Comments Add Comment

केपी ओली प्रो नेपाली हो, उहाँ प्रधानमन्त्री नभए एमाले सरकारमा जाँदैन

bishnu-poudelमात्रिका पौडेल

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन शक्ति केन्द्रहरुले चलखेल थालेको सूचना एमालेमा पुगेको छ । तर, एमालेले ओली प्रधानमन्त्री बन्ने अवस्था नआए सरकारमा सहभागी नहुने जनाऊ सहयात्री दलहरुलाई दिएको छ ।

ओलीलाई प्रधानमन्त्री बनाउन बिभिन्न दलहरुसँग अनौपचारिक छलफलमा रहेका एमाले उपमहासचिव बिष्णु पौडेलले अनलाइनखबरसँग भने- ‘अबको सरकारको नेतृत्व एमालेले गर्ने कुरा यसअघि नै सहमति भइसकेको हो, सहमतीय सरकारको नेतृत्व ओलीबाहेक अरुले गर्ने कुरा आउँदैन ।’

पौडेलले अनलाइनखबरसँगको कुराकानीमा भने- ‘कुनै छलछाम वा अन्यथा भएमा एमाले सरकारमा सहभागी हुँदैन :

संसद अधिवेशन आजैबाट शुरु भएकोछ, अब यो संसदको प्राथमिकता नयाँ सरकार गठन हो कि संविधान संशोधनबाट मधेस आन्दोलनको माग सम्बोधन गर्ने हो ?

स्वभाविकरुपमा संविधानको व्यवस्थाअनुरुप संसद अधिवेशनको एक साताभित्र नयाँ प्रधानमन्त्री सहमतिका आधारमा निर्वाचित गर्ने र सहमति हुन नसकेमा बहुमतबाट निर्वाचित गर्ने भन्ने हो । संसद अधिवेशन शुरु भएको छ, अब संविधानअनुरुप प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढ्छ ।

होइन, तराई मधेस डेढ महिनादेखि अक्रान्त छ, अब त्यसको असर राजधानीमा समेत परिसकेको छ, त्यसलाई सम्बोधन गर्नु पर्दैन ?

संविधानमा चित्त नबुझेका विषयमा छलफल गरौं भनेका छौं । उहाँहरु वार्तामा आउनुपर्‍यो । मागहरु लिएर आएपछि त्यसमा छलफल हुन्छ । यो संविधानले नै संशोधनको बाटो राखेको छ । संशोधनबाट मिलाउन नसकिने खास केही पनि छैन । तर, संविधान लागु हुन नदिई यसरी जाने कुरा अनुचित हुन्छ ।

माग त उनीहरुले राखिसकेका छन् त, निर्वाचन क्षेत्र, नागरिकता, समानुपातिक समावेशी, सीमांकन….?

(बीचैमा रोकेर) यो तपाईले भनेर भएन । आन्दोलन गर्नेहरुले औपचारिक रुपमा लिएर आएपछि छलफल हुने हो । निर्वाचन क्षेत्र जनसंख्याका आधारमा हुने, समानुपातिक समावेशी शब्द राख्ने भन्ने कुरा प्रमुख नेताहरुले संविधानसामै भन्नुभएको छ र पछि पत्रकार सम्मेलनबाट पनि भन्नुभएको छ । मलाई लाग्छ, अब केही दिनमा राम्रो परिणाम आउँछ ।

अनि संसद अधिवेशन शुरु भइसक्यो, नयाँ प्रधानमन्त्री सहमतिबाट खोज्ने प्रक्रिया चाहिँ शुरु भएको छ कि छैन ?

अहिलेसम्म औपचारिकरुपमा खासै पहल भएको छैन । संसद अधिवेशन शुरु भएपछि सहमतिको आह्वान राष्ट्रपतिले गर्नुहुन्छ, त्यसपछि प्रयास शुरु हुन्छ ।

नयाँ प्रधानमन्त्री चयन गर्नका लागि अहिलेका प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन ?

संविधानले संसद अधिवेशन शुरु भएको एक सातामा प्रधानमन्त्री चयन गर्ने भनेको छ । त्यो अवस्थामा एउटा मुलुकमा दुई प्रधानमन्त्री हुँदैन । नयाँ प्रधानमन्त्री चयन गर्नका लागि अहिलेको प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।

नयाँ प्रधानमन्त्रीमा एमालेको दावी रहेको चर्चा त निकै चुलिएको छ होइन ?

एमालेको चर्चाभन्दा पनि स्वभाविक दाबेदारी हो । विगतमा कांग्रेेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने बेलामै एकखालको समझदारी भएको हो । पछि चारदलको १६ बुँदे सहमतिका बेला पनि समझदारी भएको कुरा हेा ।

तर, मान्छेको मन न हो, परिवर्तन हुन सक्छ नि ?

मान्छेहरुको मन परिवर्तन भएजस्तो लाग्दैन । त्यस्तो नहोला ।

एमालेबाट प्रधानमन्त्रीको दाबेदार केपी ओली देखिनुभएको छ, तर उहाँले त्यो दौड त्याग्नुभयो भने अहिलेको राजनीतिक संकट समाधानमा सघाउ पुग्छ भन्ने कुरा पनि आउन थाले नि होइन ?

केपी ओलीले प्रधानमन्त्री त्याग्नुपर्छ भन्ने व्यक्तिले टुँडीखेल उभिएर भनोस् । नत्रभने एमालेको संसदीय दलको नेता र पार्टी अध्यक्ष मात्र होइन, ओली अहिले राष्ट्रको नेता भएका कारण पनि प्रधानमन्त्री उहाँ नै हो । ओली प्रधानमन्त्री नहुने अवस्था आएमा एमाले सरकारमा जाँदैन ।

तर, ओलीलाई भारतले पटक्कै रुचाएको छैन भनिँदैछ, प्रो चाइनिज भन्दै भारतीय मिडियाहरु पनि फुकिरहेका छन्…?

केपी ओली प्रोनेपाली हो । उहाँले राष्ट्रको हितबाहेक केही सोच्नुभएन । संविधान निर्माणमा उहाँले कसैका दबाव स्वीकार गर्नुभएन ।

होइन, भारतसँग सम्बन्ध बिग्रिएको कुरा त सत्य हो नि ?

भारतसँग सम्बन्ध हाम्रो कारणले बिगि्रएको होइन र हामी बिगार्न पनि चाहँदैनौं । तर, राष्ट्रिय राजनीतिमा जसरी हाम्रो अध्यक्षले एक प्रकारले नेतृत्व गर्नुभयो, त्यस सन्दर्भमा विदेशीहरु उहाँलाई भेटेर समस्या समाधानको आग्रह गर्ने र अलि बढी अपेक्षा राख्ने कुरा स्वभाविक हो । तर, नेपाली जनतालाई संविधान दिनु उहाँको अपराध हो र ? अनि संविधान जारी गरे बापत उहाँले प्रधानमन्त्री त्याग्नुपर्ने कुरा युक्तिसंगत हुन्छ र ? मेरो यो प्रश्न छ ।

तर, दुई साता पर्खिनुस भनेर भारतीय प्रधानमन्त्रीले विशेष दूत पठाउँदा पनि नमानेर भारतको चित्त दुखाएको त हो नि ?

हामीले पर्खिने कि नपर्खिने भन्ने कुरै होइन । मुख्य कुरा संविधान जारी गर्न धेरै बिलम्ब भइसकेको थियो । हामी विगतमा संविधान जारी गर्न जसरी असफल भयौं, त्यो नियति नआओस् भनेर हामीले यसपटक ढिला गर्न चाहेनौं ।

त्यति नपर्खिँदा अब पुनर्लेखन हुनुपर्ने माग उठ्न थाल्यो मधेसबाट होइन ?

यो संविधान संविधान सभाले बनाएको हो । यसमा कुनै प्रकारको पुनर्लेखन हुन सक्दैन र हुँदैन । तर, सहमतिका आधारमा संविधानमा संशोधन हुन सक्छ ।

तपाईहरुले अडान लिँदा आज देश अक्रान्त बनेको छ, अघोषित नाकाबन्दी कहिलेसम्म थेग्नुहुन्छ ?

यो नाकाबन्दी सर्बथा अनुचित छ । यो नाकाबन्दी होइन भनेर भारतले भने पनि नाकाबन्दी नै हो । नेपालले के गरेको छ र नाकाबन्दीको सामना गर्नुपर्ने ? संविधान बनाएबापत नाकाबन्दी भोग्नु परेको सन्देशले उहाँहरुलाई फाइदा हुँदैन ।

तर, संविधान बनाउने एउटा स्टेक होल्डर बाबुरामा भट्टराई नै गल्ती भयो भन्दै माफी माग्न मधेस झर्नुले तपाईहरुले गल्ती गरेकै देखाएन र ?

बाबुराजमीले कहाँ गएर के भन्नुभयो, मलाई थाहा छैन । तर एउटा प्रष्ट कुरा के हो भने, यो संविधानमा बाबुराम भट्टराईको पनि हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment