Comments Add Comment

यी हुन् सिंहदरबारमा बदनामी कमाउने एमालेका ६ मन्त्री

१५ असोज, काठमाडौं । सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी एमालेका आधा दर्जन मन्त्रीहरुको अन्ततः चिरहरण भयो । पछिल्लो समय अख्तियारले डामेपछि विहीबार एकैदिन एमालेका दुई मन्त्रीले सिंहदरबार छाडेका छन् ।
UML ex-mantri
सुरुमा उद्योगमन्त्री कर्ण थापालाई एमालेले फिर्ता बोलायो । थापाले आर्थिक अनियमितता गरेकाले फिर्ता बोलाएको एमालेकै नेताहरु बताउँछन् । केपी ओली पक्षका युवा नेता थापा राम्रै सम्भावना बोकेका नेता थिए । बर्खास्तकै शैलीमा हटाइएपछि उनले आफू अन्यायमा परेको बताएका छन् ।

त्यसो त पर्यटन मन्त्रालयको जिम्मेवारीले पनि एमालेका धेरै नेताहरुको बदनाम गरेकाे छ । सुरुमा झलनाथ खनालका साँढुभाइ भीम आचार्यलाई अपमानजनक तरिकाले पर्यटन मन्त्रीबाट हटाइयो र झलनाथकै पीए दीपक अमात्यलाई मन्त्री बनाइयो । पछि अमात्य पनि आर्थिक लेनदेनमा बदनाम भएपछि उनलाई पनि हटाइयो र कृपासुर शेर्पालाई मन्त्री बनाइयो । शेर्पा मन्त्री भएपछि उनले अवैध श्रीमती राखेको पोल खुल्यो र यो विषय पार्टी हेडक्वार्टरसम्म पुग्यो ।

kripasur-Sherpa

यद्यपि मन्त्री शेर्पाले ओली निवास बालकोटमा भएको छलफलमा अवैध श्रीमती र छोरालाई सम्हाल्ने प्रतिवद्धता जनाएपछि उनको मन्त्री पद जोगियो ।

एमालेमा अर्का बदनाम पात्र बन्न पुगे कृषि मन्त्री हरि पराजुली । असार पन्ध्रको रोपाइँका दिन महिलाहरुसँग हिलो खेल्ने निहुँमा अभद्र व्यवहार गरेको दृश्य मिडियामा आएपछि मन्त्री पराजुलीले दबाव सहन नसकेर राजीनामा दिए । मन्त्री पराजुली समाजमा बदनाम पात्रका रुपमा सिंहदरबार छाड्न बाध्य बने ।

पछिल्लो समयमा विहहृीबार एमाले नेतृ एवं उर्जामन्त्री राधा ज्ञवाली प्रधानमन्त्रीबाट बर्खास्तीमा परेर बदनाम भएकी छिन् । प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्नु निकै ठूलो अपमान हो । तर, मन्त्री ज्ञवाली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबावमा परेपछि प्रधानमन्त्रीले उनलाई हटाएका हुन् ।

मन्त्री ज्ञवालीले सोलु कोरिडोरको विद्युत प्रसार लाइनको ठेक्कामा अनियमितता गरेको भन्दै अख्तियारले उनलाई हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

त्यसैगरी एमालेका तर्फबाट युवा तथा खेलकुद मन्त्री बनेका पुरुषोत्तम पौडेल पनि अख्तियारको दबावमा सिंहदरबार छाड्न बाध्य भएका छन् ।

मन्त्री पौडेलले प्रधानमन्त्रीलाई विहीबार बुझाएको लामो राजीनामा पत्रमा आफूमाथि अख्तियारले गलत तरिकाले दबाव दिएको तर्क गरेका छन् । तर, अख्तियारको दबाव सहन नसकेर एकै दिन एमालेका दुई-दुईजना मन्त्री बहिर्गमनमा पर्नु उसको पार्टीका लागि निकै ठूलो सेटब्याक हो ।

समग्रका कोइराला सरकारको मन्त्रीमण्डलमा सत्ता साझेदारी गरेका एमालेका ७ जना मन्त्रीहरु (आचार्य, थापा, अमात्य, शेर्पा, पराजुली, ज्ञवाली र पौडेल) को राजनीतिक छवि धुमिल बनेको छ ।

कांग्रेसलाई छोएन जस्ता र त्रिपालले

एमालेका ७/७ जना मन्त्रीहरुले बदनामी कमाए पनि विभिन्न काण्डमा मुछिएका कांग्रेसका मन्त्रीहरुलाई भने न अख्तियारले समात्यो, न त प्रधानमन्त्रीले नै कुनै कारवाही गरे ।

ram saran mahat and narayan khadka

त्रिपाल काण्डमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरिसकेको छ । तर, त्यसमा शहरी विकासमन्त्री डा. नारायण खड्कामाथि कुनै दोष लगाइएन र स्टोरकिपरमाथि मुद्दा चलाएर अख्तियारले बदनामी कमायो ।

खेलकुद परिषदको सदस्य-सचिव नियुक्तिमा मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्न दबाव दिने अख्तियारले त्रिपाल काण्डमा मन्त्री, सचिव र सहसचिव कसैको दोष देखेन ।

त्यसैगरी भूकम्पको राहत जस्ताकाण्डमा अर्थमन्त्रीका पीए मुछिए । मन्त्रीले आफ्नो पीएको खुलेआम बचाऊ, गरे । तर, अर्थमन्त्री डा. रामशरण महतलाई न प्रधानमन्त्रीले कारवाही गरे, न अख्तियारले नै केही गर्‍यो ।

अख्तियारले एमालेका नेताहरुमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेको र कांग्रेसका मन्त्रीलाई बचाउ, गर्दै आएको एमाले मन्त्रीहरुको गुनासो छ । कांग्रेसका तर्फबाट मन्त्री बनेका चित्रलेखा यादव, विमलेन्द्र निधी लगायतले कमिसन खाने गरेको तर, उनीहरुलाई सुशील कोइरालाले केही गर्न नसकेको एमाले नेताहरुको आरोप छ ।

सरकारमा बसेर बदनामी कमाउनेमा एमालेका गृहमन्त्री वामदेव गौतम पनि परेका छन् । मन्त्री गौतमले जतिसुकै सक्रिय भएर काम गरे पनि उनी आफ्नो कतिपय कियाकलाप र अभिव्यक्तिका कारण अलोकपि्रय बनेका छन् । चाहे त्यो पुतलीसडकमा जेब्रा क्रसिङ छाडेर डोरी नाघ्दा होस् या एसएसपी रमेश खरेलसँगको विवादमा नै होस् ।

अब नेकपा एमाले नयाँ सरकारको नेतृत्व गर्ने लाइनमा छ । केपी ओलीको नेतृत्वमा सरकारमा जान एमाले नेताहरुले खुट्टा उचालिरहेका छन् । तर, अब कोको अपमानको शिकार बन्ने हुन्, त्यो चाँहि हेर्न बाँकी छ ।

गोकर्णको लाइनमा लालबाबु निस्किए

एमालेका मन्त्रीहरुको भूमिका नकारात्मकमात्रै छैन । मन्त्री बनेवापत आफ्नो छवि उच्च बनाएर फर्कने नेतामा गोकर्ण विष्टको नाम लिने गरिन्थ्यो । अहिलेको मन्त्रिमण्डलमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो छवि उच्च बनाएका छन् ।

gokarna bista and lalbabu pandit

विष्टले उर्जामन्त्री हुँदा विद्युतको पैसा नतिर्नेहरुको लाइन काटिदिएर जनतामा लोकपि्रयता कमाएका थिए भने मन्त्री पण्डितले डीभी पीआरवाला सरकारी कर्मचारीमाथि कडा रुप अपनाएर जनतामा लोकप्रियता आर्जन गर्न सफल भएका छन् ।

अहिलेको सरकारमा सहभागीमध्ये एमालेले चुनाव हारेकालाई प्राथमिकता दिएको थियो । अब बन्ने सरकारमाचाँहि गैरसांसदले मन्त्री हुन नपाउने संविधानमै व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment