Comments Add Comment

‘प्रेमिका’ मार्न पेस्तोल, पेट्रोल र खुकुरी

१७ असोज, काठमाडौं । प्रेममा पागल भएपछि मान्छेले केसम्म गर्दारहेछ भन्ने बैतडी, देउलेख–४ का २४ वर्षीय भूपेन्द्र कार्कीले बिहीबार चरितार्थ गरिदिए। प्रेमिकाले चार वर्षदेखिको प्रेममा धोका दिएको भन्दै उनको घरमै पुगेर गोली हाने तर पेस्तोलले पनि उनलाई धोका दियो। लगत्तै खुकुरी हान्ने प्रयास गरे तर समयमै प्रहरी पुगेकाले कार्की पक्राउ परे, युवतीको ज्यान जोगियो।

Gunप्रहरीका अनुसार बिहीबार बेलुका बानेश्वर, आलोकनगरस्थित एक घरमा भएको नाटकीय घटना झन्डै गम्भीर अपराधमा परिणत भयो।

कार्की त्यस घरका सदस्यसँग पूर्वपरिचित थिए। उनले त्यहाँ पुग्नासाथ गोजीबाट पेस्तोल निकालेर युवतीलाई ताक्दै टि्रगर दबाए।

पेस्तोलको पिनले छोए पनि प्राविधिक समस्याले गोली चलेन। पेस्तोलले काम नगरेपछि उनी झोलाबाट खुकुरी निकाल्ने प्रयास गर्दै थिए।

कार्कीको व्यवहार देख्नासाथ घरपरिवारका सदस्यले प्रहरी कन्ट्रोलमा फोन गर्न भ्याएकाले खुकुरी हान्नुअघि नै नजिकै रहेको प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ त्यहाँ पुगेको थियो। त्यसैले उनले खुकुरी हान्न पाएनन्।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरीले कार्कीलाई कार्यालयमा ल्याएर उनीसँग रहेको झोला खोतल्दा कटुवा पेस्तोलसँगै चार राउन्ड गोली, खुकुरी, चक्कु, पेट्रोल भरिएको बोतल अनि नाइलनको डोरी फेला पर्यो । प्रहरीले केरकार गर्दा उनले ती सबै सामग्री युवतीको हत्याकै लागि बोकेको बताए।

महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा रहेका युवकमाथि प्रहरीले अवैध हतियार र हत्या प्रयास आरोपमा अनुसन्धान अघि बढाएको छ।

अनुसन्धान अधिकारीका अनुसार युवक र युवती एकै गाविसका हुन्। युवती पढ्ने स्कुलको लेखापाल रहेका कार्की ती युवतीलाई औधि मन पराउँदारहेछन्। चार वर्षदेखि दुवैबीच राम्रो सम्बन्ध थियो।

विद्यालय शिक्षा सकाएर युवती ६ महिनाअघि कलेज पढ्न काठमाडौं आएपछि कार्कीको व्यवहार फेरियो। कार्कीले काठमाडौंमै आएर ती युवतीलाई आफूसँगै जान दबाब दिन थाले।

घरमा आएर सधैँ बबाल गरेको भन्दै युवतीका आफन्तले प्रहरीलाई खबर गरेपछि गत असारमै कार्की पक्राउ परेका थिए। बानेश्वर प्रहरीले सार्वजनिक अपराध मुद्दा प्रक्रिया पनि अगाडि बढाएको थियो।

‘असारमा उनले घरमा गएर विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा हिरासतमा राखेको थियो,’ बानेश्वर वृत्तका डिएसपी दानबहादुर कार्कीले नागरिकसँग भने, ‘दुवैतिरका परिवारका सदस्यबीच मिलापत्र गरायौं, युवकले पनि अबदेखि दुःख दिन्नँ भनेको थियो तर सुध्रनुको साटो गम्भीर योजना बनाएछ।’

भूपेन्द्रले आफूलाई ती युवतीले प्रेममा धोका दिएकाले उनको हत्या गरेर आत्महत्या गर्ने योजना बनाएको बयानमा खुलेको प्रहरी भनाइ रहेको नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment