Comments Add Comment

एक हप्ता पर्खनुस्, अनि देख्नुहुन्छ कहाँ विसर्जन हुन्छ ‘त्यो’ राष्ट्रवाद : बाबुराम

Baburam-and-hisila-yami-At-Gorkha
१६ असोज, गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिपप देखाउन थालेपछि ‘राष्ट्रवाद’का स्वरहरु मत्थर हुँदै गएको बताएका छन् । साथै उनले अबको एक सातामा नेपाली राजनीतिमा पदका लागि शक्तिकेन्द्र धाउने अनेकौं नाटकको पटाक्षप हुने बताए ।

एमाओवादी र संसद सदस्य परित्यागको घोषणा गरेपछि पहिलो पटक गृहजिल्ला पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने-‘मैले अहिले नै भन्दा अन्यथा अर्थ लाग्छ । तर, एक हप्ता पर्खिएर हेर्नुस्, नाटक त अझ देख्नुहुन्छ तपाईंहरुले ।’  पर्दापछाडि मञ्चन भइराखेको नाटकहरु आफूले देखिसेको भन्दै उनले भने-‘तपाईंहरुले अझै देख्नुभएको छैन । एक हप्ता पर्खिएर हेर्नुस्, अनि नाटक मञ्चन हुन्छ, कसरी पदका लागि चाकडी र दलाली गरिन्छ त्यो देख्नुहुन्छ ।’

एकै पटकमा ५/१० जनालाई प्रधानमन्त्रीसहित थुप्रै पदको प्रलोभन देखाइएको भन्दै उनले भने-त्यसको निम्ति कसरी लोभ्याइन्छ, शक्तिकेन्द्रसम्म कसरी मान्छेहरु धाउँछन् र के हुन्छ तपाईंहरुले पनि देख्दै जानुहोला ।’

तराई-मधेस र थारुवानको माग सम्बोधन सम्बोधन गर्नुपर्छ भन्दा बाबुरामले उक्सायो भनेको भन्दै उनले असन्तुष्टि जनाए । उनले भने-‘तीनै मान्छेहरुले बडो राष्ट्रवादका कुरा गरे । कसैले साइकल चढ्ने राष्ट्रवादका कुरा गरे, कसैले टुकी बाल्ने राष्ट्रवादका कुरा गरे । हेर्नुस्, उनीहरुका स्वर के हुँदै गएको छ अहिले ?’

पदको ललिपप देखाउन थालेपछि ‘राष्ट्रवाद’का स्वर मत्थर हुँदै गएको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने-‘एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ-कहाँ गएर विसर्जन हुँदो रहेछ ‘त्यो’ राष्ट्रवाद ।’

पार्टी परित्याग आश्चर्यको विषय होइन

भट्टराईले आफ्नो एमाओवादी पार्टी परित्याग कुनै आकस्मिक विषय नभएको बताए । एक/डेढ वर्षदेखि नै संविधानसभाबाट संविधान बनेपछि मूलतः पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएर आर्थिक क्रान्ति र समृद्धिको चरण सुरुवात हुने र त्यो स्थितिमा नयाँ राजनीतिक शक्तिको आवश्यकता पर्ने आफूले भन्दै आएको उनले बताए ।

संविधानसभाबाट संविधान जारी भएपछि पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएको सन्दर्भमा नयाँ शक्ति निर्माणको छलफलका निम्ति सहज होस् भनेर नै आफूले पार्टी परित्याग गरेको उनले प्रष्ट पारे ।

केही समय राजनीतिक भूकम्पको परकम्प

उनले आगामी केही दिन, केही महिना उथलपुथल हुन सक्ने बताए । बैशाख १२ को भूकम्पको परकम्पहरु अहिले पनि आइरहेको भन्दै उनले असोज ३ मा राजनीतिक रुपमा ठूलो भूकम्प गएको र त्यसका परकम्पहरु केही समय देखा पर्ने बताए  ।

‘त्यो एक ढंगको समाज विकास र परिवर्तनको ठूलो भूकम्प त गयो तर त्यो त्यत्तिकै सिद्धिँदैन’ उनले भने-‘तराई-मधेशमा, थारुवान क्षेत्रमा भएको आन्दोलन र पछिल्लो चरणमा सीमा नाघेर भएको भारतीय नाकाबन्दी र त्यसले निम्त्याएको अस्तव्यस्तता युग समापनरुपी राजनीतिक भूकम्पका क्रममा आएका परकम्पहरु हुन् ।’

डा. भट्टराई गोरखापछि भैरहवा हुँदै धनगढीसम्म जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment