Comments Add Comment

भोलिदेखि निजी सवारीलाई तेल नदिने सरकारको निर्णय

gadi-Sarbajanik

रविन्द्र घिमिरे
१३ असोज, काठमाडौं । सरकारले भोलि बिहीबारदेखि निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुनर्बिचार गर्न दिउँसो गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले अत्यावश्यक समान ढुवानी गर्ने बाहेक ट्रक र ट्रिपरलाई पनि तेल नदिने निर्णय गरेको छ ।

अब यात्रु बोक्ने सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल बेच्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । यी बाहेकका कुनै सवारी साधनले पनि अब तेल खरिद गर्न पाउने छैनन् ।

भारतले अघोषित नाकाबन्दी लगाएपछि तेलमा कोटा प्रणाली लगाएको सरकारले अब निजी सवारीलाई तेल बिक्री रोक्ने निर्णय गरेको हो । यात्रु चढ्ने सार्वजनिक सवारीलाई प्राथमिकता दिँदै निजी सवारीलाई तेल दिन रोक्ने निर्णय भएको प्रवक्ता ढकालले बताए । बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, यातायात व्यवस्था विभागसहित गृहमन्त्रालयको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

‘निजी सवारीलाई तेल दिन अब पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ,’ प्रवक्ता ढकालले भने, ‘पेट्रोलियम पदार्थको मौज्दातलाई बचाउन सरकारले यस्तो कदम चालेको हो ।’

नेपाल आयल निगमले अहिले कै परिमाणका दैनिक तेल वितरण भइरहेमा स्टक रहेको पेट्रोलले ९ दिन र डिजेलले १४ दिन धान्ने बताएको छ । उनले भने, ‘अब निजी सवारी प्रयोगकर्ताले जति तेल छ, त्यसैमा व्यवस्थापन गर्नुपर्छ । ‘

यसअघि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले तेल वितरणमा सार्वजनिक सवारीलाई प्राथमिकता दिन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment