Comments Add Comment

मधेसी मोर्चाको मानवसाङ्लोमा मोदीको ब्यानर !

१४ असोज, काठमाडौं । मधेसी मोर्चाले विहीबार तराई मधेसमा आयोजना गरेको मानव साङ्लोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर अंकित ब्यानर देखिएपछि मधेसी मोर्चाका नेताहरुको प्रधानमन्त्री सुशील कोइराला हुन् या नरेन्द्र मोदी भन्ने प्रश्न पैदा भएको छ ।

Modi-Banner-At-Manab-Sanglo
त्यसैगरी सप्तरीका कतिपय ठाउँमा स्वतन्त्र मधेसका अभियन्ता सिके राउतका कार्यकर्ताहरु पनि टोपी लगाएरदेखा परे । कतिपय ठाउँमा भारतीय प्रधानमन्त्री मोदीको ब्यानर देखियो ।

सप्तरी सदरमुकाम राजविराजमा ‘जय नेपाल, जय मधेस र जय भारत’ माथि उल्लेख गरी मधेसी एकता जिन्दावाद, नेपाल भारत मैत्री अमर रहोस्’ जस्ता नारासहितको ब्यानर युवाहरुले बोकेर हातेमालो गरेको देखियो ।

ब्यानरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोसहित नेपाल र भारतको झण्डा समेत राखिएको थियो ।

तराईको हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बभनगामाकट्टी गाविसमा पंक्तिबद्व युवाहरु मानव साङ्लोमा सहभागी थिए । उनीहरु सबैले क्याप लगाएका थिए । टोपीको विशेषता भने अर्कै थियो । सिके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ उनीहरुको टोपीमा उल्लेख थियो ।

मानव साङ्लो प्रर्दशनमा सहभागी सीके राउतका कार्यकर्ताहरू
मानव साङ्लो प्रर्दशनमा सहभागी सीके राउतका कार्यकर्ताहरू

टोपी लगाएका युवाहरुले राउत आफूहरुलाई मन परेकाले उनको टोपी लगाएको प्रतिकृया दिएका थिए । टोपी लगाएकाहरुले ‘चल भैया आजाखी ले, चल बहना आजादी ले’ उल्लेख गरिएको पर्चा समेत वितरण गरेका थिए । हुलाकी राजमार्ग अन्तर्गत सबै ठाउँमा यस्ता पर्चा तथा पम्पलेट राउतका कार्यकर्ताले वितरण गरे ।

बिहीबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मानव साङ्लो कार्यक्रमको आयोजना गरेको हो ।

कांग्रेस, एमालेकै कार्यकर्ता सहभागी

सिके राउतसँगै सत्तासीन कांग्रेस, एमाले तथा प्रतिपक्षी एमाओवादीका कार्यकर्ताहरु पनि हातेमालोमा सहभागी देखिए । यद्यपि उनीहरुले कुनै पार्टीको झण्डा बोकेका थिएनन् ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले हुलाकी राजमार्गबाहेक पूर्व-पश्चिम राजमार्ग छेउका समेत जनता यहाँ आएर हातेमालो गरेको बताए ।

जनताको उत्साहजनक सहभागिता

Manab-Sanglo-At-Saptari

पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका तराई मधेसका जिल्लाहरु छुने हुलाकी राजमार्गमा उत्साहका साथ स्थानीयहरु एकअर्काको हात समात्दै मानव साङ्लो प्रदर्शन गरेका छन् ।

सप्तरीमा ५३ किलोमिटरसम्म हातेमालो गरिएको थियो । पूर्वमा कोशी ब्यारजेदेखि पश्चिम बलान खोलासम्म एक नगरपालिकासहित २० गाविसका बासिन्दाहरु एकैपटक, एकै समयमा एकअर्काको हात समातेर उभिएका थिए ।

सडकमा जम्मा भएकाहरुले हात समातेको हेर्न अन्य ठाउँबाट पनि सर्वसाधारणहरुको जमघट भएका थिए ।

सप्तरीको भारदह गाविसस्थित कोशी ब्यारेजदेखि मल्हनियाँ गाविससम्म एक लाखभन्दा बढी जनता हुलाकी राजमार्गमा आएका थिए । भारदहसहित एक नम्बर योगिनियाँ, दुई नम्बर योगिनियाँ, हनुमाननगर, इनर्वा, बभनगामाकट्टी, देउरी भरुवा, र्फसेठ, राजविराज नगरपालिका, जमुनी मधेपुरा, मलेकपुर, पत्थरगाडा, अर्नाहा, बनौली, बनौला, बोदे बर्साइन, फुलकाही, रौतहट, मौवाहा र बेल्ही र मल्हिनयाँ गाविससम्म हुलाकी राजमार्ग पर्दछ । ती गाविसका सर्वसाधारण स्वतःस्फूर्त रुपमा सडकमा आएर हातमा हात मिलाए ।

मेलाको जस्तो दृश्य

लामो समयको बन्द, हड्तालका कारण सुनसान रहेका सडकहरु बिहीबार टनाटन भरेको देखियो । को हिन्दू, को मुश्लिम, को ब्राह्मण को दलित । बालबालिकादेखि युवा, बृद्वबृद्वा र अपाङ्ता भएकाहरु सबै सडकमा आए । कोही धोतीमा त कोही पेन्ट र सर्टमा । महिलाहरु रंगबिरंगी साडी लगाएर एकअर्काको हात समात्न आ-आफ्नो घर अथवा गाउँ नजिकको हुलाकी सडकमा जम्मा भए । सर्वसाधारणको उत्साह हेर्दा सडकमा कुनै मनोरञ्जनात्मक कार्यक्रम गरिएको आभास हुन्थ्यो ।

Manab-Sanglo-At-Saptari-1

सरकार र तीन दलको बिरोधमा कार्यक्रमको आयोजना गरिए पनि बिरोध कार्यक्रमजस्तो लागिरहेको थिएन् । प्रचण्ड गर्मीको समयमा पनि कसैले छाता लिएर त कसैले टाउकोमा कपडा राखेर भए पनि एकअर्कासँग हात मिलाए । ‘जीवनमा पहिलोपटक यस्तो आन्दोलन देखें’ र्फसेठ गाविस झल्हीका विशेश्वर यादवले भने, “रमाइलोसँगै सरकारको बिरोध गर्न पाइयो ।”

मलेकपुर गाविसका जिबछ दास मानव साङ्लोमा सहभागी हुनका लागि आफू मात्रै नभई पूरै गाउँ नै उत्साहित भएको बताए । उनले दिउँसो एक बजेअघि नै आफूहरु सडकमा आइपुगेको सुनाउँदै भने, “आफ्नो गाविसबाट मात्रै दुई हजारभन्दा बढी जनता हातेमालो गर्न सडकमा आए ।”

एकले अर्कासँग खुशी साटासाट गर्दै गरेर हातेमालो गरिरहेको दृश्यले ठूलै उत्सव भइरहेको देखिन्थ्यो । उत्सवजस्तो नलागोस् पनि कसरी रंगबिरंगका कपडाका साथै झण्डाहरु बोकेर हाँस्दै सबै सहभागी भएका थिए ।

मानवता प्रष्टफुटित

हातेमालो गरिरहँदा खानेदेखि पिउनेसम्मको व्यवस्था गरिएको थियो । सडक नजिकै घर भएका व्यापारी तथा सर्वसाधारणले सर्वत, पानी, बिस्कुट, पापडसम्म वितरण गरे । कसैले पानी पिलाए त कसैले सर्वत । कसैले बिस्कुट खुवाए त कसैले पापड सेकेर हातेमालो गरेकाहरुलाई खुवाए ।

मलेकपुर गाविसका शिवनारायण दासले अत्यधीक घाममा उभेकाले मानवता प्रदर्शन गर्दै आफूहरुले सर्वत वितरण गरेको बताए ।

भारदहदेखि मल्हनियाँसम्म यस्तो दृश्यहरु प्रशस्त देखिन्थ्यो । ‘यसले एकअर्काप्रतिको सहिष्णुता बढाएको देखिन्छ’ विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले भने, “एकअर्कामा सहयोगको भावना जाग्नु सकारात्मक पक्ष हो ।”

अधिकारकर्मी शम्भुनन्द चौधरी एकले अर्कालाई सहयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिनु धेरै राम्रो भएको बताउँदै काँधमा काँध मिलाएर शान्तिपूर्ण प्रदर्शनलाई नै निरन्तरता दिनुपर्ने बताउँछन् ।

हातेमालोसँगै पुत्ला दहन

Manab-Sangla-and-Putla

मानव साङ्लोमा सहभागी भएर हातेमालो गरेकाहरुले मुख्य चार नेताप्रति आक्रोशसमेत पोखेका छन् । आन्दोलन शुरु भएदेखि नै आन्दोलनकारीले पुत्ला प्रदर्शन गर्दै आए पनि बिहीबार सर्वसाधारणले पनि चार नेता र जिल्लाका सभासद्हरुको पुत्ला दहन गरे ।

इनर्वा, बभनगामाकट्टी, मलेकपुर, पत्थरगाडा गाविसका बिभिन्न ठाउँमा हातेमालो गर्नेहरुले चार नेताको पुत्ला प्रदर्शन गर्दै जलाए । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री वामदेव गौतमको पुत्ला जलाए ।

अर्नाहा गाविसमा भने क्षेत्र नम्बर ४ निर्वाचित एमाले सभासद ताराकान्त चौधरीको पुत्ला जलाए । स्थानीय रामदेव चौधरीले सभासद चौधरीलाई गाउँ प्रवेशमा रोक लगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment