Comments Add Comment

मितेरी पुलसम्म ट्र्याक खोलियो

१७ असोज, मेलम्ची । भूकम्प र त्यसपछिको अविरल वर्षाका कारण अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत मितेरी पुलसम्म ट्र्याक खोलिएको छ । लिपिङ बजारमा सडक मर्मत गर्ने कार्य भइरहेको छ । बल्लतल्ल चारपाङ्ग्रे हलुका गाडी पुग्ने उक्त बजारमा अझै सामान ओसारपसार गर्नका लागि प्रयोग गरिने ठूलाठूला मालबाहक ट्रक आवतजावत गर्न समय लाग्ने देखिन्छ ।

Tatopani (24)लामो समयदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा चिनियाँ प्रहरीले पनि सडक खुलाउन सहयोग गरेको छ । गत एकसाता अघिदेखि सडक डिभिजन कार्यालय चरिकोटले स्काभेटर, ब्रेकर र डोजर लगाएर बाटो खुलाएको सडक डिभिजन कार्यालय चरिकोटका नायब सुब्बा भगवान् थापाले बताए ।

उनकाअनुसार– बिहान ६ः३० बजेबाट साँझ ७ बजेसम्म सडक मर्मत गर्ने कार्य भइरहेको छ । अहिले साना चार पाङ्ग्रे गाडीबाहेक अन्य लोडगाडी चल्न सक्दैनन् । पेट्रोल र डिजेलको अभाव र विद्युत् सेवा नहुँदा स्काभेटर सञ्चालनमा ल्याउन निकै कठिनाइ परेको छ । वाइरिङ गर्नका लागि जेनेरेटर खोज्न जानुपर्ने अवस्था छ । अहिले चाइनासँग जोडिएको नाका मितेरी पुलसम्म बाटो मर्मत भइरहेको छ । लोड गाडी चल्न नसक्ने हुनाले त्यसको स्तरोन्नतिका लागि लेवल मिलाउने कार्य भइरहेको समेत उनले बताए ।

बाह्रबिसेदेखि तातोपानी सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा पहिरो गएकाले अझै लोड गाडी, कन्टेनर, भ्यान, ठूलाठूला मालबाहक गाडी सञ्चालन हुन केही समय लाग्ने देखिन्छ ।

यसै क्रममा तातोपानी गाविसका स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रममा जानुभएका सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ नेपाली काँग्रेसका सभासद् मोहनबहादुर बस्नेतले आफूले यस क्षेत्रमा विभिन्न सहयोग गर्दै आइरहेको, तातोपानीसम्म विद्युत् सेवा विस्तारका लागि ५०० वटा पोल ल्याइएको र चाँडोभन्दा चाँडो विद्युत् सेवा सञ्चालन गर्ने जानकारी दिए ।

उहाँले तातोपानी नाका जिल्ला र देशकै मुख्य नाका भएको हुनाले बाटो, बत्ती र खानेपानी सञ्चालनका लागि सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । चिनियाँ राजदूतसँग बोर्डर खुलाएर सामान पठाउन आग्रह गरेको उनले उल्लेख गरे ।

तातोपानी गाविस तथा तातोपानी नाका क्षेत्रमा ३–४ परिवार, नेपाली सुरक्षाकर्मी र चिनियाँ सुरक्षाकर्मीबाहेक अन्य सरकारी कर्मचारी तथा स्थानीयवासीको कुनै उपस्थिति छैन ।

लिपिङ बजार क्षेत्रमा ठूलाठूला ढुङ्गा अझै रहेको र त्यसलाई फुटाउने कार्य भइरहेको छ । पहिलाको भन्दा पहिरोले सडक धेरै माथि पु¥याएको छ । लोड तथा अन्य ट्रक सञ्चालनमा धेरै कठिनाइ हुने देखिन्छ ।

स्थानीय साङ्दोर्जे शेर्पा बताउँछन् – “नाका बन्द भएर केही पनि सामान नआउँदा यहाँ बस्नेको अस्तित्व नै छैन । न त पानी नै खान पाइन्छ न त खाद्यान्न नै । सरकारी भवन पनि पूर्णरुपमा ध्वस्त छन् अब कसरी बोर्डर खुलाएर सामान नेपाल भित्र्याउने हो” यसमा नेपाल सरकारको प्रमुख भूमिका हुने उनको जिकिर छ ।

तातोपानी बजारबाट केही किलोमिटर अगाडि पहिरोले पहिलेको पुल भत्काएको र त्यसलाई पूर्णरुपमा पुनःनिर्माण नगरे कुनै पनि ठूला तथा मालबाहक ट्रक सञ्चालनमा आउन नसक्ने अर्का स्थानीयवासी जाङ्बु शेर्पाले बताए ।

तातोपानीसम्म जिपबाहेक अन्य गाडी चल्न सक्ने अवस्था छैन, केही यात्रु आवतजावतका लागि अरनिको जिप सेवाबाट जाने गरेको केही स्थानीयवासीले बताए ।

पहिरोले पुरेको ट्रक, जिप, ट्याक्सी अझै पनि सडकखण्डका विभिन्न ठाउँमा देख्न सकिन्छ । स्थानीयवासीका अनुसार लिपिङबजारमाथिबाट आएको पहिरोले दर्जनौँ गाडी पुरेको र त्यसको नामनिशानासमेत नरहेको बताएका छन् । मालबाहक ट्रक, मोटरसाइकल तथा साना ठूला गाडी अझै पहिरोमा पुरिइरहेका छन् ।

। चारपाङ्ग्रे गाडीबाहेक अन्य केही सवारी साधन तत्काल चल्ने सम्भावना नरहेको र छिटोभन्दा छिटो सडक पूर्णरुपमा सञ्चालन हुन सक्ने बनाउनका लागि सरकारले प्राथमिकताका साथ कार्य अघि बढाउनुपर्ने व्यापारी विष्णुबहादुर श्रेष्ठले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment