Comments Add Comment

तातोपानी नाकामा जे देखियो, त्यही लेखियो

सरल सहयात्री

हामी मितेरी पुलमा पुग्दा मेरा मित्र इन्स्पेक्टर केशव शाह, अन्य शुरक्षाकर्मी मित्रहरु र पार्टीका स्थानीय कमरेडहरुसहित सर्वसाधारण पनि पुगिसकेका रहेछन् । केशवजीको सहयोगमा नेपाली बोल्न जान्ने चाइनिज बोर्डर सेक्युरिटी फोर्सका क्याप्टेन मिस्टर युन सीमानामा आइपुगे । हार्दिक स्वागतका साथ हामी उनको क्याम्पमा गयौं ।… सखुवातिर आइपुग्दा ब्यानरका साथ तातोपानी लागेको विद्यार्थीहरुको बससँग क्रस भयौं । एमाले विद्यार्थी संगठनको गाडी रहेछ ।

Metting-about-tatopani

भारतीय नाका बन्द भएपछि चाइनाको नाका खोल्नु एकप्रकारको राष्ट्रियताको सवालजस्तो बनेको छ । हुन त राष्ट्रिय आत्मनिर्भरताको विकल्प खोज्नु जतिको राष्ट्रियता अर्को कुनै देशको शरण पर्नुमा पक्कै हुँदैन । तैपनि नेपालको मामिलामा भारतले जति धेरै हस्तक्षेप गर्ने गरेको छ, त्यसको तुलनामा चीन नेपालको राष्ट्रिय स्वतन्त्रताको सम्मान गर्छ । त्यस कारण पनि नेपाली जनता चीनप्रति बढी सकारात्मक दृष्टिकोण राख्दछन् । त्यसैको परिणाम हो, अहिले भारतीय नाकावन्दी विरुद्ध चीनतर्फको नाका खोलियोस् भन्ने जनताको चाहना ।

भूकम्पले पहाडी इलाका तहस-नहस भएकाले चीनसँगको मुख्य नाका तातोपानी र खुल्दै गरेको रसुवागढी नाका झण्डै सात महिनायता बन्द छ । दुई पटक चीनको सहयोगमा अवरुद्ध राजमार्ग खुलाइए पनि वर्षातका कारण झरेको पहिरोले आवागमन अवरुद्ध छ । काठमाण्डौमा चीनको सहयोगबारे विभिन्न हल्ला चलिरहँदा नेता अग्नि सापकोटाका साथमा हामी तातोपानीतिर निरीक्षण भ्रमणमा गयौं ।

आफुले चुनावमा प्रतिस्पर्धा गरेको र निरन्तरको कर्मक्षेत्र भएकाले मलाई यहाँ के कस्तो अवस्था छ भन्नेमा अवगत नै छु । केही व्यक्तिगत र सांगठनिक कामको सिलसिलामा करिव एक महिना जिल्ला बाहिर भएका कारण वर्षातले अरनिको राजमार्गमा गरेको क्षतिको हल्ला ठुलै लागेको थियो । बाह्रबीसेसम्म त सामान्य आवागमन छँदैछ ।

त्यहाँ भन्दामाथि पनि सडक विभागले आफुसँग भएका मेसिनहरुमार्फत अवरुद्ध पहिरो हटाउँदै गएको रहेछ । पहिला पनि फराकिलो पूर्ण पक्की सडक बाह्रबीसेमाथि कहिल्यै छैन । यद्यपि वाषिर्क सात अरब राजस्व आम्दानी गर्ने चीनसँगको एकमात्र मुख्य नाका यही हो । भूकम्पका भग्नावशेषहरु यत्रतत्र भएता पनि मान्छेका चहल-पहल सामान्य भइसकेको छ राजमार्गमा । यद्यपि तातोपानी नाका नखुलेका कारण बाह्रबीसेमाथि आवागमन पातलो हुनु स्वभाविक हो ।

मितेरी पुलको १०० मिटर तल लिपिङ बजारमा बसेको पहिरो नै समग्र तातोपानी नाकाको मुख्य अवरोध हो । सरकारले ध्यान दिँदा बढीमा दुई दिनमा सफा हुन सक्छ

हामी कहीँ पनि नरोकिई दशकिलो भन्ने ठाउँसम्म पुग्यौं । पुरानो कन्टेनर पार्किङ पहिरोले पुरेर समथर बनेकाले हिलो माटो र ढुंगा भरिएको रहेछ । यद्यपि साना गाडी सजिलै पास हुने भइसकेको रहेछ । एकछिन त्यहाँ रोकिँदा सडक विभागका इन्जिनियर निरज थापाले आफुसँग पावरफुल मेसिन नभएको र पर्याप्त इन्धन पनि नभएको गुनासो पोखे । १४० हर्सपावरका स्काइभेटर र पाङ्ग्रवाला लोडर डोजर समेत गरेर संख्यामा ६/७ वटा मेशिन प्रयोग भएको भए पनि लिपिङमा आएको अजंगको ढुंगासहितको पहिरो हटाउन नसक्ने उनले बताए ।

यसबारे तीन पार्टीको बैठकमै कुरा उठाउने र तत्काल नाका सुचारु गर्न पहल गर्ने आश्वासन सापकोटाले दिनुभयो । हामी हिलो र तातोपानी बजार क्रस गर्दै लिपिङ बजार पुग्यौं । घट्टेखोलाको स्ल्याप बगाएकाले त्यहाँको बाटो अलि साँघुरो रहेछ । नत्र एकोहोरो मार्ग लिपिङसम्म खुलिसकेको छ । तर, मितेरी पुलको १०० मिटर तल लिपिङ बजारमा बसेको पहिरो नै समग्र तातोपानी नाकाको मुख्य अवरोध हो । सरकारले ध्यान दिँदा बढीमा दुई दिनमा सफा हुन सक्छ ।

ब्लाष्टिङ गर्दा बाँकी वसेका घरलाई क्षति गर्छ कि भन्ने चिन्ता हो स्थानीयको । विकल्पमा शक्तिशाली ब्रेकर लगाए पनि भइहाल्छ । तर, किन सरकार कानमा तेल हालेर बसेको छ ? बुझिनसक्नुको कुरा छ ।

हामी मितेरी पुलमा पुग्दा मेरा मित्र इन्स्पेक्टर केशव शाह, अन्य शुरक्षाकर्मी मित्रहरु र पार्टीका स्थानीय कमरेडहरुसहित सर्वसाधारण पनि पुगिसकेका रहेछन् । केशवजीको सहयोगमा नेपाली बोल्न जान्ने चाइनिज बोर्डर सेक्युरिटी फोर्सका क्याप्टेन मिस्टर युन सीमानामा आइपुगे । हार्दिक स्वागतका साथ हामी उनको क्याम्पमा गयौं । मेजर मिस्टर ल्याङका साथमा अरु दुई चिनियाँ कमाण्डरहरु अनौपचारिक भेटघाटमा सहभागी भए । यो एउटा अनौपचारिक रुपले स्थानीय अवस्थाको जानाकारी प्राप्त गर्ने भेटघाट थियो । चिनियाँहरुको साइडमा कुनै पनि अवरोध छैन ।

घरहरु चर्किएका कारण त्यसको पुनर्निमाण गरेर मान्छेहरुलाई पहिलेकै अवस्थामा बसाउन केही समय कठिनाइ हुन सक्छ । तर, उनीहरुको जानकारी अनुसार तेल, ग्यास र अन्य सामाग्रीहरु नेपालतर्फ पठाउनका निम्ति सरकारले तयारी गरिसकेको छ ।

यदि नेपालतर्फको राजमार्ग सफा हुने हो भने एक हप्ताभित्र नाका राम्रोसँग सञ्चालन गर्न सकिन्छ । हामीले पहिले जस्तै चाइनिज फोर्सले नेपाल तर्फको बाटो सफा गर्न सहयोग गर्ने कार्यक्रमका बारेमा तपाइलाई जानकारी छ ? भनेर सोध्यौं । त्यसको जिम्मा चाइनिज सशस्त्र प्रहरी बल र स्पेसल ट्राफिक प्रहरीको जिम्मामा हुने तथा आफूलाई जानकारी नभएको उनले बताए । करिव ४५ मिनेटको भेटघाट हाम्रो कारणले पनि सौहार्द भयो । म र कामरेड शरद पूर्वजनमुक्ति सेनाको कमाण्डर भएका कारण उनीहरुले आफ्नो आत्मीयता प्रकट गरे । त्यसको हामीले स्वागत गर्‍यौ ।

सरल सहयात्री
सरल सहयात्री

फर्केपछि स्थानीयसाथीहरुका विभिन्न गुनासा सुन्यौं । त्यो मध्ये कोदारीको थामीगाउँ माथि अड्किएको ठुलो ढुंगा ब्लाष्टिङ गरिदिन सेनालाई आग्रह होस् भन्ने अनुरोध गरे । त्यसलाई जसरी पनि सम्वोधन गर्छु भनेको छु । फर्कदैं गर्दा दिमागमा सरकारको जिम्मेदारी सम्हालेका नेता/मन्त्रीहरुका साँघुरा ‘राजनैतिक’ सोचहरु दिमागमा घुम्न थाल्यो ।

एकवर्ष अगाडि जुरेमा पहिरो जाँदा महिनौंसम्म बाटो अवरुद्ध भयो । त्यो पहिरो आधा देशको संकट थियो । देशमा यही सरकार थियो । सरकार छ/छैन स्थानीय जनतालाई अनुभव भएन । निकै दिनपछि पुगेका गृहमन्त्री वामदेव गौतमलाई जुरे तालको छेउमा सेल्फी खिच्दै गर्दा पीडितले ढुंगा हानेर लखेटे । सरकारको प्रमुख सहयोगी एमाले विभिन्न जघन्य अपराधिक कार्यमा संलग्न चरी मारिएको विषयलाई लिएर संसद अवरुद्ध गर्न थाल्यो, तर पहिरो पीडितका बारेमा एक शव्द बोलेन । अन्तिममा एमाओवादी अध्यक्ष प्रचण्डको वाह्रविसे भ्रमण पश्चात यहाँका पीडितका पक्षमा दुईदिन संसद अवरुद्ध गर्नुभयो । र पीडितलाई एकलाख सम्म भए पनि राहतको व्यवस्था गर्न सरकार बाध्य भयो । यद्यपि बाटो जस्ताको तस्तै रहयो ।

स्थानीयको निकै कडा संघर्षको बाबजुद दसैंको मुखमा एकसरो बाटो बल्ल खुलेको थियो । सरकारका वर्तमान अर्थमन्त्री रामशरण महत नै उबेला पनि मन्त्री थिए । उनलाई त्यहिबेला जुरे पहिरो भन्दा रसुवागढी नाका सञ्चालनको चासो बढेको प्रष्टै अनुभव भयो । अरनिको राजमार्ग छिट्टो खोल्नुको सट्टा यताका व्यापारिहरुलाई उतातिर स्थापित हुन अभिप्रेरित गरियो । रसुवा भन्सार व्यवस्थापनतिर जोड गरियो । जुरे पहिरोको घाउ नओभाउँदै महाभूकम्प गयो र अहिलेसम्म भूकम्पपछि गएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध छ ।

बारम्बार समाचारहरु आइरहेका छन् । ‘पहिले रसुवागढी खोल्ने अनि तातोपानी’ । आमरुपले कुरा ठिकै हो । जुन नाका खुले पनि नेपालीलाई सजिलो होस् । मेरो विचारमा रसुवागढी मात्र होइन, भारतको एकलौटी दादागिरी देख्दा नेपालबाट चीन जोडिएका र सम्भावना भएका जति सबै नाका खोलेको राम्रो । सबै नाकाहरुको व्यापारलाई वृद्धि गर्दा झनै राम्रो । तर, यो सोच सरकारको देखिएन । सिंगै राष्ट्र संकटमा परेका बेलामा समेत अर्थमन्त्री रामशरण महतको स्थानीय स्वार्थ नराम्ररी देखिन पुगेको छ । दुई दिनमा खुल्न सक्ने नाकामा योजनावद्ध वेवास्ता गरिएको छ । शक्तिशाली मेशिनहरु केन्द्रित गर्नु त कता हो कता, भएको मेशिनलाई तेलसमेत उपलब्ध गराइएको छैन ।

स्थानीयले यसको सीधा अर्थ लगाएका छन्, ताकि रसुवागढी चलोस् । मलाई लाग्छ, यति साँघुरो सोच देशभरिका जनताले अनुभव गर्नुपर्छ ।
सखुवातिर आइपुग्दा ब्यानरका साथ तातोपानी लागेको विद्यार्थीहरुको बससँग क्रस भयौं । एमाले विद्यार्थी संगठनको गाडी रहेछ । बेलुका समाचार हेर्दा थाहा भयो । तामझाम सहितको विदाइको न्युज सुन्दा अचम्म लाग्यो ।

Radhika-Khatiwada
बेल्चासहितको टोली चाइनिज कामदारलाई सहयोग गर्न हिँडेको रे । ११४ किलोमिटर टाढाको नाकामा चाइनिजले काम गर्दै छ कि नेपालीले भन्ने समेत थाहा नपाइकन सरकारमा सहभागी एउटा मुख्य दलका नेताले आफ्ना भुराहरुलाई बेल्चा बोकाएर फोटो खिच्न पठाउनुको सट्टा दुई चारवटा स्काइभेटर पठाइदिए कति धेरै राष्ट्रवादी हुने थियो ।

(सहयात्री एमाओवादी सिन्धुपाल्चोकका नेता तथा पूर्व जनमुक्ति सेनाका कमाण्डर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment