने भयो । मैले हाम्रो पार्टीबाट पनि कमजोरी भएको स्वीकार गरें । अरु नेता कमरेडहरुले पनि सम्झाउने प्रयत्न गर्नुभयो । तर, स्थिति सम्हालिनुको सट्टा झनै उग्र बन्यो ।

हामी जनकपुरका लागि अघि बढ्यौं । आवेशमा आएर केही युवाहरुले हाम्रो मोटरसाइकल छेक्ने प्रयत्न पनि गरे । गालीका शब्दहरु, मुर्दावादका आवाजहरु महेन्द्रनगरको सडकमा छाड्दै हामी अघि बढ्यौं ।

थकानका वीचमा पनि हामीले राति १२ बजेसम्म छलफल गर्‍यौं । बिहान पार्टीका जिम्मेवार साथीहरूसँग छलफल गर्यौं । छलफलका क्रममा गुटको पर्दाले साथीहरुको विवेकलाई बन्धक बनाएको अनुभूति भयो । केही साथीहरुले सत्यलाई सयौं कोष टाढा राखेर क.बाबुराम भट्टराईको नियतमाथि प्रश्न उठाए । मधेस आन्दोलन, जनताको आन्दोलन नभएर भारतको उक्साहटमा उसका एजेण्टहरुले आफ्नो स्वार्थपूर्ति गर्नका लागि भएको अराजनीतिक हर्कतको रुपमा परिभाषित गरे । मैले प्रतिकृया दिन आवश्यक ठानिँन । किनकि, म आफ्नै आँखाले जनकपुर हेर्न चाहन्थें । आफ्नै कानले जनताको आवाज सुन्न चाहन्थें ।

मधेस आन्दोलन र मधेसमा आन्दोलनरत चार मधेसी दलका नेताहरुसंँग छलफल गर्ने योजनाका साथ हामी छलफलमा बस्यौं । उनीहरुको प्रष्ट भनाइ थियो­, ‘बाबुरामले समेत मधेस विरोधी संविधानमा हस्ताक्षर गरेकाले हामी वहाँलाई जनकपुरमा स्वागत गर्न सक्दैनौं ।

बाबुरामप्रति हाम्रो सम्मान छ, तर वहाँले आफ्नो ‘पोजिसन’ प्रस्ट्याउनुपर्छ । मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने कुनै पनि नेतालाई मधेसी जनताले स्वागत गर्दैनन् ।’

छलफलमा सबभन्दा बढी अविश्वास र आक्रोस क.प्रचण्डप्रति देखियो । क.प्रचण्डले आफ्नो एजेण्डालाई छाडेर मधेसलाई पटक-पटक धोका दिएको कुरा छलफलमा सहभागीहरुले दोहोर्‍याइरहे ।

हामीले माओवादी र प्रचण्डप्रति नै यति धेरै अविश्वास र आक्रोस किन ? भन्ने जिज्ञासा राख्यौं । जवाफ थियो, ‘कुकुरले आची खायो भने समाचार बन्दैन, तर मान्छेले खायो भने समाचार बन्छ । मधेसी जनताले सबैभन्दा बढी आशा र विश्वास गरेको पार्टी र नेता माओवादी र प्रचण्ड, बाबुराम थिए । तर, आज मधेसलाई धोखा भयो ।’

हामीले मधेसलगायत उत्पीडित जाति, क्षेत्र, लिंगलाई हेर्ने दृष्टिकोणमा प्रचण्ड र बाबुरामबीच भिन्नता भएको प्रष्टीकरण दिन चाहृयौं ।

वहाँहरुले अझ जोड दिएर भन्नुभयो-‘त्यो कुरा हामीलाई राम्रोसँग थाहा छ, त्यही भएर र त आफ्नो ‘पोजिसन क्लियर’ गरे बाबुरामलाई मधेसी जनताले स्वागत गर्छन् भनेको । प्रचण्डले जति नै रोइकराई गरे पनि अब मधेसी जनताले विश्वास गर्दैनन् ।’

छलफलमा बसेका ती साथीहरुको मोबाइल बजिरहेको थियो । हामीले क.बाबुरामको आज (असोज ८) को जनकपुर आगमन स्थगन भएको कुरा अवगत गराएपछि एअरपोर्ट घेर्न पुगेका सयौं जनतालाई र्फकने अनुरोध गर्न थाले । हामीले आफ्नै सूत्रमार्फत एअरपोर्टको गतिविधि बुझिरहेका थियौं । आन्दोलनकारी पार्टीका अनुरोधप्रति एअरपोर्ट घेर्न पुगेका जनताले विश्वास गरिरहेका थिएनन् । एअरपोर्टबाट र्फकन मानिरहेका थिएनन् ।

जनकपुरका फराकिला सडक र चोकमात्र हैन, हामी भित्री साँघुरा गल्लीहरु पनि घुम्यौं । राजनीतिप्रति बेखबर सामान्य जनताका कुरा पनि सुन्यौ । त्यहाँका सडक चोक र भित्री गल्लीसमेत टायरको कालो खरानीले ढाकेको हामीले आफ्नै आँखाले देख्यौं । कुनै न कुनै वस्तु तेस्र्याएर सडक अवरुद्ध गरेको पायौं ।

फाटफुट औषधी पसलबाहेक कतै पसल खुलेको देखिएन । जनता सडकमा आक्रोसित मुद्रामा सल्बलाई रहेका देखिन्थे । सामान्य जनतामा पनि मधेस आन्दोलनप्रति थोरै पनि अविश्वास देखिएन । आन्दोनबाट सृजित समस्या र कठिनाइले रत्तिभर विचलित भएको पाइएन । अरु जति दिन आन्दोलन गर्न परे पनि, शहीद हुन परे पनि आन्दोलनलाई निर्णायक बनाउने विश्वास र प्रतिवद्धता जनस्तरमै देखियो ।

सामान्य जनतामा राजनीतिक एजेण्डाले भन्दा ‘पहाडी र मधेसी’ भन्ने भावनाले बढी उद्धेलित गरेको अनुभूति भयो । ‘पहाडिया मात्रै नेपाली ? के हामी मधेसीहरु नेपाली होइनौं ? कति हेपिने हामी मधेसीहरु ?’ पहाडियाप्रति बदलाको भावना जनमनमा भरिँदै गएको पाएँ मैले । यो भावना भड्कियो भने काठमाण्डौंको शासकले कसरी रोक्न सक्ला ? रुवाण्डामा हुटु र टुत्सीले भोगेको नियति के हामी नेपालीहरुलाई पनि शासकहरुले भोगाउन चाहन्छन् ?

यसपछि म दुईटा निश्कर्षमा पुगें । पहिलो- आन्दोलनकारी दलहरुको नियन्त्रणमा जनता छैनन् । र, दोस्रो-पहाडिया र मधेसीको अनुभूति जनस्तरसम्म नसा नसामा, रगतसँगै घुल्दै गइरहेको छ । यसबाट फाइदा उठाउनका लागि भारतीय शासकहरु सचेत ढंगले योजनाबद्ध रुपमा लागिरहेको कुरा पनि छर्लङ्ग छ ।

मधेस आन्दोनको सम्बोधन एकाध दिनभित्र नगर्ने हो भने जुनसुकै बेला नेपाल गृहयुद्धमा फस्ने वा अखण्ड नै नरहने खतरा प्रष्टै रुपमा देखियो ।

यसपछि मैले क.बाबुरामलाई फोनबाट नै नेपाल गृहयुद्धको सम्मुख र विभाजनको संघारमा रहेकाले नयाँ ढंगले नेतृत्व लिन आँट गर्नुस् भनेर अनुरोध गरें । फोनमा उहाँको आवाज निक्कै गम्भीर र भावुक थियो ।

केपी ओलीले भनेजस्तो २, ४ दाना आँप हैन रहेछ मधेस । ५२ प्रतिशत जनता बसोबास गर्ने मधेसलाई केपीकै स्तरमा झरेर क.प्रचण्डले पनि बुझ्नु प्रचण्डको महाभूल हो । आत्मनिर्णयको अधिकार सहितको स्वशासनको चेतना रोप्ने नेता प्रचण्ड, बाबुराम नै हुन् । तिनै मधेसीहरुको मतले विजयी भएर संविधानसभामा पुग्ने, अनि तिनै जनतालाई राष्ट्रघाती भनेर लल्कार्ने यो भन्दा कृतघ्नता अरु के हुन सक्छ ?

ओली, प्रचण्ड, देउवा, सिटौलाजी, तपाईहरुले मधेसी र थारुलाई जतिसुकै राष्ट्रघातीको आरोप लगाए पनि वास्तविक राष्ट्रघाती तपाईहरु बन्दै हुनुहुन्छ । अधिकार खोज्ने जनता राष्ट्रघाती कि अधिकार माग्नेलाई दमन गर्नेहरु राष्ट्रघाती ?

पहिचानका ५ र सामथ्र्यका ४ आधारमा टेकेर राज्य पुनर्सरचना गर्ने तपाईंहरु सबैको प्रतिवद्धता होइन ? अनि मुख्यतः थारु र मगरको क्लस्टर भत्काउने अधिकार तपाईहरुलाई कसले दियो ? जहाँ पहिचानका ५ र सामथ्र्यका ४ आधारमा टेकेर प्रदेश निर्माण गरिएको छ, त्यहाँका जनताले आन्दोलन गरेका छन् ? छैन । तीन नम्बर प्रदेश यसको साक्षी हो ।

तपाईहरुले अन्याय गरेपछि जनताले बिद्रोह गर्छन्, त्यो जनताको नैसर्गिक अधिकार हो । तत्काल राज्यशक्तिको बलमा जनताको बिद्रोह दमन गर्न पनि सक्नुहोला, तर त्यो स्थायी समाधान होइन । घाउ सइन पल्टियो भने कहिल्यै निको हुँदैन । बरु उल्टै क्यान्सर हुन्छ र जीवन नै समाप्त हुन्छ ।

मधेस आन्दोलन लम्बिदै जाँदा खाटी राष्ट्रवादी बन्ने होडबाजी शुरु भएको छ । विशेष गरी मधेसी जनताको आन्दोलनको पक्षमा बोल्नेहरुलाई राष्ट्रघाती, भारतको दलाल, रअ का एजेण्ट भनेर आरोपित गर्न थालिएको छ ।

नेपालमा राष्ट्रियता सम्बन्धी एउटा जानेमानकोे धारा छ, त्यो हो, सामन्ती मण्डले राष्ट्रवाद । यसको बिरुद्धमा नेपालमा १० वर्ष जनयुद्ध भयो । लामो र कठिन बहसपछि हेटौडामा सम्पन्न एमाओवादीको एकताको सातौं महाधिवेशनले प्रगतिशील राष्ट्रवादको नीति पारित गर्‍यो । अबको नेपालको अखण्डता प्रगतिशील राष्ट्रवादले मात्रै बचाउन सक्छ । आन्तरिक राष्ट्रियता बलियो नपारी बाहृय राष्ट्रियता किमार्थ सुरक्षित हुन सक्दैन ।

दिल्लीमा जाने, उतैको दलाली गर्ने र काठमाण्डौं ओर्लेपछि राष्ट्रवादको चर्को राग अलाप्ने मण्डले राष्ट्रवादी शैली हो । यो मनोरोगबाट सबै नेताहरु मुक्त हुन जरुरी छ ।

भारतीय शासकहरुले मधेसी जनताको आन्दोलनमा लगानी गरेको, घुसपैठ गराएको चर्चा पनि छ । भारतीय शासकहरुमा विस्तारवादी र एकाधिकारवादी सोंच छ भन्ने सबै नेपालीलाई थाहा छ । खुला सीमाना र रोटीबेटीको सम्बन्धले स्वाभाविक रुपमा दक्षिण छिमेकीबाट हामीलाई अलिबढी खतरा छ । यो जमीनको यथार्थता हो । जहाँ खतरा छ, त्यहाँ सबभन्दा बढी सावधानीपूर्वक पाइला चाल्नु पर्छ । नभए दुर्घटनामा परिन्छ । अरुलाई दोष दिनु अगाडि आफ्नो थैलीको मुख बलियो गरी बाँध्नु बुद्धिमानी हुन्छ ।

भारतीय शासकहरुले अघोषित नाकाबन्दी लगाएको समाचार आएको आएकै छ । म प्रष्ट शब्दमा लेख्छु, भारतले नेपालमाथि नाकाबन्दी लगाउन पाइँदैन । मधेस लगायतका आन्दोलनमा अनावश्यक चासो राख्न जरुरी छैन । मधेस आन्दोलन हाम्रो आन्तरिक समस्या हो ।

यसको समाधान हामी आफैले गर्छौं । खुला सीमा र रोटीबेटीको कारण यताको आगोले उता पनि डढाउँछ कि भनेर भारतले चासो लिनुसम्मलाई नाजायज भन्न सकिन्न । नेपालीको स्वाभिमानमाथि नै आँच आउने काम भएमा त्यो नेपाली जनतालाई सैहृय हुने छैन ।

बाबुरामको राजीनामा

असोज ९ गते डा.बाबुराम भटराईले पार्टी र व्यवस्थापिका संसद सदस्यबाट राजिनामा दिनु भएको छ, । पार्टीभित्र बाहिर जताततै मिश्रति प्रतिकृयाको बाढी नै आएको छ । जुन स्वाभाविक छ । कम्युनिष्ट पाटीभित्रको पद्दति र शैलीको दृष्टिले वहाँको राजीनामा गलत भन्न सकिएला, तर स्पिरिटका हिसाबले राजीनामाको म स्वागत र सम्मान गर्न चाहन्छु ।

किनकि, संविधानसभा माओवादीको एजेण्डा, त्यसमा पनि विशेष लडाइ लड्दै आएका नेता क.बाबुराम भटराई । संविधानसभाबाट संविधान आउनु निश्चय नै माओवादी एजेण्डाको विजय हो । यस अर्थमा माओवादी खुसी हुनु, संविधानको स्वागत गर्नु र त्यसको स्वामित्व लिनु माओवादीका लागि सामान्य कुरा हो । तर, अन्तरवस्तुको हिसाबले जस्तो संविधान बन्यो, अहिले नै कांग्रेस, एमालेसँग एकाकार भएर अझ उनीहरुभन्दा साह्रै हौसिएर दीपावली र स्वागत गर्नु पटक्कै ठीक भएन । यसले मधेसलगायत आन्दोलनमा रहेका जनता, माओवादीबाट टाढा हुन पुगे । माओवादी र कांग्रेस, एमालेबीच कुनै भिन्नता देखेनन् जनताले ।

खासगरी पार्टीको तर्फबाट राखिएको फरक मतलाई क.प्रचण्डले ‘डस्टविन’ मा मिल्काइदिनुभयो । ०४७ को संविधानमा एमालेले गरेको जति पनि गर्न सकेन माओवादीले ।

आज धेरैले भनेका छन्, संविधानसभाको कारण देश विखण्डनतिर जाँदैछ । यस कुरामा केही न केही सत्यता छ । यसको अर्थ के संविधानसभा गलत थियो ? यस्तो किमार्थ हुन सक्दैन । एजेण्डा जति नै राम्रो भए पनि नेताले सही रुपमा नेतृत्व दिन सकेन भने परिणाम खराब नै आउँछ ।

माओवादी बिरोधीहरुले संविधानसभाको एजेण्डा तुहाउन नसकेपछि विखण्डनतिर देशलाई धकेलेर माओवादीको पत्तासाफ गर्ने जुन गुरुयोजना बनाइरहेका छन्, यसलाई रोक्न क. प्रचण्डले जसरी पहल लिनुपथ्र्याे, उल्टै वहाँ केपीको पुच्छर बन्न पुग्नुभयो । यस्तो अबस्थामा क.बाबुरामले नयाँ तरिकाले पहल लिनु स्वागतयोग्य कुरा हो ।

संविधानसभाको कारण कुनै पनि मूल्यमा देश टुक्रिन दिन हुन्न । केही गरी यस्तो दुर्घटना भयो भने यो देशमा हामी माओवादीको हालत के होला ? अहिले अनुमान पनि गर्न सकिन्न ।

अन्त्यमा, क.बाबुराम भट्टराईको राजीनामा नेपाललाई अखण्ड राख्ने अचूक अस्त्र बनोस्, मेरो शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment