Comments Add Comment

इन्धन अभावले उद्योग प्रभावित

१७ असोज । त्रैमासिक बैंकिङ ब्याज र किस्ता एवम् दसैँको भत्ता मजदुर कर्मचारीलाई खुवाउने बेलामा इन्धन र कच्चापदार्थको अभावका कारण उद्योग ठप्प भएपछि भारतीय अघोषित नाकाबन्दीको प्रत्यक्ष प्रभावमा यहाँका उद्योग परेका छन् ।

जसका कारण विगत दुई हप्तायता कतिपय उद्योग बन्द छन् भने सञ्चालन भएका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । इन्धन नहुँदा उत्पादित सामग्री बजार पुग्न सकेका छैनन् भने कच्चा पदार्थ नआउँदा थप समय उद्योग सञ्चालन हुने अवस्थामा कुनै पनि उद्योग छैनन् ।

चितवन जिल्लामा मात्रै साना ठूला गरी १२ हजार उद्योग रहेको चितवन उद्योग सङ्घले जनाएको छ । जसमा रु तीन सय अर्बभन्दा बढी लगानी भएको सङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी बताउनुहुन्छ । उहाँले जिल्लाका आधाभन्दा बढी उद्योग इन्धन र कच्चा पदार्थको अभावमा बन्द भएको उल्लेख गरे ।

छिमेकी देश भारत र चीनले समेत चितवनका उद्योगमा लगानी सुरु गरेका बेला अघोषित नाकाबन्दीका कारण उद्योग प्रभावित बनेपछि बाह्य लगानी भित्रिनसमेत कठिनाइ हुने उनले बताए ।

चाडबाडको मुखमा मजदुर कर्मचारीलाई कसरी तलब भत्ता दिने अहिले सबैको चिन्ताको विषय बनेको छ ।

ग्यास र इन्धनको अभावसँगै होटल तथा रेष्टुराँ धमाधम बन्द हुन थालेका छन् । पर्यटकीय होटललाई अति संवेदनशील क्षेत्रका रुपमा राज्यले सम्बोधन गर्नुपर्ने होटल सेभेन स्टार सौराहाका प्रबन्ध निर्देशक माधव दुवाडी बताउछन् । पर्यटकलाई आतिथ्यता दिन नसके लामो समयसम्म यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा पर्ने भन्दै उहाँले सरकारले त्यस्ता होटललाई अत्यावश्यक सूचीमा राखेर प्राथमिकताका साथ इन्धन उपलब्ध गराउनुपर्ने माग गरे ।

नाकाबन्दीका कारण कच्चा पदार्थ नआउँदा ठप्प उद्योग अब कहिलेदेखि सञ्चालन हुने हो अन्योल छ । उद्योग सङ्घ, चितवनका महासचिव सूर्य न्यौपाने हेर्दा ठूलो जटिलता नदेखिए पनि यसको दीर्घकालीन प्रभाव सानो नहुने बताउछन् ।

ट्रेड बजारका कारण विदेशीको मुख ताक्नुपर्ने नेपाली बाध्यतालाई यस्ता नाकाबन्दीले निकै प्रभावित तुल्याएको उहाँको तर्क छ । औद्योगिक क्षेत्रमा लगानी गर्नेहरुलाई राज्यका तर्फबाट सहयोग मिल्नुपर्ने भन्दै उहाँले कर्मचारी मजदुरलाई दिने तलब भत्ता र बैंकका ऋण किस्ताका विषयमा सरकारका तर्फबाट सम्बोधन हुनुपर्ने बताए ।

नाकाबन्दीसँगै यहाँका छापाखानाहरु प्रभावित हुँदा नियमित रुपमा पत्रिका प्रकाशन हुनसमेत कठिनाइ देखिएको छ । जिल्लामा ६१ वटा छापाखाना सञ्चालनमा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment