Comments Add Comment

नाकाबन्दीले बढायो साइकलको ब्यापार, बजारमा भेटिए ३ लाखसम्मका साइकल

Cycle (6)
पुष्प दुलाल/नविन अर्याल

१४ असोज, काठमाडौं । भारतीय नाकाबन्दीले पेट्रोलियम पद्धार्थको अभाव भएपछि राजधानीमा साइकल चढ्नेहरुको संख्या हृवात्तै वृद्धि भएको छ । यतिबेला मोटरसाइकल तथा गाडीको शो-रुममा नभई साइकल पसलमा ग्राहकको बाक्लो भिड देखिन्छ ।

राजधानीका सडकमा साइकल चलाउनेहरु बढेपछि साइकलको व्यापार बढेको हो । असोज ३ गतेपछि साइकलको व्यापार ४० प्रतिशतले बढेको व्यवसायीहरू बताउँछन् । साइकल पसलहरुमा लागेको ग्राहकको भीडले व्यवसायीको यो भनाईको पुष्टि पनि गर्छ ।

राजधानीमा ३ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मका दर्जनौ ब्राण्डका साइकल उपलब्ध छन् । बजारमा ३० देखि ६० हजार रुपैयाँमा ब्राण्डेड साइकल किन्न सकिन्छ । साइकलमा विपन्न वर्गदेखि उच्च वर्गका ग्राहकसम्म आकषिर्त भएको व्यवसायीको भनाई छ ।

नाकाबन्दी अघि दैनिक ३/४ वटा साइकल बिक्री हुने गरेकोमा नाकाबन्दीपछि १०/१२ वटा साइकल बिक्री भइरहेको भोटाहिटीमा अमेरिकन मारिन ब्राण्डका साइकल बिक्री गर्दै आएका व्यवसायी स्कन्दन अमात्यले बताए ।

Cycle (18)

‘भारतको व्यापारिक नाकाबन्दीपछि साइकलप्रति उपभोक्ताको आकर्षण उच्चरुपमा बढेको छ’ अमात्यले भने- ‘पूरा गर्नै नसकिने गरी माग आइरहेको छ, नाकाबन्दीका कारण साइकलको आयात प्रभावित भएकाले उपभोक्ताको माग पूरा गर्न नसकिने हो कि भन्ने चिन्ता बढेको छ ।’

त्यसैगरी, भोटाहीटीस्थित पञ्च अष्टनारायण टे्रडिङका प्रमुख तिरिक मानन्धरले पनि पछिल्लो एक हप्तामा साइकलका उपभोक्ताहरु हृवात्तै बढेको बताए । पञ्च अष्टनारायण नेपालकै पुरानो र चर्चित साइकल पसल हो । मानन्धरले अमेरिकी ब्राण्डको चाइनिज उत्पादन फनिक्स ब्राण्डका साइकल बिक्री वितरण गर्दै आएका छन् । यो सँगै उनको पसलमा अन्य ब्राण्डका कम्तीमा १२ हजारदेखि बढीमा ५० हजार रुपैयाँसम्म पर्ने साइकल छन् ।

‘नाकाबन्दीअघि दिनमा ५/६ वटा साइकल बिक्री हुन्थ्यो, अहिले १५/१६ वटा साइकल बिक्री भइरहेको छ’ मानन्धरले भने- ‘भूकम्पले शिथिल बनाएको यो व्यवसाय अहिले चम्किएको छ ।’ उनको पसलमा १५ गियरदेखि ३३ गियरसम्मका साइकल छन् ।’

नेपालमा साइक्लिङ गर्न अउने पर्यटकलाई लक्षित गरेर भित्राइएका साइकल पर्यटक नआउँदा पनि उल्लेख्य बिक्री भइरहेको व्यवसायीहरुले बताए । माघदेखि मंसिरसम्म धेरै पर्यटकहरु नेपाल आउने विदेशी पर्यटकहरु बढी हुने गरेपनि यो वर्ष भूकम्प र लगातारको बन्द हड्तालका कारण पर्यटक नआएको व्यवसायीहरु बताउँछन् ।

Cycle Rider at Kathmandu

असोज ३ मा बनेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेपछि पेट्रोलियम पद्धार्थको हाहाकार मच्चिएको छ । मौज्दात (स्टक) पेट्रोलियम पद्धार्थको जोगाउन र वितरण प्रणाली व्यवस्थित बनाउन सरकारले जोर/बिजोर र कोटा प्रणाली लागू गरिसकेको छ । पेट्रोलियम पद्धार्थ नपाएपछि सर्वसाधारणहरु साइकलतर्फ आकषिर्त भएका हुन् ।

मायोज चाउचाउ उत्पादक कम्पनी हिमालय स्न्याक्स प्रालिका तीन जना कर्मचारीहरु आषिश वपोखरेल, सरोज गौतम र सौरभ रञ्जित भोटाहिटीस्थित पञ्च अष्टनारायण ट्रेडिङमा फिनिक्स ब्राण्डका साइकल किनिरहेका भेटिए । पेट्रोलियम पद्धार्थ नपाएपछि मोटरसाइकल हुँदाहुँदै पनि साइकल किन्न बाध्य भएको उनीहरु बताउँछन् ।

‘अपिस जानै पर्‍यो, सार्वजानिक यातायात चढिसक्नु छैन, साइकल भए त अपिस आउन जान पनि सजिलो, स्वास्थ्यलाई पनि फाइदा’ पोखरेलले भने ।

आफू नयाँ बाइक किन्ने सोचमा रहेको तर पेट्रोल अभावका कारण साइकल किनेको मायोजका अर्का कर्मचारी सरोज गौतमले बताए । ‘अब संभव भएसम्म साइकल नै चलाउने बिचारमा छु’ उनले भने ।

धेरै नेपालीहरुले मोटरसाइकलको ठाउँमा साइकल चढ्ने हो भने भारतसँगको आर्थिक परनिर्भरता कम हुने उनीहरुले बताए । ‘मोटरसाइकलमा तेलका लागि एक वर्षमा खर्च हुने पैसाले राम्रो साइकल आउँछ’ गौतमले भने- ‘साइकलको प्रयोग स्वास्थ्य, देशको अर्थतन्त्र र प्रदुषण नियन्त्रणका लागि निकै लाभदायक हुन्छ ।’

Cycle (14)

त्यसो त, गत आर्थिक वर्षमा मात्रै नेपालले भारतबाट १ खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ आयात गरेको छ । गत वर्ष नेपालले भारतमा कूल ५५ अर्ब ८६ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ भने भारतबाट ४ खर्ब ९१ अर्ब रुपैयाँ आयात गरेको छ ।

साइकल चढ्ने हो भने पेट्रोलियम पद्धार्थको आयातमा ३० देखि ४० अर्ब रुपैयाँ कम खर्च हुने उनीहरुको आँकलन छन् । हाल देशमा १५ लाख ६७ हजार मोटरसाइकल र ३६ हजार ६ सय ५१ ठूला बस, १७ हजार मिनिबस, १ लाख ६३ हजार कार तथा जीप, ९ हजार टेम्पो, ४ हजार माइक्रो छन् ।

मरिन साइकलको विषेशता

यो ब्राण्डका साइकल कम्तीमा ३० हजार रुपैयाँदेखि अधिकतम ३ लाख १५ हजार रुपैयाँसम्म पर्छन् । अमेरिककाको क्यालिफोर्निया स्थिति म्यारिन काउन्टीबाट संसारमै पहिलोपटक माउन्टेन साइकिलङको सुरुवात भएको थियो ।

त्यसैले यो ब्राण्डका साइकल माउन्टेन साइक्लिङका लागि विश्वभर प्रसिद्ध र महंगा छन् । यी ब्राण्डका महंगा साइकल लिएर नेपालको मुस्ताङलगायतका हिमाली जिल्लाहरुमा पनि जान सकिने अमात्यले बताए ।

Cycle (19)

मरिनले क्रसकन्ट्री, सडक साइकल र डाउनहिल साइकल उत्पादन गर्दै आएको छ । सडक साइकलहरु पीच सडककालाई लक्षित गरि बनाइएका हुन् भने डाउन हिल साइकल बिकट हिमाली जिल्लाहरुमा साइक्लिङ गर्न उत्पादन गरिएका हुन् ।

क्रसकन्ट्री साइकल चाहीँ पहाडी कच्चि बाटोलाई लक्षित गरि निर्माण गरिएका हुन् । सडक साइकलको मूल्य ३० हजार देखि ५० हजार रुपैयाँसम्म पर्ने अमात्यले बताए । यी साइकलमार्फत एक कन्टामा ३० किलोमिटरसम्म यात्रा गर्न सकिने उनले सुनाए ।

Cycle (2)Cycle (7)Cycle (16)Cycle (11)Cycle (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment