Comments Add Comment

बन्द र नाकाबन्दीले यातायात क्षेत्रमा साढे १२ अर्ब क्षति

Bus

रविन्द्र घिमिरे

१५ असोज, काठमाडौं । तराईमा विगत ५१ दिनदेखि जारी बन्द र भारतको अघोषित नाकाबन्दीले यातायात क्षेत्रमा झण्डै झण्डै साँढे १२ अर्व रुपैयाँ भन्दा बढी क्षति भएको यातायात ब्यवसायीले बताएका छन् । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बन्दका कारण यातायात क्षेत्रलाई दैनिक २० देखि २५ करोड रुपैयाँ घाटा भइरहेको बताए ।

यात्रु र मालबाहक सवारी प्रभावित

‘बन्द भनेपछि राजमार्गहरुमा नै अवरोध हुन्छ । यसले यात्रुबहाक र मालबहाक सवारी नै प्रभावित हुन्छन् । बन्दको पहिलो मार हामीलाई नै पर्ने भएकाले हामीले यो ५१ दिनमा साढे १२ अर्व भन्दा बढी क्षति भोगेका छौं’ महासचिव सिटौलाले भने ।

भारतको अघोषित नाकाबन्दीले पनि सवारीहरु नै प्रभावित भएको छ । सिटौलाले भने, तेल नपाउँदा यातायात क्षेत्रमा नै बढी असर परेको कुरा कतै लुकेको छैन । योसंगै उद्योग धन्दामा यसले असर गर्दा ढुवानी सबै प्रभावित छ ।’

तोडफोड र आगजनीको निशाना

जोखिम मोलेर गुड्दा पनि बन्दकर्ताले आफ्नो पहिलो निशना पनि यातायातका साधनलाई नै बनाउने गरेकाले क्षतिको आँकलन गर्न कठिन भएको उनले सुनाए ।

बन्दमा चलाएका सबारीमा पनि आगजनी र तोडफोड हुन्छ । मुख्य राजमार्गहरु तराईमै छन् । चीनको नाका बन्द हुँदा सबै समानमा भारतीय नाकाबाटै आउने गरेका थिए । ‘यात्रु बोक्नेदेखि मालसमान बोक्ने सबै सवारी तराई बन्द र नाकाबन्दीले पीडित छन्,’ सिटौलाले भने, ‘ गाडीमा हुने तोडफोड र आजगनीले कति क्षति पुर्‍यायो भन्ने अनुमान नै गरिएको छैन ।’

उनले समस्याको तत्काल समाधान गर्न सरकार र आन्दोलनकारीसँग आग्रह गरे । ‘यस्तो अवस्था जारी रहँदा देशको सम्पूर्ण आर्थिक क्षेत्र प्रभावित भएको छ । यसमा र असन्तुष्ट पक्ष जिम्मेवार हुनुपर्छ’ उनले भने, ‘बन्दको यो श्रृखंलाले देशमा लगानी गर्न चाहानेलाई पनि निरुत्साहित गरेको छ ।’

बन्द मुक्त र शान्ति क्षेत्र घोषणाको माग

महासंघले संविधानपछि राजमार्गलाई बन्दमुक्त र शान्ति क्षेत्र बनाउने सरकारी नीति आवश्यक रहेकोमा पनि जोड दिएको छ ।

‘जसको माग पुरा गर्न पनि सडकर सवारी रोक्ने परम्परा ज्यादै अन्यायपूर्ण र नाजायज छ’ महासचिव सिटौलाले भने, ‘नयाँ संविधान बनेपछिको परिस्थितिमा राजमार्गलाई बन्दमुक्त गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ । अत्यावश्यक सेवामा अवरोध गर्नेलाई पनि कडा कारवाही गर्ने नीति सरकारको हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment