Comments Add Comment

नाकाबन्दीमा भारतको कुटनीतिक पराजय भइसक्यो

दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर

भारतीयहरुले नेपाललाई नाकाबन्दी गरेका छैनौं भनिरहेका छन् । यो निर्लज्जताको पराकाष्टा हो । आन्त्रिक राजनीति मिलाएको भोलिपल्टै ठीक हुन्छ भनेको चाहिँ के हो नि, मोदीज्यू ? भारतले सदियौंदेखि नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको लुकेर लुक्ने अवस्थामा छैन ।

Deependra-Bhadur-Khestriराजनीतिक अभिष्ट पूरा गर्न व्यापारिक नाकाबन्दी गरेको भारत नैतिक र कुटनीतिक हिसाबले असफल भइसक्यो । संयुक्त राष्ट्र संघमा सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपतिले ठूलो देशले सानो देशलाई नाकाबन्दी गर्न पाइँदैन भन्नु कुटनीतिकरुपमा गतिलो झापड हो ।

भारतभित्रको राजनीतिक ‘छयाँफयाँ’ मिलाउनका लागि नेपालीलाई हतियार बनाइएको हो भन्ने कुराहरु पनि सार्वजानिक भइरहेका छन् ।

बिहारमा अत्यधीक शक्ति आर्जन गरेको नीतिशकुमार र त्यसअघि बिहारमा एकछत्र राज गरेको लालु यादव र अहिले सत्ताबाट बाहिर गएपछि रन्थनिएको कांग्रेस, यी तीन शक्तिको गठजोड चाँहि मोदी सरकारले व्यहोर्नैपर्ने अवस्था आएको छ भन्ने कुरा पनि सार्वजानिक भएको छ । यी तीन शक्ति एक ठाउँमा बस्दा मोदीजीलाई वास्तवमा फलामको चिउरा चपाउनुपर्ने अवस्था रहेछ, यो उहाँहरुको आन्तरिक मामिला भयो ।

तर, नेपालको सन्दर्भमा के हो भने उहाँ (भारतीय शासक) हरु ठान्नुहुन्छ कि काठमाडाैं जहिल्यै पनि भारतबिरोधी छ र अहिले जे जति कुराहरु भइरहेका छन्, यो सबै काठमाडौंले मात्रै अनुभव गरेको हो, पहाड, नेपालका अरु भागले यस्तो अनुभव गरेका छैनन् । अनि तराई त काठमाडौंको बिरोधमै छ ।

त्यसकारण काठमाडौंलाई पाठ सिकाउनका लागि भए पनि यो नाकाबन्दी उपयुक्त हो भन्ने किसिमले उहाँहरुले भारतीय मिडियाहरुलाई सूचना दिइरहनुभएको छ । यदि त्यस किसिमको उहाँहरुको आँकलन हो भने नेपालमा जे जति भारतबिरोधी बिचारहरु पहिलादेखि झाँगिइरहेका थिए । त्यसलाई यसले मलजल गरेको छ ।

उहाँहरुले गरेको आँकलन वास्तवमै गलत छ । मान्छेलाई चोट परेपछि त्यो चोट हृदयको कुनै न कुनै कुनामा अजर र अमर भएर रहन्छ । र, मौका पाउनेबित्तिकै झाँगिइन्छ ।

वर्षौंसँम्म पेट्रोलियम पदार्थ दिन्छु भनेर सम्झौता गरेको भारतीय आयल निगमले तपाईहरु आफ्नो आन्तरिक राजनीति मिलाउनुहोस्, अनि मात्रै तेल दिन्छु भन्न मिल्छ ?

सम्झौताअनुसार तेल पाउनु हाम्रो अधिकार र दिनु उसको कर्तव्य हो । तर, उसले किन त्यसो भन्यो भन्दाखेरि राज्यले उसलाई जस्तो निर्देशन दियो, उसले त्यसै भनेको हो । यस्तो अवस्थामा कसरी भारतीय सरकार पानीमाथिको ओभानो हुन सक्छ ?

हाम्रो आन्तरिक मामिला मिलाउन भारतीय भूमिबाट ढुंगामुढा हुनुपर्ने ? नेपालका आन्दोलनकारीलाई भारतमा मेस बनाएर खाना खुवाउने ?

 मोदीजी कतिको विश्वसनीय हुनुहुँदोरहेछ भन्ने परीक्षा भइसकेको छ । मोदीजीले नेपालको सार्वभौम सांसदमा आएर गौतम बुद्ध नेपालमा जन्मिएका हुन, नेपाली हुन् भन्नुभयो । अनि केही समयपछि गौतम बुद्ध भारतीय राजकुमार (इण्डियन प्रिन्स) हुन् भन्नुभो । तपाईले त झुट बोल्नु भो नि मोदीजी ? भन्ने प्रश्नमा न्यूयोर्कमा यस्तो प्रतिप्रश्न गर्नुभयो- बुद्ध जन्मिनचैं नेपालमा जन्मिएका, तर भारतमा बुद्धत्व प्राप्त गरेको हुनाले बिचार प्रधान कि शरीर प्रधान ?

तर, मान्छे नै नजन्मिएको भए शिक्षा-दीक्षाको कुरा सम्भव हुन्छ र मोदीजी ? मोदीजीको भूमिका जोखाना हेर्ने धामीको भन्दा बढी देखिएन ।

अचम्म छ, हाम्रो आन्तरिक मामिला मिलाउन भारतीय भूमिबाट ढुंगामुढा हुनुपर्ने ? नेपालका आन्दोलनकारीलाई भारतमा मेस बनाएर खाना खुवाउने ? के नेपालले भारतीय आन्दोलनकारीलाई यतिविधि संरक्षण गरेको भए भारतीयहरु हेरेर बस्थे ?

भारतमा कुनै अपराध गरेको मान्छेलाई उनीहरुले बानेश्वरमा आएर पक्रिएर लिएर गएको इतिहास साक्षी छ । भारतीय सुरक्षाकर्मीहरु नेपाल प्रवेश गरेर बितन्डा मच्चाएका थुप्रै उदाहरणहरु छन् । दुई सार्वभौम देशका बीच यस्तो गर्न सुहाउँछ ?

यही कुरा हाम्रो सरकारी तवरबाटचाहीँ भन्ने आँट आउँदैन । किनभने हामी आशामुखी छौं । पटुका कसेर बस्नुपर्ने हाम्रो अवस्था छ । अलि खुकुलो बनायौं भनेदेखि गोजेरो भर्नका लागि भए पनि भारतबाट आएन भने सकिँदैन भन्ने मानसिकता छ ।

नेपाललाई आत्मनिर्भर बनाउने हो भने २४ घण्टामा कति घण्टा सुत्ने हो, कति घण्टा काम गर्ने हो, र कति घण्टा मुलुकका लागि चिन्तन गर्ने हो, त्यो पनि छुट्याउनुपर्छ । त्यसो भइदियो भने ३ करोड नेपालीले १/१ घण्टा मात्रै देशका लागि सोच्ने हो भने राष्ट्रियता पनि उजागर भएर आउँछ । देश पनि सक्षम र आत्मनिर्भर बन्छ ।

विगत ०४५ सालको १३ महिने नाकाबन्दीपछि पनि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत गएर कुराकानी गरेपछि नाकाबन्दी फुकुवा भएको थियो । कुरो आर्थिक, तर गाँठो गएर राजनीतिमा बसेको रहेछ भन्ने त त्यसबेलै पुष्टि भएको हो नि । ००७ सालमै भन्नुहोस्, जसको बिरोधमा नेपालमा आन्दोलन भएको थियो । तर, भारतबाट फर्केर आउँदा त त्यही पो प्रधानमन्त्री भए ।

पशुपति क्षेत्र विकास कोषको सचिवमा पहिल्यै भएका सचिवलाई निरन्तरता देऊ भनेरसमेत भारतीय शक्तिले ठूलो दबाव दिएकोसम्म फेला पारियो । पशुपति विकासकोषको प्रशासकमा त भारतले दबाव दिन्छ भने भारतले दबाव नदिने कुन चै ठाउँ होलान् ?

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment