Comments Add Comment

‘पेट्रोलको अभावमा भारतजतिकै आयल निगम पनि दोषी’

Nepal-police-Petrol-pump

रविन्द्र घिमिरे

१६ असोज, काठमाडौं । अहिले नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुनुमा दोषी को ? धेरैैको एउटै उत्तर हुन सक्छ, अघोषित नाकाबन्दी गर्ने भारत सरकार नै दोषी हो । तर, विभिन्न सरोकारवाला पक्ष नेपाल आयल निगमलाई पनि उत्तिकै दोषी मान्छन् ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिशनका अध्यक्ष लिलेन्द्र प्रधान भन्छन् ‘भारतले नाकाबन्दी लगाएपछि अभाव चर्किएकै हो । तर, भुल्न नहुने तथ्य के हो भने भारतले नाकाबन्दी गरेको तीन दिनमै बजारमा पेट्रोलियम पदार्थको अभाव भयो । किन ?’

उनले थपे, ‘पेट्रोलियममा परनिर्भर देशमा आपूर्ति बन्द भएको दुई-तीन दिनमै देखिएको अभावले पुष्टि गर्छ कि, यसमा नेपाल आयल निगम पनि भारतजतिकै जिम्मेवार छ । सधैं यति नै भण्डार क्षमताले माग धान्न सकिन्छ र ?’

आयल निगमका एक पूर्वअधिकारीले पनि यस्तै प्रतिक्रिया दिँदै भने – ‘३/४ दिन कुनै पनि कारण तेल काठमाडौं भित्रिएन भने बजारमा अभाव देखिइहाल्छ । यो हाम्रो भण्डारण क्षमता नभएकै कारणले हो ।’

निगम १० वर्ष लामो निन्द्रामा

नेपाली पेट्रोलियम बजारमा ४५ वर्षदेखि एकछत्र राज गर्दै आएको नेपाल आयल निगमले आफ्नो एक थोपा पनि भण्डारण क्षमता नबढाएको १० वर्ष भएको छ ।

निगमले सन् २००५ यता कुनै डिपोको भण्डारण क्षमता बढाएको छैन । निगमले त्यतिबेला एशियाली विकास बैंकको सहयोगमा भण्डारण बढाएको थियो । तर, निगमले सहयोग पाउन छोडेपछि क्षमता बढाउने सबै काम रोकेको छ ।

कम्तिमा एक/डेढ महिनालाई पुग्ने गरी भण्डार बनाएर राखेको भए यस्ता नाकाबन्दी र अवरोधको सामना गर्न निकै सहज हुने पेट्रोलियम ब्यवसायीको आँकलन छ । उनीहरु निगम १० वर्षसम्म निदाएका परिणाम अहिले देखिएको भन्दै आक्रोश पोख्छन् ।

माग दोब्बर, तर भण्डारण उति नै

१० वर्षअघि सवारीको चाप अहिलेको भन्दा निकै न्यून थियो । त्यतिबेला आपूर्ति रोकिए पनि कम्तिमा २० दिनलाई तेल अभाव हुँदैन थियो । तर, सवारी साधनको चाप र तेलको माग उच्च हुँदै जाँदा पनि निगमले आफ्नो तेल भण्डारण क्षमतालाई बढाएन ।

पछिल्लो १० वर्षको बीचमा पेट्रोलियम पदार्थको माग दोब्बरले बढेको छ । वाषिर्करुपमा निगमले पेट्रोलियम आयात १० देखि १५ प्रतिशतले बढाउँदै लगेको तथ्यले पनि यसलाई पुष्टि गर्छ ।

सबै डिपोहरुमा तेल पूर्ण भण्डारण गरेकै स्थितिमा अहिले अभाव भइहालेमा मागअनुसार बिक्री गर्दा एकसातालाई मात्र माग थेग्ने ब्यवसायी बताउँछन् । वर्षाको समयमा राजमार्गमा अवरोध हुनासाथ बजारमा तेल पठाउन कञ्जुस्याइँ गर्ने निगमले भण्डारण क्षमता बढाउन ध्यान नदिँदा समस्या चर्को बनेको अध्यक्ष प्रधानले आरोप लगाए ।

मट्टीतेलका ट्यांक प्रयोग गर्न सुझाव

उनले उपयोगविहीन भएर बसेका मट्टीतेलका ट्यांकहरुलाई मात्र प्रयोग गरे पनि निगमको भण्डारण क्षमतामा सुधार हुने बताए । ‘पहिले जस्तो मट्टीतेल अहिले खपत हुँदैन । त्यसैले मट्टीतेलका धेरै भण्डारण ट्यांक खाली छन् । त्यसैमा प्राविधिक सुधार गरेर डिजेल र पेट्रोल हाल्न सकिन्छ,’ उनले भने, ‘महिनामै करोडौं नाफा गरिररहेको निगमलाई नयाँ ट्यांक नै बनाउन पनि असहज होलाजस्तो मलाई लाग्दैन ।’

काठमाडौंको पेट्रोलियम बजार

देशभरमा सबैभन्दा बढी तेलको माग काठमाडौं उपत्यका र आसपासका क्षेत्रमै हुन्छ । काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारको क्षमता १८ लाख ७० हजार लिटर छ । बजारमा समान्यमा दैनिक माग ३ लाख लिटर छ ।

आपूर्ति रोकिएर पनि मागअनुसार नै पेट्रोल वितरण गर्ने हो हालको भण्डारणले ६ दिनमात्रै धान्ने देखिन्छ । यसैगरी थानकोट डिपोमा ८ हजार ४ सय किलोलिटर डिजेल भण्डारण गर्न सकिन्छ । दैनिक झण्डै ४ लाख ५० हजार लिटर डिजेलको माग काठमाडौंमा छ । यसअनुसार त्यसले आपूर्ति रोकिँदा १५ दिनसम्म बजारको मागलाई थेग्न सक्छ । तर, सामान्य अवस्थामा पेट्रोलियम ट्यांकरले सिधै पेट्रोलपम्पमा तेल पुर्‍याउने गरेका कारण निगमले भण्डारणमा त्यति ध्यान नदिएको निगमका एक पूर्वअधिकारीले बताए । ‘अरुबेला तेल बोकेका ट्यांकर सिधै पम्पमा पुगेर खन्याउँछन् । त्यसले भण्डारण लोड-अनलोडको दोहोरो तनाव हुँदैन । यही कारण भण्डारणमा निगमले जोड नदिएको हो ।’

ग्यासको भण्डारण नै छैैन

तेलमा तीन दिनको माग धान्ने भण्डारण क्षमता भएको निगमसंग अहिले ग्यासको भण्डारण क्षमता ‘जेरो’ छ । वाषिर्करुपमा ग्यासका लाखौं ग्राहक थपिँदै गर्दा निगमले अहिलेसम्म आफ्नो छुट्टै ग्यास भण्डार बनाएको छैन । नेपालभर रहेका ५३ वटा ग्यास उद्योगका बोटलिङ प्लान्टलाई निगमले भण्डारण कै रुपमा ब्याख्या गर्ने गरेको छ । जसका कारण एक-दुई दिन ग्यास भारतबाट आएन भने नेपालमा ग्यासको हाहाकर सुरु भइहाल्छ । उद्योगहरुले मागअनुसार ग्यास पाउन छोडेपछि बजारमा अभावको हल्ला फिँजाउने गरेको उपभोक्ताको गुनासो छ । निगम आफ्नो भण्डार नभएपछि सिधै ग्यास बुलेट उद्योग पठाउँछ र अभावको बेला उद्योगले दिने ‘ग्यास छैन’ भन्ने जवाफमा लाचार बन्छ ।

के योजना छ त निगमको ?

तेलको भण्डारण बढाउन र ग्यास भण्डार स्थापना गर्न निगमले योजना नै नबनाएको होइन । निगमले भण्डारण क्षमता बढाउने गरी १५/२० वटा योजना सार्वजनिक गरेको छ । जसमा काठमाडौंमा ७ लाख लिटर तेलको भण्डारण बढाउने पनि उल्लेख छ । तर, ती योजना बोर्ड बैठकले पारित गर्न बाँकी रहेको निगमका प्रवक्ता दीपक बरालले बताए ।

‘भण्डारण बढाउन हामीले प्राथमिकताका साथ योजनाहरु तयार गरेका छौं,’ बरालले भने, ‘निर्णय हुन बाँकी नै छ, भएपछि कार्यान्वयमा लैजान्छौं ।’ संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमलाई ग्यासको भण्डारण पनि गर्न निर्देशन दिएपछि निगमले प्रक्रिया अघि बढाएको जनाएको छ । काठमाडौं, जनकपुर, मेची-कोशी, पश्चिमाञ्चल, र सुदुरपश्चिमाञ्चलमा एक-एकवटा ग्यास भण्डार डिपो राख्ने निगमको योजना छ । यस्तै हवाइ इन्धनको डिपो पनि देशका विभिन्न क्षेत्रमा राख्ने कागजी योजना तयार छ । तर, कार्यान्वयनमा भने सबै पक्षको आशंका यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment