Comments Add Comment

बहस : अब राष्ट्रपतिले राजीनामा दिनुपर्छ कि पर्दैन ?

Rambaran-Yadav-and-Parmanan

१६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नयाँसरकार गठनको संवैधानिक प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आग्रह त गरे । तर, राजीनामा दिएको घोषणा गरेनन् ।

शुक्रबार व्यवस्थापिका संसदलाई सम्वोधन गर्दै कोइरालाले नयाँसरकारको गठन प्रक्रिया अघि बढाउन आग्रह गर्न शीतलनिवास जान लागेको सूचना दिए । संविधान घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने आफनो सार्वजनिक प्रतिवद्धता र संविधानको विद्यमान व्यवस्था अनुसार यस्तो अग्रह गरेको उनले बताए ।

संसदको सम्बोधनपछि कोइराला तत्कालै राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागे ।

प्रधानमन्त्रीको यो घोषणासँगै नयाँ प्रधानमन्त्री गठन प्रक्रिया शुक्रबारबाटै अघि बढेको छ । यद्यपि प्रधानमन्त्री कोइरालाले राजीनामा दिएको अनौपचारिक वा शाब्दिक घोषणाचाहिँ गरेका छैनन् ।

राजीनामाको बहस

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख चयन गर्ने समयसीमा नै तोकिएको छ । तर, नयाँ संविधानको अभ्यासका क्रममा बहालवालहरु औपचारिकरुपमा राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने बहस यतिबेला पहिलो बहस बनेको छ ।

केही कानूनविद एवं नेताहरुले राष्ट्रपति, प्रधानमन्त्री लगायतले राजीनामा पत्र नै बुझाउनु पर्ने बताएका छन् भने केहीले राजीनामा दिइरहनुनपर्ने र नयाँ नियुक्त भएपछिस्वतः पदमुक्त हुने तर्क गरेका छन् ।

राष्ट्रपति डा. रामवरण यादवका कानूनी सल्लाहकार एवं संवैधानिक कानुनका ज्ञाता ललितबहादुर बस्नेत प्रधानमन्त्री र राष्ट्रपति कसैले पनि राजीनामा दिइरहनु नपर्ने र नयाँ आउनेले उनीहरुलाई स्वतः प्रतिस्थापन गर्ने बताउँछन् । ‘अमेरिकाका राष्ट्रपतिले पनि राजीनामा दिँदैनन्, उनलाई नयाँले स्वतः रिप्लेस गर्छ,’ बस्नेतले अनलाइनखबरसँग भने-‘हाम्रो संक्रमणकालीन व्यवस्थामा पनि प्रधानमन्त्री र राष्ट्रपतिले राजीनामा घोषणा गर्नुपर्दैन, तर, पछिको संवैधानिक व्यवस्थामा भने पुरानाले राजीनामा दिनुपर्छ ।’

संविधान एवं कानूनका ज्ञातासमेत रहेका एमालेका प्रमुख सचेतक अग्नि खरेल भने यो कुरा मान्न तयार छैनन् । पुरानाले औपचारिक राजीनामाको घोषणा गर्नुपर्ने पक्षमा रहेका सांसद खरेल भन्छन्- ‘प्रधानमन्त्रीले पनि संविधान राम्रोसित पढ्नुभएकै होला, राष्ट्रपतिज्यूले पनि पढ्नुभएकै छ ।’

राष्ट्रपतिले उपराष्ट्रपतिलाई राजीनामा दिनु पर्ने

संक्रमणकालका लागि कसरी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको चुनावका लागि ‘अन्तरिम कार्यविधि’ व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको छ ।

संसदको नियमावली नबनेसम्मका लागि बनेको यो कार्याविधि अनुसार बहालवाल राष्ट्रपतिले उपराष्ट्रपतिसमक्ष राजीनामा दिनुपर्ने प्रमुख दलका नेताहरु बताउँछन् ।

संविधानको व्यवस्था अनुसार संसदको पहिलो अधिवेशन सुरु भएको आज शुक्रबारबाट ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गरिसक्नु पर्नेछ । त्यसअघि सात दिनभित्र सहमतिका आधारमा र नभए त्यसअघि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्नु पर्नेछ ।

आजको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नु पर्ने नयाँसंविधानमा व्यवस्था छ ।

संसद सचिवालयका अनुसार क्रमशः प्रधानमन्त्री, सभामुख/उपसभामुख र राष्ट्रपति/उपराष्ट्रपति चयन प्रक्रिया सुरु हुनेछ ।

अर्थात संसदले नयाँ सभामुख र उपसभामुख चयनपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको राजीनामा र चयन प्रक्रिया सुरु हुनेछ ।

एमाओवादीका एक नेताले भने-सभामुख चयन भएपछि राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुन्छ । वर्तमान राष्ट्रपतिले उपराष्ट्रपतिसमक्ष राजीनामा दिनुहुन्छ र चुनाव हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment